संघीयताले जन्माएको कान्छो जिल्ला रुकुम पूर्व । ७७ जिल्ला मध्ये सबैभन्दा कम स्थानीय तहहरु, ३ वटा मात्र गाउँपालिका भएको जिल्ला । राष्ट्रिय जनगणना २०७८अनुसार जिल्लाको कुल जनसंख्या ५७५४०, जस मध्ये महिलाको संख्या २९५२० र पुरुषको संख्या २८०२० रहेको तथ्याङ्क। ३ वटा गाउँपालिका मध्ये सिस्ने गाउँपालिका सदरमुकामको पालिका जसमा ८ वटा वडाहरु रहेका छन जुन साविकका ५ गा.वि.स.हरु हुन् ।
सिस्ने गाउँपालिका सदरमुकामकै पालिका भएता पनि वडा नं. १ र २ मा हालसम्म पनि सडक संञ्जालले छुन सकेको छैन भने सडक संञ्जालले छोएका अन्य वडाहरुमा समेत यातायातका साधनहरु नियमित नहुँदा जनजिवन कष्टकर छ । जिल्लामा एउटा १५ शैय्याको जिल्ला अस्पताल रहेको छ भने १५ वटा स्वास्थ्य चौकि र १ वटा प्राथामिक स्वास्थ्य केन्द्रवाट स्वास्थ्य सेवाका आधारधुत सेवाहरु संञ्चालन भैरहेका छन । सामान्य विरामि पर्दा पनि दुर्गम ठाउँहरुवाट डोको तथा स्ट्रेचरमा बिरामि वोकेर जिल्ला सदरमुकाम रुकुमकोट तथा अन्य सुविधा सम्पन्न जिल्लाहरु दाङ्ग, नेपालगञ्ज, बुटवल र काठमाण्डौ लगाएत अन्य स्थानमा पुग्नुपर्ने बाध्यता कायमै छ ।
पन्ध्रस्वास्थ्य चौकि मध्येको एक हो सिस्ने स्वास्थ्य चौकि भट्टेचौर सिस्ने, वडा नं.१।जिल्ला सदरमुकाम रुकुमकोट बाट ४५ मिनेटको गाडिको यात्रामा भुमे गाउँपालिकाको वडा नं ५ बालुवाहुँदै पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. १३ देउखोलासम्मको यात्रा तय गरे पश्चात सुरु हुन्छ सिस्ने पुग्ने पैदल यात्रा । पहिलो दिनमा मुस्किलले सिस्ने वडा नं. २ को सुर्दि भन्ने ठाउँसम्म पुगेर बास बसेपछि दोस्रो दिन बिहानैदेखी पैदल यात्रा गरेपछि मुस्किलले बेलुका पुगिन्छ वास्तविक सिस्ने । भङ्ग, भट्टेचौर, ओख्रेना, पाखापानि, ठुलो सिस्ने गाँउ र लामपाखा आदि यहाँका मुख्य बस्तिहरु हुन् । सिस्ने हिमालको फेदैमा रहेका यहाँका वस्तिहरुमा बाह्रै महिना चिसो हुने गर्दछ ।
अनि बाटो । सिस्ने पुग्नलाई बाटोको यात्रा सहज छैन। निकै कठिन भिरालो चट्टाने पहाडमा खोपेर बनाईएको बाटो अनि पहरामा हिँड्दा अड्याउन तलतिर काठको बार लगाईएको अवस्था छ ।माथिल्लोभागमा समेत हिँड्दा समाउनको लागी काठका किलाहरु गाडिएको छ ।यहि बाटोमा लडेर वर्षेनि कयौँ मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको छ।सिस्नेमा सामान ढुवानिको मुख्य साधन घोडा, खच्चर र भरियाहरु हुन । घोडा खच्चर र भरियाहरु पनि लडेर ज्यान गुमाएका कयौँघटनाहरु छन।
