रुकुम पूर्वः नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले नेकपा एमाले महासचिव शंकर पोखरेललाई झिनो मत अन्तरले पराजित गरिन । दाङ क्षेत्र नम्बर २ बाट एमालेका महासचिव पोखरलाई माओवादीकी शर्माले १९६ मत अन्तरले पराजित गरिन ।

शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत मात्रै ल्याएका छन । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा चुनाव लड्न डराएपछि शर्माले पार्टीबाट उम्मेदवारी दिएकी थिइन ।

पहिलो संविधानसभा चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैमा नपरेकी शर्मा दोस्रो संविधानसभा चुनावमा समानुपातिक सांसद भएकी थिइन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा शर्मा सामान्य प्रशासन मन्त्री बनेकी थिइन । यस्तै २०७४ सालको चुनावमा प्रत्यक्ष चुनाव लड्न खोजेपनि क्षेत्रको समस्याका कारण समानुपातिक सांसद भएकी थिइन ।

शर्मा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काकी श्रीमती समेत हुन । खड्का पार्टीको पोलिटब्युरो सदस्य छन, भने शर्मा पार्टी स्थायी समिति सदस्य हुन ।

शर्मा र खड्का दुवै अनेरास्ववियूको क्रान्तिकारी राजनीतिबाट उदाएका नेता हुन । तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा दुवै जनाले नेपाली सेनाबाट कठोर यातना समेत पाएका थिए ।