रुकुम(पूर्व) मा स्थानीय सरकारले लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको सिस्ने गाउँपालिकाले आज एक सुचना जारी गर्दै निशुल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।
रुकुम(पूर्व) जस्तो दुर्गम क्षेत्रबाट सरकारी जागीरमा प्रवेश गराउने उदेश्यका साथ गाउँपालिकाले लोक सेवा आयोगको लागि पूर्व तयारी कक्षा सञ्चालन गर्न लागेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷८० को वार्षिक स्विकृत कार्यक्रमअनुसार लक्षित समुदायका लागि गाउँपालिकास्तरीय लोक सेवा आयोग पूर्व तयारी कक्षा सञ्चालन गर्न लागेकोले गाउँपालिका भित्र स्थाइ बसोबास गरिरहेका इच्छुक नागरिकलाई अध्यक्ष रेग्मिले लोक सेवा आयोगको पूर्व तयारी कक्षामा सहभागिता जनाउन आग्रह गर्नुभएको छ ।
निशुल्क लोक सेवा पूर्व तयारी कक्षामा सहभागी हुन यसै गाउँपालिकाको स्थायीबासी हुनुपर्ने छ । १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र कम्तिमा एस.एल.सी÷एस.ई.ई. उत्तिर्ण गरेको हुनुपर्ने सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले जानकारी दिनुभयो । उहाँकाअनुसार इच्छुक व्यक्तिले आवश्यक कागजात पुर्याएर गाउँपालिकामा निवेदन दिनुपर्ने छ ।
व्यक्तिगत निवेदनसहित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी गाउँपालिकामा पेश गरेपछि कक्षामा सहभागी हुन पाउने प्रमुख प्रशासकिय अधिकृत शाहले बताउनुभयो । लोक सेवा तयारी गर्दै गरेका र पढ्न चाहनेको लागि यो एउटा सुनौलो अवसर भएकाले इच्छुक सबैलाई आवश्यक प्रक्रिया पुर्याएक कक्षामा सहभागी हुन गाउँपालिकाले अनुरोध गरेको छ ।
रुकुम(पूर्व) मै लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन हुने गरेका छैनन् । यहाँका मानिसहरु लोक सेवा आयोगको तयारी कक्षा लिनको लागी दाङ, सुर्खेत, काठमाडौं लगाएतका ठाउँमा जाने गरेका छन् ।