
रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाका तीन वटा समुदाय सुरक्षित खानेपानी युक्त समुदाय घोषणा भएका छन् । गाउँपालिकाको ५ नम्बर वडाको रुमालबारा, ६ नम्बर वडाको आलाचिउरेनी र ढकालबारा समुदायलाई सुरक्षित खानेपानीय युक्त समुदाय घोषणा गरिएको हो ।
यी तीन वटा समुदायका ८ सय १० घरपरिवारका मानिसहरु सुरक्षित पानीको पहुँचमा पुगेपछि यी समुदायलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो । यी समुदायलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्नको लागि स्थानीय सरकारको पहिलो कार्यकालमा २०७८ माघ १६ गतेको दिन तत्कालीन गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा बसेको ७३ औ कार्यकापलिका बैठकले खानेपानी गुणस्तर कार्यविधि २०७८ तथा सुरक्षित खानेपानी गुणस्तर कार्यविधि २०७८ पारित गरि कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले प्रस्तुत गर्नुभएको कार्यपत्रमा उल्लेख गरिएको छ ।
यी समुदायले प्रयोग गर्ने पानीको मुहान, पाइपलाइन, ट्यांकी मर्मत सम्भार गरी आवश्यकताको आधारमा प्रत्येक समुदायको ५०÷५० घरधुरीलाई एक घर एक धारा निर्माण गरिएको थियो । त्यसपछि खानेपानी सुरक्षाका विभिन्न चरणहरु पुरा गरिएको कार्यपत्रमा उल्लेख छ । सुरुमा टोली गठन, प्रणालीको विश्लेषण, प्रदुषन पहिचान, जोखिम विश्लेषण, नियन्त्रण र उपाय, सुधार कार्य योजना तर्जुमा र कार्यान्वयन, अनुगमण र प्रमाणीकरण गरेर प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
प्रतिवेदन सार्वजनिक गरेपछि समुदाय स्तरमा खानेपानीको मर्मत, सम्भार, सहज पहुँच, तथा दिगोपनाको लागि वार्षिक रुपमा उपभोक्ता समिति, वडा पालिका, तथा गाउँपालिका बिचमा त्रिपक्षीय सम्झौता पनि भएको छ । सोहि सम्झौताअनुसार उपभोक्ता समितिलले १० हजार, १० देखि तीस हजारसम्मको खर्च वडापालिकाले र तीस हजार भन्दा माथीको खर्च आएमा गाउँपालिकाले आन्तरिक सोत तथा सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने भएको कार्यपत्रमा उल्लेख छ ।
सुरुमा यी समुदायले प्रयोग गर्ने मुहानको पानी परिक्षण गर्दा कोलिफर्म र इ–कोली भेटिएको थियो । पानीलाई सुरक्षित गराउन बिल्चीङ पाउडर क्लोरीनेसन, फिल्टर, अकोटेप, पिउस तथा खानेपानी सुरक्षा योजना अपनाई उपभोक्ता समितिलाई खानेपानी उपलब्धता गराइएको थियो ।
सुरक्षित खानेपानीयुक्त समुदाय घोषणासभा कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले यसै अभियानबाट दिगो विकासको लक्षमाथी एउटा इट्टा थपेको बताउनुभएको छ । अहिले यी तीन वटा समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको र आगामी दिनमा अन्य टोल, समुदाय, वडा हुँदै पालिकालाई घोषणा गर्ने अभियानमा जोडबलका साथ लाग्ने अध्यक्ष रेग्मिले बताउनुभयो । अहिले घोषणा भएको समुदायमा सुरक्षित खानेपानीको अवस्थालाई कायम राख्न, निरन्तरता दिन समुदायकै मानिसकको मुख्य भूमिका हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्दै गाउँपालिका पनि सधै साथमा रहेको बताउनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरेर गाउँपालिकामा राम्रो कामको सुरुवात भएको बताउनुभयो । यसको दिगोपना नै महत्वपूर्ण कुरा रहेको बताउदै यसतर्फ गम्भिर रुपमा ध्यान दिन पनि सम्बन्धित सबै निकायलाई उहाँले आग्रह गर्नुभएको छ । सुरक्षित पानी नै मानिसको जिवन हो भन्दै प्रमुख जिल्ला अधिकारी सुनुवारले मुलदेखि मुखसम्म पानी पुर्याउदा सजग रहन सबैलाई आग्रह गर्नुभएको छ ।
यूनिसेफ र रुक्मेली समाज विकास केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा सिस्नेका यी तीन समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । घोषणा कार्यक्रममा यस अभियानमा सहयोग पुर्याउने विभिन्न संस्था तथा व्यक्तिहरुलाई सम्मान पनि गरिएको छ ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह लगाएत सुुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, वडाध्यक्ष, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख अरुण ओलीले गर्नुभएको थियो ।