रुकुम(पूर्व) को सिस्ने गाउँपालिका–६ छिप्रीदह रुकुमकोटमा सस्तो पसल सञ्चालन गरिएको छ । १७ गते पुथा उत्तरगंगा गाउँपालिका १० तक र भूमे गाउँपलिका २ खाबाङ २ मा सस्तो पसल सञ्चालन गरेको घरेलु तथा साना उद्योग कार्यालय रुकुम(पूर्व) ले १८ गते रुकुमकाटमा पनि सस्तो पसल स्थापना गरेको हो ।

यी ठाउँमा घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा सस्तो पसल स्थापना गरिएको हो । जिल्लामा स्थापना गरिएक यी सबै सस्तो पसलबाट स्थानीय उपभोक्ताले सहुलियत मूल्यमा खाद्यान्न सामग्री खरिद गर्ने पाउने छन् । प्रदेश सरकारको कार्यविधि अनुसार जिल्लामा पहिलो पटक चार ठाउँमा सस्तो पसल सञ्चालन गरिने भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मधुकर डाँगीले बताउनुभयो । पुथा उत्तरगंगा गाउँपालिकाको तक, भूमे गाउँपालिकाको खाबाङ बगर, र सिस्ने गाउँपालिका ६ छिप्रीदहमा सस्तो पसल स्थापना गरिसकिएको छ । अब सिस्ने गाउँपालिका–२ नायगाड नायगाडमा पसल स्थापना गर्न बाकी रहेको घरेलु तथा साना उद्योग कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

सस्तो पसल सञ्चालनका लागि स्थानीय व्यापारीको प्रतिस्पर्धा मार्फत छनौट गरिएको छ । उक्त पसल सञ्चालनका लागि आवश्यक मापदण्ड अनुसार छनौट गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । तकमा प्रतिक्षा इन्टरप्राइजेज, खाबाङ बगरमा मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, छिप्रिदहमा सिजन सप्लायर्स र नायगाडमा पारस सप्लायर्स सस्तो पसल सञ्चालनको लागि छनौटमा परेका छन् ।

सस्तो पसल सञ्चालन छनौटका लागि यस अघि पसल व्यवसायले त्यस क्षेत्रमा सबै भन्दा सस्तो मूल्यमा उपभोक्तालाई बिक्री गरिराखेको पसल तथा व्यवसायलाई छनौट गरिएको छ । सस्तो पसल सञ्चालन गर्न जिम्मा पाएका व्यवसायीले अब सस्तो पसल सञ्चालन कार्यविधिले तोकेको मापदण्ड अनुसार छूट दिइ बिक्री गर्नु पर्ने छ ।

जसमा बजारमा पाइने गरेको चामलको मूल्य भन्दा सस्तो पसलबाट प्रति किलोमा १० रुपैयाँ छूट पाउने घरेलु तथा साना उद्योग कार्यालयका नायब सुब्बा सागर लामिछानेले बताउनुभयो । यसैगरी नुनमा प्रति किलोमा ५ रुपैयाँ, तेलमा प्रति लिटर २० रुपैयाँ, दाल तथा गेडागुडीमा प्रति किलो २० रुपैयाँ, गहुँ र पिठोमा प्रति किलो २० र चिनी प्रति किलोमा १५ रुपैयाँ छूटमा बिक्री गरिने लामिछानेले जानकारी दिनुभयो ।

एक घर परिवारले एक महिनामा चामल ५० किलो, नुन २ किलो, तेल ७ लिटर, दाल ५ किलो, गहुँ तथा पिठो १० किलो र चिनी ५ किलो प्रदान गरिने छ । सस्तो पसलमा खाद्यान्न किन्न जादा सुरुमा साथमा घरमूलीको नागरिकताको फोटो कपी लग्नुपर्ने छ ।