रुकुम(पूर्व) मा नागरिकहरुको लागि एकीकृत घुम्ति शिविर सञ्चालन गरिएको छ । नागरिकलाई घर आगनबाटै सेवा दिने उदेश्यले जिल्लाको भूमे गाउँपालिकाले एकीकृत घुम्ति शिविरको आरम्भ गरेको हो । गाउँपालिकाले औपचारिक रुपमा यहि मंसिर २२ गते गाउँपालिकाको १ नम्बर वडा लुकुमबाट सेवाको सुरुवात गरेकोे छ । यो घुम्ति शिविर पौष ३ गतेसम्म क्रमिक रुपमा गाउँपालिका भित्रका ९ वटै वडामा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

घुम्ति शिविरमार्फत नसर्ने रोग तथा अन्य रोग निदानसम्बन्धि चेकजाँच एवं औषधी वितरण, अपाङ्गता परिचय पत्र तथा ज्येष्ठ नागरिक परिचय पत्र वितरण, व्यक्तिगत घटना दर्ता तथा समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई परिचय पत्र वितरण गर्ने कार्य गरेको गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार शिविरमार्फत उपभोक्ता समिति÷टोल विकास समिति÷समुह÷व्यवसाय÷फर्म दर्ता तथा नविकरण । योजना सम्झौता तथा अभिमुखिकरण, कृषि र पशु शाखाका सेवासँगै अन्य आवश्यक विभिन्न सेवाहरु प्रदान गरिने छ ।

“कतीपय वडाबाट गाउँपालिकासम्म पुग्न भौगोलिक जटिलताले पनि मानिसहरुलाई समस्या हुने गरेको छ” गाउँपालिका अध्यक्ष श्रेष्ठले भन्नुभयो, “विभिन्न ठाउँबाट पालिका केन्द्रसम्म आएर शिविरमार्फत दिइने यीनै सेवा लिन दूई तिन दिनको समय लाग्ने गरेको छ ।” समयको बचत र सिहं दरबारको सेवा घरआगनमै पुगेको महसुस नारिकलाई गराउन पालिकाले घुम्ति शिविर सञ्चालन गरेको उहाँको भनाई छ । अध्यक्ष श्रेष्ठले प्रत्येक वडामा सञ्चालन हुने शिविरबाट लाभ लिन पालिकाबासीलाई आग्रह गर्नुभएको छ ।

मंसिर २२ गते १ नम्बर वडाको लुकुमबाट सुरु भएको यो शिविर २ नम्बर वडामा आज २३ गते, ३ नम्बर वडामा २५ गते, ४ नम्बर वडामा २६ गते, ५ नम्बर वडामा २७ गते सञ्चालन गरिने गाउँपालिकाका प्रशासन इकाई प्रमुख चेतन बुढामगरले बताउनुभयो । उहाँकाअनुसार ६ नम्बर वडामा २८ गते, ७ नम्बर वडामा २९ गते, ८ नम्बर वडामा पौषको १ गते र ९ नम्बर वडामा पौषको २ र ३ गते घुम्ति शिविर सञ्चालन गरिने भएको छ ।

शिविको पहिलो दिन लुकुममा ९६ जनाले स्वास्थ्य सेवा लिएका छन् । ओपिडी सेवा ६१ जनाले लिएका छन् । ल्याब टेस्ट २६ जनाको गरिएको छ भने ११ जना गर्भवती महिलाको भिडियो एक्सरे गरिएको प्रशासन इकाई प्रमुख बुढाले बताउनुभयो । ११ जनाको पाठेघरको क्यान्सर जाँच पनि गरिएको छ । यस्तै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने एक सय ११ जना लाभग्राही र ज्येष्ठ नागरिक परिचयपत्र ४६ जनालाई वितरण गरिएको छ भने ३ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । ४ वटा उपभोक्ता समिति दर्ता हुँदा कृषितर्फ १३ र पशु सेवातर्फ ५० जनाले शिविरमार्फत सेवा लिएका छन् ।