रुकुम पुर्व: सिस्ने गाउँपालिकाले फेरि विद्यालय अनुगमन सुरु गरेको छ । दशै भन्दा केही दिन अघिसम्म गाउँपालिकाले विद्यालय अनुगमनलाई तीव्र पारेको थियो । दशै तिहार बिदाका कारण रोकिएको विद्यालय अनुगमन पुनः सुरु गरिएको हो ।

केही महिना रोकिएको अनुगमन बिहिवार देखि सुरु गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगल सिंह बुढाले जानकारी दिए । उनका अनुसार बिहिवार ४ नम्बर वडाको आधारभूत विद्यालय नयाँ ढाकामा अनुगमन गरिएको छ । उपाध्यक्ष गोपाल रेउले र बुढाले विद्यालयको अनुगमन गरेका हुन।

अनुगमनका क्रममा प्रअसंग गाउँपालिकाले गरेका शर्तहरु पुरा नभएको पाइएको बुढाले बताए । सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले प्रत्येक विद्यालयका प्रअसंग लिखित सम्झौता गरेको थियो ।

सम्झौता पत्रमा उल्लेख भएका आधा कुरा पनि कार्यान्वयन नभए आवश्यक कार्वाही गर्ने उक्त पत्रमा उल्लेख छ ।

एक महिना, तीन महिना, छ महिना र एक वर्षमा विद्यालयले सम्पन्न गर्ने कामहरुको बारेमा करार सम्झौता गरिएको थियो ।

तर सम्झौता अनुसार काम नभएको अनुगमनका क्रममा पाइएको उनले बताए । बिशेष गरि प्रधानाध्यापक र वि.ब्य.स. को लापरबाही देखियो । बुढाले भन्ने अन्य शिक्षक पनि त्यसमा पर्नुहुन्छ ।

अनुगमनका क्रममा विद्यालयमा प्रायः शिक्षक, विद्यार्थी अनुपस्थित हुने गरेको, शिक्षक अभिभावक संघ, विद्यालय ब्यवस्थापन समितीको बैठक नबसेको भेटिएको उपाध्यक्ष गोपाल रेउलेले बताए ।

शिक्षकहरुको बिचमा पनि बैठक नबसेको, दिवा खाजा कार्यक्रम र पढाईमा प्रभावकारीता नदेखिएको, छात्रवृत्ति वितरण नभएको उनले बताएका छन ।

खानेपानी, शौचालय, शैक्षिक र खेलकुद सामग्री नभएको पनि अनुगमनमा भेटियो । उपाध्यक्ष रेउलेले थपे विद्यालयको शैक्षिक गुणस्तर निकै खस्किएको रहेछ ।

विव्यस अध्यक्ष र प्रधानाध्यापक सहित अन्य शिक्षकलाई तत्काल सबै कुरा सुधार गर्न अनुरोध गरेका छौ । यस विद्यालयमा हाम्रो यो पहिलो अनुगमन हो ।

अर्कोपटक पनि यस्तै पाइए कार्वाही प्रक्रिया अघि बढाउछौ । बालबालिकाको भबिस्य बिगार्ने छुट कसैलाई छैन । उनले भने गुणस्तरमा ध्यान दिन भनेका छौ ।

विद्यालय व्यवस्थापन समिती, अभिभावक र प्रधानाध्यापक बिच आवश्यक समन्वय नहुदा विद्यालयमा समस्याका छिद्रहरु देखिएको शिक्षक मदन कुमार आचार्यले बताए ।

विव्यस अध्यक्ष लक्षिराम घर्ती र प्रधानाध्यापक बलबहादुर खड्काले अनुगमनका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।

घर्ती र खड्काले जनप्रतिनिधि र शिक्षा प्रमुखको सल्लाह सुझाव अनुसार विद्यालयलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन ।

यस विद्यालयमा शिशु देखि ८ कक्षासम्म पढाइ भइरहेको छ । अनुगमनका दिन विद्यालयमा पाँच शिक्षक र ३९ विद्यार्थी मात्र विद्यालयमा उपस्थित भएका थिए ।

विद्यालयको तथ्यांक अनुसार यहाँ तीन स्थायी, एक राहत दरबन्दी छ । यस्तै गापा अनुदान १, दुई निजि, एक बाल बिकास सहजकर्ता र एक कार्यालय सहयोगी गरि ८ शिक्षक, एक कार्यालय सहयोगी र २३४ विद्यार्थी छन ।

तर अनुगमनका क्रममा तीन शिक्षक र १९५ विद्यार्थी अनुपस्थित भेटिए । सबै विद्यार्थीलाई नियमित बनाउन अनुगमन टोलिले निर्देशन दिएको छ ।

गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको यर्थात समस्या पहिचान गरि समाधान गर्न अनुगमनको पाटो अपनाइएको हो ।

अनुगमनले सामुदायिक विद्यालयको समग्र पक्षलाई सुधार गर्ने गाउँपालिकाले आस गरेको छ ।