बालाराम शेर्पाली
रुकुम(पूर्र्व भूमे गाउँपालिका ३ का ४४ वर्षका भागीमान पुन दुई दशक अघी वैदेशिक रोजगारको सिलशिलामा साउदी, कतार र मलेसिया जानुभयो । वैदेशिक रोजगारको शिलशिलामा खाडी देशमा पुग्नुभएका भागीमानले मासिक ३० हजार मात्र कमाइ गर्ने गर्नुहुन्थ्यो । दुख पछि सुखको दिन आउलान भनेर ऋण खोजेर विदेश जानुभएको उहाँ ३० हजारको कमाइले निराश हुँदै घर फर्कनुभयो ।
घर फर्केपछि मौरी पालन व्यवसाय सुरु गर्नुभएको भागीमानले मासिक २५ हजार आम्दानी गर्दै आउनुभएको छ । उहाँ भन्नुहुुन्छ, “घरमा अहिले ३७ वटा माहुरीका घार छन् । सरदरमा वार्षिक आम्दानी तीन लाखको हारहारीमा हुने गर्दछ । ” विदेशमा घामपानी, भोक, निन्द्रा नभनी काम गर्दा जम्मा ३० हजार कमाउनुभन्दा त स्वदेशमै थोरै लगानीबाट सुरु गरेको व्यवसायले मासिक २५ हजार आम्दानी हुनु आफ्नो लागी निकै राम्रो भएको भागीमान बताउनुहुन्छ ।
“पहिले लेकभरी भैसी बगाल हुन्थे, मेरो घरकोा गुजारा यसैबट राम्रो चलेको थियो”, भागीमानले भन्नुभयो, “संकटकाल लागेपछि मेरो सबै सम्पती सकियो र म विदेशिन बाध्य भए ।” विदेशमा पनि कमाई राम्रो नभएपछि स्वदेशमै केहि गर्नुपर्छ भन्ने उदेश्यका साथ फर्केर मौरी पालन व्यवसाय सुरु गरेको उहाँको भनाई छ ।
भागीमानले सेराना जातको मौरी पाल्नुभएको छ ।
बंगुर पालन पनी
भागीमानले २०७६ साल देखी बङगुर पालन पनि गर्दै आउनुभएको छ । सुरुमाा एउटा भाले र २ वटा माउबाट सुरु गरेको बंगुर पालनबाट पनि राम्रो आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।
उहाँकाअनुसार अहिले पुनसँग १ भाले र ४ बङ्गुरको माउ छन् । बंगुरको पाठा, मासु बिक्रि वितरणबाट पनि मासिक २० हजार आम्दानी हुने गरेको छ ।
यसरी स्थानीय स्तरमा व्यवसाय गर्नेहरुलाई प्रोत्साहन स्वरुप स्थानीय सरकारले सहयोग गरिदिय हुन्थ्यो भन्ने भागीमानलाई लागेको छ ।