मिठो बोली र असल आचरणले सेवाप्रदायिक र सेवाग्राहीको बिचमा खाडल बन्न दिदैन् । सेवा लिने र दिने कुरामा कतीपय ठाउँमा कर्मचारीको त कतीपय ठाउँमा सेवाग्राही आफ्नै कारण विभिन्न समस्या आएको देखिन्छ । विभिन्न उदाहरण हेर्दा कतीपय ठाउँमा सेवाग्राही भन्दा कर्मचारीको मनपरी अली बढी चल्छ भन्ने हो ।

यस्तै सेवाग्राहीबाट आउने विभिन्न गुनासालाई कम गर्न जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले सहज सेवा प्रवाहलाई प्राथमिकताका साथ जोड दिएको छ । ७७ औ जिल्लाको रुपमा स्थापना भएको रुकुम(पूर्व) मा भौतिक संरचनाको अभावदेखि लिएर अन्य विभिन्न समस्याहरु झेल्दै भएपनि सधै नागरिकलाई सहज सेवा नै पहिलो प्राथमिकतामा रहेको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम(पूर्व)सँगको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनुवारले यस्तो बताउनुभएको हो ।

साउनको महिनामा प्रमुख जिल्ला अधिकारी भएर रुकुम(पूर्व) मा आइसकेपछि प्रशासनको पहल तथा समन्वयमा भएका कामहरुको बारेमा पनि उहाँले जानकारी गराउनुभएको थियो । प्रशासनको पहल तथा समन्वयमा जिल्लाको विद्युतको अवस्था सुधार, विद्युत गृह निर्माणको लागि जग्गा अधिग्रहण, जिल्लाको तीन ठाउँमा नेपाल टेलिकमको टावर सञ्चालन, बसपार्क सञ्चालन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने, जिल्ला आपतकालीन केन्द्र सञ्चालनमा ल्याउने काम भएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुनुवारका अनुसार रुकुम(पूर्व) अस्पतालको सेवालाई सहज बनाउन नयाँ ट्रान्सफर्मर ल्याउने, उत्तरगंगा नदिनमा हिमपाइप राख्ने, उत्तरगंगा पुल निर्माणमा देखिएको विवाद समाधानसँगै जिल्लामा भइरहेका विकास निर्माणको काममा लापरबाही गरिरहेका ठेकेदारलाई छलफल गराउने र सम्झाउने तथा चेतावनी दिने काम प्रशासनले गरिरहेको छ । अहिले पछिल्लो समयमा प्रशासनको स्वरुप पनि परिवर्तन भएको छ । इलाका कार्यालयको संरचनाबाट चलिरहेको जिल्ला प्रशासनलाई भवन अभावमा सेवा प्रवाह गर्न असहज भएपछि केहि सहजता थपिन्छ की भनेर प्रजिअ सुनुवारकै पहलमा अहिले केहि नयाँ व्यवस्थापन गरिएको छ । सेवाग्राही पुस्तकालयलाई व्यवस्थित बनाइएको छ भने घेरबारलाई पनि व्यवस्थित गरिएको छ ।

साथै जिल्लामा शुन्य दुर्घटना अभियान सुरु गरेको प्रजिअ सुनुवारले जानकारी गराउनुभएको छ । स्थानीय सरकार, राजनीतिक दल र अन्य विभिन्न निकायको सहयोगमा यी कामहरु गरेको उहाँको भनाई छ । जिल्ला प्रशासन कार्यालयसँगै जिल्लास्थित अन्य विभिन्न कार्यालयबाट हुने सेवा प्रवाहमा कूनै गुनासो भए नहिचकिचाई प्रशासनमा खबर गर्न पनि उहाँले नागरिकलाई आग्रह गर्नुभएको छ ।