
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका ७ र ८ सँगै पुथा उत्तरगंगा गाउँपालिकाको ८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुने गरेको छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेर कामकाज पनि गरिदै आइएको छ । यस सिजनमा सुन्तला प्रशस्त मात्रामा पाइने गरेको भएपनि बजार नहुँदा किसानहरु समस्यामा पर्ने गरेका छन् । जिल्लामा कृषि उपज संकलन तथा भण्डारणको लागि सित भण्डारको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको सुन्तला, स्याउ लगाएतका फलफूलहरु कुहिएर खेर जाने गरेका छ ।
यतीबेला सिस्ने ७ र ८ सँगै पुथा उत्तरगंगा गाउँपालिका ८ का किसानको बारीमा लटरम्म सुन्तला देखिन्छन् । ती सुन्तला टिपेर राख्न शित भण्डार छैन् । यत्तिकै राख्दा कुहिने डर र बजारमा पनि बिक्र नहुँदा रुखमै छन् । मेहनत गरेर लगाएको सुन्तलाको बोटमा लोभलाग्दो तरिकाले दाना लाग्दा पनि खपत हुने बजार नपाउदा विगतदेखि नै यहाँका किसानहरु मर्कामा छन् ।
लुम्बिनी प्रदेशको एक मात्र अर्गानीक जिल्ला घोषणा भएको रुकुम(पूर्व) मा उत्पादित सुन्तलालाई खेर जान नदिनको लागि स्थानीयस्तरमै जुस बनाउन थालिएको छ । बाहिरबाट प्रशिक्षक ल्याएर सुन्तला उत्पादन गरिरहेका किसानलाई जुस बनाउने तालिम प्रदान गरेपछि किसानहरुले खेर जाने सुन्तलाबाट जुस उत्पादन गरिरहेका छन् । किसानले उत्पादन गरेको सुन्तलालाई खेर जान नदिने उदेश्यका साथ एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) ले किसानलाई जुस बनाउने तालिम प्रदान गरेको थियो । कार्यालयले किसानलाई तीन दनिसम्म जुस बनाउने तालिम प्रदान गरेको थियो ।
तालिमका प्रशिक्षक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विरेन्द्रनगर सुर्खेतका वरिष्ठ खाद्य संक्षण अधिकृत भेषबहादुर थापाले तीन प्रकारको जुस बनाउन सिकाइएको बताउनुभएको छ । उहाँका अनुसार किसानलाई नेक्टर जुस बनाउन सिकाइएको छ । यसमा केमिकल केहि नमिसाएको र शुद्ध भएकाले धेरै राख्न नमिल्ने भन्दै जुस तयार पारेको एक दिनभित्रै प्रयोग गरिसक्नुपर्ने बताउनुभयो । यस्तै अर्को स्क्वास जुस बनाउन सिकाइएको छ । यो जुस एक लिटरमा तीन लिटर पानी मिसाएर खान सकिने वरिष्ठ खाद्य संक्षण अधिकृत थापाले बताउनुभयो ।
यस्तै अर्को सामान्य जुस बनाउन सिकाइएको छ । यसमा चिनी, पानी, खाद्य रङ, वाषणा, के. एम. एस., साइट्रिक एसिड प्रयोग गरिएको उहाँको भनाई छ । “तालिम अवधिभरमा किसानलाई तीन प्रकारको जुस बनाउन सिकाइएको छ”, उहाँले भन्नुभयो, “स्क्वास र जुसलाई ९ महिनाको लेबलीङ गरिएको छ । जुसको २५ रुपैयाँ बोतल र स्क्वासको एक सय ८० रुपैयाँ बोतल मुल्य पनि निर्धारण गरिएको छ ।” यो तालिमले सुन्तलाको जुस निर्माणमा किसानको उत्साह देखिए पनि भौगोलिक विकटता र आवश्यक स्रोतसाधनको अभावले चुनौती भने रहेको उहाँको भनाई छ ।
सुन्तलाको जुस बनाउने तालिम प्राप्तपछि त्यहाँका किसानहरु खुसी भएका छन् । तालिम पाएपछि सुन्तला किसान गनेश रावलले ठुला दाना बजारमा लगेर बिक्रि गर्ने र सानो खालको दानाको जुस तयार पारेर बजारमा बिक्रि गर्ने बताउनुभयो । यसअघि मसिनो दाना र बजारमा बिक्रि नभएको सुन्तला चाम्रीएर, कुहिएर खेर जाने गरेको बताउदै अबको दिनमा हातमा सिप भएकाले खेर जाने सुन्तलाको जुस बनाई त्यसबाट आम्दानी गर्न सकिने उहाले बताउनुभयो । यस्तै अर्का किसान रेखा गिरीले स्थानीय स्तरमा उत्पादन गरेको जुस निकै राम्रो रहेको र यसको माग पनि धेरै रहेको बताउनुभयो । तालिमै क्रममा तयार पारेको जुस गाउँघरमा धेरै गएको उहाँको भनाई छ । अब भने गाउँघरमा खेर जाने सुन्तला संकलन गरेर जुस बनाई आम्दानी बढाउन सकिने उहाँको भनाई छ ।
जिल्लामा शित भण्डार, संकलन केन्द्र नहुँदा किसानले उत्पादन गरेको सुन्तला खेर गइरहेको अवस्थामा यो जुस उत्पादन तालिम निकै प्रभावकारी हुने एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो । किसानको मागको आधारमा किसानलाई जुस बनाउने तालिम प्रदान गरेको बताउदै प्रमुख बस्नेतले यो सिपलाई भरपुर रुपमा प्रयोग गर्न किसानलाई आग्रह गर्नुभएको छ । रुकुम(पूर्व) को एक सय ५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले ८२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले फल दिइरहेको छ । यस वर्ष जिल्लाभर ९ सय ७५ मेट्रिक्टन सुुन्तला उत्पादन भएको कार्यालयले बताएको छ ।