हामी पुगेकै समय २०७९/०८/१२ गते पनि जंगलमा बाख्रा चराउन गएकी ओख्रेना गाउँकी ३६ वर्षीय उजेलि बुढा लडेर टाउकोमा गम्भिर चोट लाग्दा स्टेचरमा बोकेर एक रात र एक दिन लगातार हिडाएर रुकुमकोट पुग्नुपरेको थियो। त्यस घटनाको प्रत्यक्ष साक्षि भएको यो मन अहिले पनि त्यहाँको वास्तविकता देख्दा बेचैन हुन्छ ।
सिस्ने स्वास्थ्य चौकि जहाँ रातको समयमा आगो बालेर सुत्केरी गराउनु पर्छ ।
अहिलेको एक्काईसौँ शताब्दिमा पनि वर्थिङ्ग सेन्टरमा रातको समय गर्भवति महिलाहरु सुत्केरी गराउन स्वास्थ्य चौकिमा आउदा दाउरा बालेर गर्भवतिको चेक जाच र सुत्केरी गराउनु पर्छ भन्दा विश्वास नलाग्न सक्छ । म आफैँ पनि सिस्ने स्वास्थ्य चौकि नपुग्दा सम्म यस्तो दुरावस्थाको परिकल्पना समेत गरेको िथएन । हुनत सिस्ने स्वास्थ्य चौकिको नर्सिङ्ग कर्मचारी राधिका के.सी.ले RHIP परियोजना अन्तर्गत रुकुमकोटमा MNH Clinical Update को तालिम लिन आउँदा सिस्नेका गर्भवति महिलाहरुले भोग्नु परेका समस्या र न्युनतम सेवा सुविधाको अभावमा वर्थिङ्ग सेन्टरमा उच्च जोखिम मोलेर सुत्केरी गराउँदाको पिडा राख्दा उहाँका आँखावाट आसु बगिरहेको प्रष्ट देख्न सकिन्थ्यो।
सिस्ने स्वास्थ्य चौकिमा रहेको वर्थिङ्ग सेन्टर जिल्लाकै बढि सुत्केरी हुने वर्थिङ्ग सेन्टर पनि हो । २०७७ साल मंसिर २३ गते उद्घाटन भएको यस वर्थिङ्ग सेन्टरमा २०८८ सालको असार मसान्त सम्ममा ३६ जना वर्थिङ्ग सेन्टरमा र २५ जना घरमै सुत्केरी भएका थिए । त्यसै गरि २०८८ को श्रावण देखि २०७९ को असार मसान्त सम्म ५६ जना वर्थिङ्ग सेन्टरमा र १० जना घरमै सुत्केरी भएका र हाल २०७९ श्रावण देखि मंसिर २०७९ मसिंर १२ गते सम्म २१ जना वर्थिङ्ग सेन्टरमा तथा ५ जना घरमै सुत्केरी भएको स्वास्थ्य चौकि सिस्नेका ईञ्चार्ज काशिराम ओलीले बताउनु भयो । आर्थिक वर्ष २०७६/७७ मा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रममा म आफैँ कार्यक्रम संयोजक रहदा निर्माण गरिएको २ कोठे सानो कच्चि ढुङ्गा/माटोबाट बनेको भवनमा वर्थिङ्ग सेन्टर संञ्चालन गरिएको रहेछ । वर्थिङ्ग सेन्टरमा हुनु पर्ने न्युनतम आधारधुत आवश्यकता र पर्याप्त भौतिक संरचना नहुँदा वर्थिङ्ग सेन्टर, वर्थिङ्ग सेन्टर जस्तो हुन सकेको छैन ।
