रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका–१० तक र भूमे गाउँपालिका–२ खाबाङ बगरमा सस्तो पसल सञ्चालनमा ल्याइएको छ । जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा यी दुई ठाउँमा सस्तो पसल स्थापना गरिएको हो । तक र खाबाङ बगरमा सस्तो पसल स्थापना भएपछि आइतबार एकै साथ उद्घाटन गरिएको थियो । सोमबार आजदेखि यी दुई ठाउँबाट स्थानीय उपभोक्ताले सहुलियत मूल्यमा खाद्यान्न सामग्री खरिद गर्न सुरु गरेका उछन् ।

प्रदेश सरकारको कार्यविधि अनुसार जिल्लामा पहिलो पटक चार ठाउँमा सस्तो पसल सञ्चालन गरिने भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मधुकर डाँगीले बताउनुभयो । तक र खाबाङ बगरसँगै सिस्ने गाउँपालिका–२ नायगाड र वडा नम्बर ६ छिप्रिदहमा सस्तो पसल सञ्चालन गरिने डाँगीले जानकारी दिनुभयो । नायगाड र छिप्रिदहमा पनि अब छिट्टै उद्घाटन गरी सञ्चालनमा ल्याइने तयारी गरिएको प्रमुख डाँगीको भनाइ छ ।

सस्तो पसल सञ्चालनका लागि स्थानीय व्यापारीको प्रतिस्पर्धा मार्फत छनौट गरिएको छ । उक्त पसल सञ्चालनका लागि आवश्यक मापदण्ड अनुसार छनौट गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । तकमा प्रतिक्षा इन्टरप्राइजेज, खाबाङ बगरमा मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, छिप्रिदहमा सिजन सप्लायर्स र नायगाडमा पारस सप्लायर्स सस्तो पसल सञ्चालनको लागि छनौटमा परेका छन् ।

सस्तो पसल सञ्चालन छनौटका लागि यस अघि पसल व्यवसायले त्यस क्षेत्रमा सबै भन्दा सस्तो मूल्यमा उपभोक्तालाई बिक्री गरिराखेको पसल तथा व्यवसायलाई छनौट गरिएको छ । सस्तो पसल सञ्चालन गर्न जिम्मा पाएका व्यवसायीले अब सस्तो पसल सञ्चालन कार्यविधिले तोकेको मापदण्ड अनुसार छूट दिइ बिक्री गर्नु पर्ने छ । जसमा बजारमा पाइने गरेको चामलको मूल्य भन्दा सस्तो पसलबाट प्रति किलोमा १० रुपैयाँ छूट पाउने घरेलु तथा साना उद्योग कार्यालयका नायब सुब्बा सागर लामिछानेले बताउनुभयो । यसैगरी नुनमा प्रति किलोमा ५ रुपैयाँ, तेलमा प्रति लिटर २० रुपैयाँ, दाल तथा गेडागुडीमा प्रति किलो २० रुपैयाँ, गहुँ र पिठोमा प्रति किलो २० र चिनी प्रति किलोमा १५ रुपैयाँ छूटमा बिक्री गरिने लामिछानेले जानकारी दिनुभयो ।

एक घर परिवारले एक महिनामा चामल ५० किलो, नुन २ किलो, तेल ७ लिटर, दाल ५ किलो, गहुँ तथा पिठो १० किलो र चिनी ५ किलो प्रदान गरिने छ । सस्तो पसलमा खाद्यान्न किन्न जादा साथमा घरमूलीको नागरिकताको फोटो कपी लग्नुपर्ने छ ।