रिडी गण्डकी मेला तीन जिल्लाको संगम स्थलमा लाग्छ । गुल्मि, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थलमा लाग्ने रिडी मेलालाई माघी मेला पनि भनिन्छ । रिडी गण्डकी मेला अठार मगरात र वाह्र मगरातको सीमाना रिडीमा परापुर्व कालदेखी नै लाग्दै आएको ठूलो र महत्वपूर्ण मेलाको रुपमा चिनिन्छ । री र डी को पनि आफ्नै अर्थ छ । अठार मगरातले पानीलाई री भन्ने गर्छने भने वाह्र मगरातले पानीलाई डी भन्दछ । यहि री र डी को समिश्रण नै रीडी हो भन्छन् जानकारहरु ।
यहि रिडी गण्डकी मेला रुकुम(पूर्व) का मानिसहरुको लागि व्यापार गर्ने उपयुक्त ठाउँ रहदै आएको छ । विशेष गरी जिल्लाको भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका नागरिकहरु आफुले उत्पादन गरेका चिजवस्तुहरु लिएर बिक्रि गर्न र मेला मान्ने उदेश्यका साथ रिडी गण्डकीको यात्रा एक दुई साता अघि देखि नै तय गर्ने गर्दछन् ।
यस वर्ष पनि माघी नजिकिदै जादा रिडी गण्डकी मेला मान्न जानेहरु बाटोमा भेटिने गरेका छन् । यहाँबाट मेला मान्न भनेर हिडेपनि उनिहरुको मुख्य उदेश्य भनेको आफुले निर्माण गरेको राडीपाखी कारोबार गर्नु हो । पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रबाट आठ–दश जनाको समूह बनाइ मेलामा राडीपाखी कारोबारका लागि मानिसहरु हिडिसकेका छन् । अहिले पुथाउत्तरगङ्गाको घुम्लिबाङ, तुपा, दमचन, तकसेरा, कोल, गर्खानी, हुकाम र भूमेको लुकुम, मोराबाङ लगायतका ठाउँबाट रिडी गण्डकीको लागि समूह बनाएर मानिस हिँडिसकेको घुम्लिबाङका विकास बुढामगरले जानकारी दिनुभयो ।
उनीहरुले राडीपाखीसँगसँगै ओखरको घार्जी पनि बिक्री वितरणका लागि लगेका छन् । रिडी गण्डकी मेलामा राडीपाखी र ओखरको घार्जीको कारोबार राम्रो हुने भएकाले पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाका मानिसले यसै मेलालाई लक्ष्य गरी भेडाको ऊनबाट निर्मित सामग्री तयार पार्नुका साथै ओखरको घार्जी निकालेर राख्ने गरेको उहाँले बताउनुभयो ।
भूमे गाउँपालिका २ काँक्रिका बाघदल बुढा आफुले निर्माण गरेको दर्जन बढी भेडाको ऊनबाट निर्मित सामाग्री बोकेर रडिी गण्डकीको मेला प्रस्थान गर्नभएको छ । पुथा उत्तरगंगा गाउँपालिकाका रामप्रसाद बुढाले १२ राडीपाखी बोकेर हिँड्नुभएको छ । तकसेराकी सिर्जना बुढामगरले नौ पाथी ओखरको घार्जी बोकेर रिडी गण्डकीका लागि निक्लनुभएको छ ।
सबै जना मेला मान्नेसँगसँगै आफूले निर्माण तथा उत्पादन गरेका विभिन्न सामग्री खपत हुने भएकाले पनि सामान बोकेर रिरी गण्डकी हिँड्ने धेरै पहिलेदेखिको परम्परा अहिलेसम्म चलिरहेको छ । भेडाको ऊनबाट निर्माण गरिएको प्रतिकाम्लोको मूल्य रु दुई हजारदेखि पाँच हजारसम्म पर्ने गर्छ भने बख्खुको मुख्य रु २० देखि २५ हजार पर्ने गरेको बाघदल बुढाले बताउनुभयो ।