दुई वटा कोठा रहेको वर्थिङ्ग सेन्टर भवनमा भित्र/बाहिर प्लास्टर समेत गरिएको छैन ।भुई पुरै धुलाम्य रहेको र माथी जस्ता मात्र रहेको हुँदा चिसो ठाउँमा हिमपात भैरहने र जस्ताबाट पानी चुहिने समस्या अझ टड्कारो रहेको छ । यहाँको अर्को मुख्य समस्या भनेको विद्युत हो । सिस्ने १ हालसम्म पनि विद्युत प्रशारणसँग आबद्ध छैन,आपुर्ति हुन सकेको छैन । स्वास्थ्य चौकिमा सोलार जडान गरिएको र त्यहिँवाट वर्थिङ्ग सेन्टरमा लाईन तानिएको भएता पनि दिनमा २/३ घण्टा मात्र घाम लाग्ने र ब्याट्रि व्याकप कम भएको कारण राम्रोसँग चार्ज नहुने र रातको समयमा सँधै अन्धकार हुने गर्दछ । रातको समयमा सुत्केरी गराउनु पर्दाको भरपर्दो माध्यम भनेकै दाउराको आगो भएको र सुत्केरी र वच्चालाई न्यानो राख्नको लागी वेडमुनि आगो वालिदिने गरेको वर्थिङ्ग सेन्टरको नर्सिङ्ग कर्मचारी राधिका के.सी.ले बताउनु भयो।
साथै कोठा उज्यालो बनाउनको लागी समेत ठुला ठुला मुडाहरु बाल्ने गरेको पाईयो।२०७९/०८/१२ गते राति करिब ८ बजे म लगाएत रामचन्द्र के.सी., सामाजिक परिचालक सुनिता के.सी. र सिस्ने गाउँपालिका स्वास्थ्य शाखाका संयोजक पुष्पा ओली., सि.अ.न.मि धनमाया चन्द र कार्यालय सहयोगी जयकला रोका भर्खर पुगेर आराम गरिरहेका थियौँ । त्यसैबेला स्यालाखोला गाउँवाट स्वास्थ्य चौकि ईञ्चार्ज काशिराम ओलीको मोवाईलमा एक युवको फोन आयो। उनी भन्दै थिए आफ्नो २१ वर्षिय गर्भवति श्रीमति विष्णु बुढालाई व्याथाले च्यापेकोले तत्काल उपचार गर्नुपर्यो । लगत्तै ओली आफैँ स्ट्रेचर बोकेर नीजको घर भएको बस्तितिर हानिए भने राधिका के.सी. आगो बाल्ने दाउराको जोहो गर्दै अन्य तयारीमा जुटिन्।मलाई पनि त्यहाँको वास्तविकता थाहा पाउनु थियो र उहाँहरु संगै आवश्यक सहयोगमा जुटेँ। रातिको करिव १० बजे तिर काशिराम लगाएत अन्य गाउँकै ४/६ जना युवाहरुले स्ट्रेचरमा वाकेर विष्णुलाई वर्थिङ्ग सेन्टरमा ल्याउनुभयो।यता राधिका आफ्नो सबै तयारी सहित आगो बालेर पर्खीरहनु भएको थियो ।
करिव २ घण्टा पछिवर्थिङ्ग सेन्टरमा विष्णुले २.५ के.जि.को छोराको जन्म दिनुभयो । रातको समय बत्ति थिएन। कोठामा आवश्यक उज्यालो र आमा बच्चालाई न्यानो राख्नको लागी आगोकै भर थियो । अन्धकारमा यसरि आमा र बच्चाको ज्यानलाई जोखिममा राखेर सुत्केरी गराउँदा सुरु सुरुमा आफुलाई निकै डर लागेता पनि आजभोलि अरु बिकल्प नभएका कारण विस्तारै बानि पर्दै गएको राधिकाको भनाई छ । वर्थिङ्ग सेन्टरमा राधिका एक जना मात्र कर्मचारी हुनु हुन्छ । उहाँ बिरामि पर्दा र बिदा लिँदा ईञ्चार्ज काशिराम आफैँले सुत्केरी गराउँने गरेको उहाँको भनाई छ। सुत्केरी कुरुवा र आफन्तलाई ओलि र राधिका आफैँले आफ्नै खर्चमा खान र बास बस्ने व्यवस्था समेत मिलाईरहनु भएको रहेछ जसको कारण उहाँहरु दुई जनालाई स्थानीयले भगवानै पाएको पूर्व गा.वि.स. अध्यक्ष नन्द बहादुर बुढाले बताउनु भयो ।
