रुकुम(पूर्व) मा ग्रामिन स्वास्थ्य सुधार परियोजनाको सार्वजनिक परिक्षण सम्पन्न भएको छ । फेयरमेड फाउन्डेसनको आर्थिक सहयोगमा सर्वाङ्गिन विकास केन्द्रद्धारा सञ्चालित परियोजनाको सार्वजनिक परिक्षण सम्पन्न भएको हो । सोमबार सिस्ने गाउँपालिका ६ छिप्रीदहस्थित होटेल मनज्ञा कन्ट्रि भिल्लामा एक कार्यक्रमको आयोजना गरि परियोजनामार्फत सन् २०२२ मा गरेका कामको सार्वजनिक परिक्षण गरेको हो ।

सन २०२२ बाटै रुकुम(पूर्व) मा सर्वाङ्गिन विकास केन्द्रले ग्रामिन स्वास्थ्य सुधार परियोजनामार्फत विभिन्न कामकाजहरु गरेको छ । सर्वाङ्गिन विकास केन्द्रका कार्यकारी निर्देशक लिलामणी गौतमले परियोजनामार्फत जिल्लामा सन् २०२२ को अवधिमा गरिएको कामकाजको प्रस्तुतीकरण गर्नुभएको थियो । परियोजना लागु भएपश्चात जिल्लाका तीन वटै पालिकासँगको समन्वयमा विभिन्न ठाउँमा ल्याब सेवाको सुरुवात, अल्ट्रा साउन्ड मेसिन हस्तान्त्रण, सुत्केरी कुरुवा भान्सा घर निर्माणसँगै त्यहाँ आवश्यक पर्ने सामाग्री उपलब्ध गराइएको संस्थाका कार्यकारी निर्देशक गौतमले जानकारी गराउनुभयो ।

यस्तै गाउँघर क्लिनिक निर्माणदेखि लिएर विपदमा परेकालाई राहत वितरण र स्वास्थ्यकर्मी तथा अस्पताल व्यवस्थापन समितिलाई विभिन्न प्रकारको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको कुरा उहाँले कार्यक्रममा जानकारी गराउनुभयो । परियोजना सञ्चालनको लागि भनेर सन् २०२२ को अवधिलाई एक करोड ३१ लाख ८८ हजार रकम आएको थियो । अहिले केहि रकम मात्र बाकी छ । डिसेम्बर सकिनै लाग्दा अन्तिम चरणमा केहि कार्यक्रम बाकी रहेको र ती कार्यक्रम सकिएसँगै शत प्रतिशत बजेट खर्च हुने उहाँको भनाई छ ।

परियोजनाले विशेष गरि उपेक्षित उष्ण प्रदेशिय रोग, मातृ तथा नवजात शिशु स्वास्थ्य र अपागंताको क्षेत्रमा काम गर्दै आएको छ । परियोजनाले प्रत्यक्ष रुपमा स्थानीय तह र स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीसँग जोडिएर काम गरिरहेको छ । संस्थाको कामबाट जनताले अप्रत्यक्ष रुपमा लाभ लिइरहेका छन् । संस्थाले गरेको सहयोगबाट सेवा प्रवाहमा धेरै सहजता आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । अझै पनि काम गर्ने क्रममा देखिएका समस्या समाधानको लागि ग्रामीण स्वास्थ्य सुधार परियोजना समक्ष विभिन्न माग गराखेका स्वास्थ्यकर्मीको प्रश्न तथा जिज्ञासालाई संबोधन गर्ने क्रममा सर्वाङ्गिन विकास केन्द्रका कार्यकारी निर्देशक गौतम, फेयर मेड बागलुङ, रुकुम(पूर्व) का टोली प्रमुख चन्द्र ज्ञवाली र फेयर मेडका अनुगमण अधिकृत सन्दिप घिमिरेले परियोेजनाको क्षेत्राधिकार भित्र रहेर मिल्ने जती समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको अध्यक्षतामा भएको सार्वजनिक परिक्षण कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, भुमे गाउँपालिका उपाध्यक्ष सबिना बुढा, निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य लगाएत जिल्लास्थित सरकारी निकायका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम(पूर्व) का उपाध्यक्ष सर्जना कार्कीले गर्नुभएको थियो ।