माघको १ गतेबाट सुरु हुने रिडडी गण्डकी मेला ४–५ गतेसम्म चल्ने गर्छ । हप्ता दिन बढी लगाएर बाटोमा सामान बिक्री गर्दै र बचेको सामानलाई मेलामा गएर बिक्री गर्दै आउने उहाँको भनाई छ । उहाँका अनुसार यहाँबाट नौ–दश जनाको धेरै समूह बनाएर गइन्छ । खाना पकाउने भाँडाकुँडा, चामल, दाल, पिठो सबै चाहिने सामग्री बोकेर जाने र बाटोमै खाना पकाएर खाने तथा जहाँ रात पर्छ त्यही बास बस्दै एक हप्तापछि रिडी गण्डकीको मेलामा पुग्ने गरेको उहाँको भनाई छ । ।
मानिसहरु पुथाउत्तरगङ्गाको दमचन, तुपा, टाटु, ढोरपाटन, तरामटी, फलेघर हुँदै बुर्तीबाङ पुगेर त्यहाँबाट गाडीमा चढेर मेला पुग्छन् । अहिले यहाँबाट मेला मान्ने र सामान बिक्री गर्ने उद्देश्यले हिँडेका सबै जना आफूले बेचेको सामानबाट आएको पैसाले आफू र घरपरिवारका लागि किनमेल गरेर अगामी माघको ८–९ गतेमात्र घर फर्कने गरेका छन् ।
यातायातले रिडी गण्डकीको यात्रामा फरक
पहिले र अहिलेको रिडी गण्डकी मेला मान्न जाने तौरतरिकामा भने धेरै फरक आएको बुढापाका बताउछन् ।
विगगतका दिन सम्झदै भूमे गाउँपालिका ३ सिमाका तिलक रोका मगरले भन्नुहुन्छ, “जब पौषको १९÷२० लाग्थ्यो रुकुम(पूर्व) बाट रिडी गण्डकीको मेला मान्न जानेहरुको लस्कर हुन्थ्यो । पुथा उत्तरगंगा क्षेत्रका मानिसहरुले राडीपाखी बिक्रि गर्न लैजान्थे भने यो भूमे क्षेत्रकाले ओखरको घार्जी चोयाको डोकाभरी बोकेर लैजान्थे । यसरी युवायुवती र बुढापाका सवैको समुह बाटोमा बस्दै रातभरी यानीमाया र लस्के गीत गाउँदै रमाइलोका साथ पौष मसान्तको दिन रिडी पुगेर रातभरी नाँचगान गरेर रमाइलो गर्ने र कारोबार गर्ने गर्थे ।” रुकुम(पूर्व) बाट रिडी पुग्दा हप्तौ लाग्ने हुँदा बाटोमा २÷३ वटा राँगा काटेर खाने गरेको पनि उहाँले सुनाउनुभयो ।
रोकाले थप्नुभयो, “यसरी लामो समयसम्म बाटोको यात्राले टाढाका व्यक्तीसँग चिनजान र माया प्रेम हुन्थ्यो । जिल्लाको तल्लो क्षेत्र क्याङसी, महत, सीमा लुगुम आदी गाउँका मानिस पुथा उत्तरगंगा क्षेत्र हुकाम, मैकोट, तकसेरा, कोल, गर्खानी, नाखा, राङसी आदी गाउँकासँग एउटै बाटो पर्ने भएकोले दुवै पट्टिको समुह बिचमा माया, ममता, आदर, सद्भाव, तिता मीठा कुरा हुन्थ्यो । लेक काटेपछि बागलुङसँग पनि मया प्रेम र चिनजान गरी यानीमाया गीत रातभरी गाइन्थ्यो । गण्डकी मेला मान्न जानुको कारण रमाइलो गर्न र व्यापार गर्न मात्र नभई एक वर्ष अगाडी वा केही वर्ष अगाडी आफ्ना मान्छे मरेकाको केही चिनो गण्डकी नदीमा वगाउने चलन पनि रहेको छ ।” मृत्यु भएकाको चिनो वगाउनाले बगाएको चिनो स्वर्गमा उनिहरुले पाउछन् भन्ने मान्यता पनि रहिआएको उहाँको भनाइृ छ ।
मेलामा माघको एक गतेको दिन गण्डकी नदिमा नुहाएर पुजा गरेपछि पाप कटीन्छ भन्ने चलन छ । पछिल्लो तीन चार वर्ष यता भने बाटोमा यसरी माया प्र्रेम र सदभाव साट्दै टाउकोमा नाम्लो, पिठ्युमा आफुभन्दा ठुलो भारी बोकेर हिड्नेहरु कमै मात्रामा भेट्न सकिन्छ ।
अहिले मध्यपहाडी लोकमार्गले रुकुम(पूर्व) बासीलाई सहज भएको छ । यहाँका मानिसहरु गाडी चढेर रिडी गण्डकीको मेला मान्न जाने गरेका छन् । पहिलेको जस्तो ओखरको घार्जी र राडीपाखी पनि उत्पादन हुन छोडेको छ । यसले व्यापार पनि घटेको भूमे गाउँपालिका २ काँक्रिकी प्रेम बुढाले बताउनुभयो ।