रुकुम(पूर्व) मा जिल्लाकै सबै भन्दा ठुलो विद्युत आयोजना रुकुमगाड जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । रुकुम(पूर्व) को सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत आयोजनाको काम सकिएको हो । अब परिक्षणको काम मात्र बाकी छ । आयोजना निर्माणको जिम्मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले लिएको थियो ।

आयोजना निर्माणको काम लगभग सबै सकिएपनि पावरहाउसभित्रको थोरै काम बाकी रहदा परिक्षणको समय केहि पछि धकेलिएको कन्स्ट्रक्शनले जनाएको छ । यहि माघको ७ गतेबाट १२ गतेसम्म आयोजना परिक्षण गर्ने भनेर सुचना निकालेको कन्स्ट्रक्शनले इलेक्ट्रोमेकानीकल अन्तर्गतको केहि काम बाकी रहदा परिक्षण कार्यलाई दुई साता पछि धकेलिएको कन्स्ट्रक्सनका वरिष्ठ आयोजना प्रवन्धक रामचन्द्र त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पवरहाउस भित्रको दुई वटा यूनिट, यूनिट वान र यूनिट टु मा ड्राफ्ट ट्युब फिक्स गर्नको लागि गरिएको कंक्रिट ढलानको काम भर्खरै सकिएको र सेट हुन कम्तिमा ७ दिन लाग्ने भएको छ । त्यसपछि यूनिट वान र यूनिट टु दुवैमा इलेक्ट्रोमेकानीकल अन्तर्गतको दुई वटा रनर, दुई वटा सफ्टसिल जोेड्नुपर्ने काम बाकी हुँदा बाधबाट पेनस्टक हुदै पानी भर्ने कार्य केहि समय पछि सरेको छ ।

यती काम सकिएको खण्डमा माघको २० गतेको पेरीफेरीमा आयोजनाको परिक्षण कार्य सुरु गरिने वरिष्ठ आयोजना प्रवन्धक त्रिपाठीले बताउनुभयो । रुकुम गाड जलविद्युत आयोजनाको लागत खर्च रु एक अर्ब ३० करोडको हारहारीमा रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम सुरु भएको यस आयोजनाको काम सन् २०२३ को सुरुवातीमा आएर सकिएको छ ।

बीचमा कोभिडको कारण काममा केही असर परेको थियो । रुकुम(पूर्व) मा उत्पादन गरिएको पाँच मेगावट विद्युत् रुकुमपश्चिमको धैरेनीचौरमा रहेको सबस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ ।