रुकुम पूर्वः दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले आम मतदाताका गुनासा सम्बोधन हुने गरी काम गर्ने बताएकी छन । निर्वाचनमा विजयी भएपछि बिहीबार बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले इमान र निष्ठाका साथ काम गर्ने बताएकी छिन ।

उनले भनिन, ‘आम जनसमुदाय र मतदाताका जुन गुनासा छन, ती गुनासा सम्बोधन गर्ने गरी इमानका साथ काम गर्छु । निष्ठाका साथ काम गर्छु । त्यसरी काम गर्दा पूरा गर्न सकिन्छ भन्ने लाग्छ । पूरा नहुने कुराहरु इमानका साथ जनताको बीचमा गएर भन्छु ।’

उनले आफ्नो जितलाई प्रतिगमन विरुद्धको एजेण्डा दंगाली जनताबाट अनुमोदन भएको रुपमा टिप्पणी समेत गरिन । यसबाट अत्यन्त खुसी लागेको उनले बताइन ।

शर्माले भनिन, ‘निर्वाचनको सुरुदेखि नै प्रतिगमनको विरुद्ध, लोकतन्त्र–गणतन्त्रको रक्षाका लागि भनेर र समग्र दाङको समृद्धिको लागि भनेर जुन एजेण्डा प्रस्तुत गरेका थियौं, त्यसलाई जनताले अनुमोदन गरेका छन । म अत्यन्त खुसी छु ।’