ग्रामिण स्वास्थ्य सुधार परियोजना स्केल अप को सहयोग
हाल रुकुम पूर्व जिल्लामा सन् २०२२ फेब्रुवरीदेखि फेयरमेड फाउण्डेशनको सहयोगमा सर्वाङ्गिण विकास केन्द्र(Holistic Development Center)ले जिल्ला समन्वय समिति, स्वास्थ्य कार्यालय, भुमे, पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकासंगको सहकार्य र समन्वयमा ग्रामिण स्वास्थ्य सुधार परियोजना स्केल अप संञ्चालन गरि रहेको छ । यस परियोजनाले रुकुम पूर्वमा मातृशिशु स्वास्थ्यको क्षेत्र सुधारका साथै उपेक्षित उष्णप्रदेशिय रोग, अपाङ्गता तथा सिमान्तकृत समुदायको स्वास्थ्य पहुँच बढाउने कार्यमा स्थानिय तहका सरकारहरुसंग समन्वय र सहकार्य गर्दै समुदायलाई शिक्षित, जागरुक र सामाजिक परिचालन मार्फत स्वास्थ्य सेवा उपभोग र प्रवर्धन गर्नमा नेपाल सरकारको प्रयासलाई टेवा पुर्याई रहेको छ ।
जस अन्तर्गत सिस्ने गाउँपालिकामा रहेको परियोजना सल्लाहकार समितिको निर्णय र सिस्ने स्वास्थ्य चौकिको आवश्यकता अनुसार बच्चा न्यानो राख्नको लागी बेबि वार्मर मेशिन, वर्थिङ्ग सेन्टरको लागी आवश्यक एक सेट सम्पुर्ण सामाग्री तथा उपकरणहरु र सुत्केरीका कुरुवाहरुको लागी सुत्केरी कुरुवा भान्सा घर समेत संञ्चालनमा ल्याउने गरी सबै सामाग्रीहरु स्वास्थ्य चौकिमा पुगिसकेका छन्। भवन र कोठाहरुको मर्मत संम्भार पश्चात तत्काल १/२ हप्तामै त्यसको पूर्ण संञ्चालन गर्ने गरि काम भैरहेको छ । गर्भवति महिलाहरुलाई चेक जाँचको लागी वडा नं. १ र २ लाई मध्यनजर गरी ग्रामिण भिडियो एक्सरे मेसिन समेत उपलव्ध गराई मंसिर १२ गतेबाट सेवा संञ्चालनमा ल्याईएको छ । शुरुकै दिन सिस्ने १ की ३४ जना गर्भवति महिलाहरुले भिडियो एक्सरे सेवा लिईसकेका छन्। पहिलो पटक आफ्नै स्वास्थ्य चौकिमा भिडियो एक्सरे गर्न पाउँदा यहि कामको लागी २ दिन हिँडेर सदरमुकाम जानु पर्ने बाध्यताको अन्त्य भएको सिस्ने १ कि ज्ञानमाया बुढाले बताउनु भयो ।
हुन त म पनि यहि रुकुमकै माटोमा जन्मे हुर्केको मान्छे तर आफ्नै पालिकाको अर्को वडाको दर्दनाक अवस्था देख्दा यस क्षेत्रको लागी केहि गर्ने ईच्छा शक्ति पलाएको छ र अबको बाँकि समय यि र यस्तै दुर्गम भेगका जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागी सकेको प्रयत्न गर्ने छु।
लिलामणी गौतम
परियोजना संयोजक
ग्रामिण स्वास्थ्य सुधार परियोजना
सर्वाङ्गिण विकास केन्द्र (HDC NEPAL/FAIR MED)
गौतमले यो लेख सिस्ने पुगेर फर्केपछि लेख्नुभएको हो ।