रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा ल्याव सेवाको उद्धघाटन गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्बर १० स्थित तकसेरा स्वास्थ्यचौकीमा आज ल्याव सेवाको उद्धघाटन भएको हो । गाउँपालिकामै पहिलो पटक यो सेवाको सुभारम्भ गरिएको हो ।

गाउँपालिकामा ल्याब सेवा नहुँदा यस अघि यस क्षेत्रमा मानिसहरु गर्व चेकजाँच देखि लिएर दिशा, पिसाव, खकार जाँच गर्न रुकुमकोट, रुकुम(पश्चिम) सँगै दाङ नेपालगञ्ज झर्दै आएका थिए । आफ्नै गाउँपालिकामा ल्याब सेवाको सुभारम्भ भएपछि त्यहाँका नागरिकहरु खुसी भएका छन् । ल्याब सेवाको लागि गाउँपालिकाले एक जना ल्याब प्राविधिकको व्यवस्था गरेको छ भने आवश्यक सामाग्रीको व्यवस्थापन ग्रामिण स्वास्थ्य सुधार परियोजना फेयर मेडको सहयोगमा सर्वाङ्गिन विकास केन्द्र (एच.डि.सी.) ले गरेको छ ।

ल्याब सेवाको उद्धघाटनसँगसँगै सुत्केरी कुरुवा घरको पनि उद्धघाटन गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका र सर्वाङ्गिन विकास केन्द्रको तिन तिन लाख र ६२ हजार बराबरको जनश्रमदानमा निर्माण गरिएको दुई कोठे सुत्केरी कुरुवा घरको उद्ध्घाटन गरिएको हो । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलाहरुको कुरुवाहरुलाई बस्न सजिलो होस भन्ने उदेश्यका साथ सुत्केरी कुरुवा घरको निर्माण गरिएको हो । एउटा कोठामा खाना पकाएर खाने र एउटा कोठामा सत्ने व्यवस्था गरिएको छ । यसमा कुरुवा आफैले खाने कुरा घरबाटै ल्याएर आउनुपर्ने छ भने पकाउने भाडा वर्तन, ग्यास देखि लिएर सुत्नको लागि लत्ता कपडाको व्यवस्था सर्वाङ्गिन विकास केन्द्रले गरेको केन्द्रका कार्यकारी निर्देशक लिलामणी गौतमले जानकारी दिनुभएको छ ।

फेयर मेडको सहयोगमा सर्वाङ्गिन विकास केन्द्रले स्वास्थ्य चौकीमै रहेको बर्थिङ्ग सेन्टरमा आवश्यक पर्ने सुत्केरी बेड सहित विभिन्न ६२ आईटमका सामाग्रीहरु पनि हस्तान्तरण गरेको छ । सुत्केरी हुनका लागि बर्थिङ्ग सेन्टर स्थापना भएता पनि आवश्यक सामाग्री नहुदा हुने समस्यालाई मध्यनजर गर्दै सामाग्रीहरु हस्तान्तरण गरिएको एचडिसीका कार्यकारी निर्देशनक गौतमले बताउनुभयो ।