राष्ट्रिय गौरवको आयोजना मध्येको मध्यपहाडी(पुष्पलाल) लोकमार्ग अन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र परेको छ । १३ किलोमिटर लामो रहेको पातिहाल्ने–लुकुम खण्डको कालोपत्रे तयारीको काम अलपत्रमा परेको हो । आर्थिक वर्ष २०७२÷०७३ मा कालोपत्रे तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्ष देखि अलपत्र अवस्थामा छ । कालोपत्रेका लागि जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्क विहीन भएपछि उक्त खण्डको काम अलपत्र अवस्थामा पुगेको हो ।

कालोपत्रेका लागि ठेक्का पाएको निर्माण व्यवसाय डेढ वर्ष देखि सम्पर्क विहिन बन्दा यस खण्डको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जिनियर हुमनाथ पौडेलले जानकारी दिनुभयो । यस खण्डमा कालोपत्रेको लागि ३८ करोड रुपैयाँ हाराहारीमा बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट हाल ३० करोड हाराहारीको काम भएको पौडेलको भनाइ रहेको छ । ३० करोड बजेट खर्च हुँदा ८२ प्रतिशत काम भएको इञ्जिनियर पौडेलले बताउनुभयो । कालोपत्रेका लागि ग्रावेल, नाली कटिङ, ग्याविन तथा जाली हाल्ने काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।

कामको जिम्मा पाएको ठेकेदार सम्पर्क विहीन भएपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखले ठेक्का तोड्न सूचना प्रकाशन गरेको थियो । उक्त सूचना प्रकाशन भएपछि सिद्धिशाहीका ठेक्का साझेदारी निर्माण व्यवसाय खिन्टी महादेव कन्स्ट्रक्सन सम्पर्कमा आएको इञ्जिनियर पौडेलले जानकारी दिनुभयो । समयमै काम सम्पन्न गर्न नसकेपछि विभिन्न मितिमा तीन पटक सम्म म्याद थप गरिसकिएको छ । अहिले चौथो पटक आउँदो असार मसान्त सम्मको लागि म्याद थप गरिएको छ ।

काम अलपत्रमा पारी काम गर्न जिम्मा पाएको निर्माण व्यवसाय सम्पर्क विहीन भएपछि खिन्टी महादेव कन्स्ट्रक्सन काम गर्न सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । खिन्टी महादेव कन्स्ट्रक्सनलाई स्थानीयले तत्कालै काम नगर्न अनुरोध गरेका थिए । यसअघि काम गरेका मजदुरलाई सिद्धिशाहीले ज्याला समेत नदिएको स्थानीय मजदुरले बताएका छन् । मजदुरले काम गरे वापतको पैसा नपाउनु दुःखद कुरा भएको प्रजिअ सुनुवारले बताउनुभयो ।

मध्यपहाडी राजमार्गको रुकुम(पूर्व) खण्डको अधिकांस क्षेत्रमा कालोपत्रे भइसकेको छ । पातीहाल्ने–लुकुम खण्डमा कालोपत्रे नहुँदा खोलाको पानीले सडक चिराचिरा पारेर यातायातका साधनलाई आवागमणमा असहज भइरहेको छ ।