काठमाडौ: लुम्बिनी प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित पुनमगर बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनी प्रदेश सभा सदस्य पुनमगरलाई पार्टी प्रवेश गराएका हुन् ।
पुनमगरले मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनमा रोल्पाबाट पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
माओवादीले रोल्पा (२)बाट तत्कालीन चुनावी गठबन्धनबाट कांग्रेसका अमरसिंह पुनलाई उम्मेदवार बनाएको थियो । जसको विरुद्धमा माओवादीका तत्कालीन पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर पुनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी स्वतन्त्र उम्मेदवार बनेपछि माओवादीले पार्टीबाट निष्कासन गरेको थियो ।
पुनमगरले माओवादी अध्यक्ष दाहाललाई आत्मालोचना पत्र बुझाएर पुनः पार्टी प्रवेश गरेका हुन् ।
उनले पत्रमा लेखेका छन्, ‘पार्टीको पोलिटब्युरो सदस्य र रोल्पा इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर उम्मेदवार बनेकोमा पार्टीले पनि सबै जिम्मेवारीबाट निष्कासन गरेकाले म पुनः पार्टीमा फर्केर पार्टीको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनबाट रोल्पा प्रतिनिधिसभा सदस्यमा वर्षमान पुन उम्मेदवार बनेर निर्वाचित भएका थिए ।
प्रदेश सभातर्फ भने माओवादीका जोखबहादुर महरा र स्वतन्त्र उम्मेदवारी दिएका पुनमगर निर्वाचित भएका थिए । प्रदेश सभामा पराजित गठबन्धनका उम्मेदवार पुन कांग्रेस लुम्बिनी प्रदेशका सभापति पनि हुन् ।