रुकुम(पूर्व) मा विपदको बेलामा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धिको योजना निर्माण गर्न खाका तयार पारिएको छ । जिल्लाको सिस्ने गाउँपालिका ६ छिप्रीदह स्थित होटेल लेक सिटीमा तीन दिनसम्म सञ्चालन गरिएको तालिम तथा छलफलबाट विपदको बेलामा खानेपानी, सरसफाई तथा स्वच्छतालाई कसरी कायम गर्न सकिन्छ भन्ने कुराको योजना निर्माण गर्न पहिलो चरणमा खाका तयार पारिएको हो ।

जिल्ल विपद व्यवस्थापन समिति, पालिकाको विपद व्यवस्थापन समिति, रेडक्रस, सरकारी कार्यालय र गैर सरकारी कार्यालय, पत्रकारहरुको उपस्थितीमा सञ्चालन भएको तालिम तथा छलफलबाट ठोस योजनाको लागि खाका तयार पारिएको हो । जिल्लास्थित जिम्मेवार निकायका व्यक्तिको उपस्थितीमा तयार पारिएको खाकामाथी पुनः छलफल गरि योजनालाई अन्तिम रुप दिने प्रमुख जिल्ला अधिकारी एवम् विपद व्यवस्थापन समितिका संयोजक तुलाराज सुनुवारले जानकारी दिनभयो ।

उहाँका अनुसार तीन दिनसम्म चलेको तालिम तथा छलफलको क्रममा विपदको बेलामा खानेपानी, सरसफाई र स्वच्छताको कुरालाई कसरी ध्यान दिएर जान सकिन्छ भन्ने कार्यायोजना निर्माणको लागि राम्रो खाका तयार भएको छ । स्थानीय सरकारका प्रतिनिधि देखि लिएर सरकारी÷गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिले दिएको सुुझाव निकै महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी सुनुवारको भनाई छ । जिल्लाको भुुगोल, यहाँको जनसंख्या, विपदको जोखिम, विपदको बेलामा खानेपानी, सरसफाई र स्वच्छताको कुरामा आवश्यक सामाग्री, ध्यान दिनुपर्ने कुरा, आवश्यक बजेट, सचेतनाको कुरालाई मध्यनजर गर्दै खाका तयार पारिएको छ ।

यसै महत्वपूर्ण खाकामाथी छलफल गरेर अन्तिप रुप दिने र प्रभावकारी रुपमा कार्यान्वयनमा जाने प्रमुख जिल्ला अधिकारी सुनुवारले प्रतिबद्धता जनाउनुुभएको छ । यस खाकामाथी पूनः छलफल गरि अन्तिम रुप दिइने जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । विपदको बेलामा आइपर्ने समस्याको सामना गर्न सबै जना आफै पनि सजग रहन उहाँले आग्रह गर्नुभएको छ ।

यसरी तयार भएको कार्ययोजना कार्यान्वयनमा तीन वटै गाउँपालिका प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्षहरुले बताउनुुभएको छ । सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले विभिन्न गैरसरकारी निकायहरुले गर्ने काम औपचारिक मात्र हुने गरेको बताउदै अब उपलब्धिमुलक बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुुभयो । यस्तै विपदको प्रतिकार्य गर्न खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि निर्माण हुने कार्ययोजनालाई कार्यान्वयन गर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नभएको छ । यस्तै भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले पनि कार्यायोजना कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो ।

पुुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले पनि लगातार तीन दिनसम्मको गृहकार्यबाट निर्माण हुने कार्ययोजना निकै प्रभावकारी हुने र यसलाई कार्यान्वयन गर्ने कुरामा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुुभएको छ ।

यूनीसेफको आर्थिक र रुक्मेली समाजविकास केन्द्रको प्राविधिक सहयोग तथा जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तीन दिनसम्म तालिमको सहजिकरण रुक्मेली समाज विकास केन्द्रका वास परामर्शदाता शोभा रानामगर र रुक्मेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसीले गर्नुभएको थियो । मंगलबारबाट सुरु भएको तालिम बिहिबारसम्म चलेको थियो । विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुुवारको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा जिल्लाको तीन वटै गाउँपालिका अध्यक्ष, गाउँपालिकाका विषयगत शाखाका प्रमुख, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, पत्रकारको उपस्थिती रहेको थियो ।

समापन कार्यक्रमको सञ्चालन रुक्मेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसीले गर्नुभएको थियो ।