रुकुम(पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केहि वर्षमा क्रमिक रुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ ।

एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) का अनुसार गत वर्ष ६३३.७५ मेट्रिक्टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ९७५ मेट्रिक्टन सुन्तला उत्पादन भएको छ । असोजमा लगातार एक साता परेको वर्षाले अन्य बालीनालीको उत्पादनममा असर परेपनि सुन्तलामा भने फाइदा हुँदा उत्पादन बढेको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो ।

उहाँकाअनुसार विगतमा सुन्तलामा रोग, किरा, जलवायु परिवर्तनको असर लगायतका कारण जिल्लामा सुन्तलाको उत्पादनमा कमी आइरहेको थियो । तर यस वर्ष भन गत वर्षको भन्दा करिब ३ सय मेट्रिकटनले बढी उत्पादन भएको छ । जिल्लाभर किसानले १०५ हेक्टरमा सुन्तला खेती गर्दै आइरहेका छन् । तर यस वर्ष ८२ हेक्टर क्षेत्रफलमा लगाइएको बोटले फल दिएका छन् । त्यस्तै गत वर्ष ८५ हेक्टर क्षेत्रफल सुन्तला उत्पदनको क्षेत्र रहेतापनि ७८ हेक्टर क्षेत्रफल मात्र उत्पादनशिल क्षेत्र रहेको थियो ।

उत्पादन वृद्धि भएपछि गत वर्ष प्रतिकेजी ६०÷६५ रुपैयाँमा बिक्री गरेका किसानले यो वर्ष ४० देखि ५०÷५५ रुपैयाँमा बिक्री गरिरहेका छन् । सुन्तला उत्पादन धेरै धएपनि बजार नहुँदा भने किसान समस्यामा पर्न गर्छन् । उत्पादनलाई जोड दिदै जाने तर त्यसको व्यवस्थापन र बजारीकरणको योजना नहुँदा वर्षेणी यहाँको उत्पादनलाई लिएर किसानहरु मर्कामा पर्ने गरेका छन् ।

यस वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको र बजारमा खपत हुने अवस्था नभएपछि एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयले सुन्तलाको जुस बनाउने तालिम सञ्चालन गरेको थियो । अहिले सिस्ने ७ र ८ का किसानले बजारमा बिक्रि नभएको सुन्तलाबाट स्थानीय स्तरमै जुस बनाएर बिक्रि गरिरहेको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख बस्नेतले बताउनुभयो ।

जिल्लाको सबै पालिकामा सुन्तला उत्पादन हुने गरेतापनि विशेष गरी सिस्ने गाउपालिकाको वडा नम्बर ७ र ८ सँगै पुथा उत्तरगंगा गाउँपालिकाको ८ नम्बर वडामा व्यवासायिक रुपमा किसानले सुन्तला खेती गर्दै आएका छन् ।