रुकुम (पूर्व) का सवारी चालकसँग सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा लुम्बिनी प्रदेश श्रम तथा यातायात व्यवस्था मन्त्रालय वुटवलले सवारी चालक सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो । “व्यवसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन” भन्ने नाराका साथ मंसिर १६ गते यस जिल्लाको सिस्ने गाउँपालिका ६ छिप्रीदहमा कार्यक्रम सञ्चालन गरिएको हो ।
सुरक्षीत जनमैत्री र यात्रुमैत्री सवारी सञ्चालन गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको लुम्बिनी प्रदेश श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिपकराज नेपालले बताउनुभयो । सुरक्षीत यात्रा अर्थात दुर्घटना र यसबाट हुने क्षती न्यूनीकरण गर्ने यो कार्यक्रमको मुख्य उदेश्य रहेको उहाको भनाई छ । अहिले यातायातको क्षेत्रमा देखिएका समस्या पहिचान गरि ती समस्यालाई तीन तहको सरकारबाट कसरी संबोधन गर्न सकिन्छ भन्ने कुरामा छलफल गरि आवश्यकताअनुसार कानुन परिमार्जन गर्नको लागि पनि सुझाव संकलनको रुपमा यस कार्यक्रमलाई लिइएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै सचिव नेपालले यात्रुको जिन्दगी सवारी चालककोे हातमा हुने भएकाले ट्राफिक नियमको पालना गरेर सवारी चलाउन पनि उहाँले चाालकहरुलाई आग्रह गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले सडक विस्तारसँगै दुर्घटना पनि बढ्दै गएको बताउनुभएको छ । चालकले क्षमता भन्दा बढी यात्रु बोक्ने, बिना लाइसेन्स सवारी चलाउने, गाडीको सिटमा सवारी कोटाको सहि सदुपयोग नहुने लगाएतका समस्याहरु रहेको भन्दै यसतर्फ यातायात व्यवसायी र सवारी चालकहरुले ध्यान दिनुपर्ने बताउनुभयो । ट्राफिक नियमको पालना गरि सवारी चलाए दुर्घटनाको जोखिम कम हुने भन्दै प्रमुख जिल्ला अधिकारी सुनुवारले सवारी चालकलाई संवेदनशिल बनेर सवारी हाक्न आग्रह गर्नुभएको छ ।
यस्तै जिल्ला समन्वय समिति उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले ट्राफिक प्रहरीले निगरानी गर्ने ठाउँमा सवारी चालकले ट्राफिक नियम पालना गरिरहेको बताउदै निगरानी नहुने ठाउँमा पनि आफैले जानेर ट्राफिक नियममा रहेर सवारी हाक्नुपर्ने बताउनुभयो । कार्यक्रममा उपस्थित भएका यातायात व्यवसायी र सवारी चालकहरुलाई ट्राफिक नियम, दुर्घटनाका कारण, न्यूनिकरणमा ध्यान दिनुपर्ने कुरा, नियम, कानुनको बारेमा जानकारी गराइएको छ ।
लुम्बिनी प्रदेश श्रम तथा यातायात व्यवस्ता मन्त्रालयका सचीव दिपकराज नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको प्रमुख र जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, नेपाली सेनाका गुल्मपती बाबुलाल जिसि, जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी, सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल, मन्त्रालयका अधिकृत राजिव अर्याल लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्लास्थित साना ठुला सवारी चालक, यातायात व्यवसायीहरुको उपस्थिति थियो । मन्त्रालयका अर्थ प्रशासन शाखा प्रमुख कृष्ण पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन मन्त्रालयका श्रम प्रशासन तथा योजना शाखा प्रमुख टुपराज पाण्डेले गर्नुभएको थियो ।