रुकुम(पूर्व) को सिस्ने गाउँपालिका ५ स्थित रुकुमकोटमा रहेको हेलिप्याडमा लाइट जडान गरिएको छ । रातीको समयमा पनि हेलिकप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याडमा लाइट जडान गरिएको हो । यस अघि दिउसोको समयमा मात्र हेलिकप्टर अवतरण गर्ने गरेको यस हेलिप्याडमा लाइट जडान गरेसँगै अब रातीको समयमा पनि हेलिकप्टर अवतरण गर्न सक्नेछन् ।
आर्थिक वर्ष २०७६÷७७ मा संघ सरकारको १० लाख बजेटबाट निर्माण भएको हेलिप्याडमा अहिले सिस्ने गाउँपालिकाको बजेटबाट लाइट जडान गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले जानकारी दिनुभयो । नेपाली सेनाले निर्माण गरेको हेलिप्याडमा अहिले पनि नेपाली सेनाको प्राविधिक सहयोगमा लाइट जडान गरिएको उहाँको भनाई छ । गाउँपालिकाको करिब सवा दुई लाख बजेटमा लाइट खरिद गरी नेपाली सेनाको सहयोगमा हेलिप्याडमा जडान गरिएको गाउँपालिका अध्यक्ष रेग्मिको भनाई छ ।
सिस्ने गाउँकार्यपालिकाको कार्यालय भन्दा माथीपट्टी बतासे डाँडामा रहेको हेलिप्याडमा दक्षिण दिशातर्फबाट अवतरण गर्ने गरी डिरेक्सन लाइट जडान गरिएको छ । हेलिप्याडमा सोलारबाट अटोमेटिक सञ्चालन हुने सेन्सर लाइट जडान गरिएको नरसिंह दलगणका गणपती प्रमोदकुमार शर्माले बताउनुभयो । “हेलिप्याडमा जडान गरिएका सेन्सर लाइटको पाँच वर्ष वारेन्टि समेत छ”, उहाँले भन्नुभयो, “यी लाइट घाम डुब्यो भने आफै बल्छन् र बिहान भयो भने हाफै मर्छन् ।” हेलीप्याडको वरीपरी पोल गाडेर ठुला ४ वटा बल्ब पनि जडान गरिएको उहाँको भनाई छ ।
लाइट जडानको काम सकिएपछि आजै सिस्ने गाउँपालिकाको स्वामित्वमा रहने गरी पालिकालाई हेलिप्याड हस्तान्त्रण गरिएको छ । रुकुम(पूर्व) मा इमरजेन्सी अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गरिदै आइएको छ । दुर्घटनामा परेर गम्भिर घाइते भएका, सुत्केरी व्यथा लागेका र अन्य विभिन्न समस्याले तत्काल उद्धार गर्नुपर्ने अवस्थाका बिरामीलाई हेलिकप्टरबाट नै सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौं लैजाने गरिएको गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले यसअघि यस्ता समस्यामा परेका बिरामीलाई दिउसोको समयमा मात्र उद्धार गरिदै आइएको थियो भने अब रात्रीकालीन अवस्थामा पनि हेलिकप्टर अवतरण गर्नसक्ने गरी हेलिप्याडमा लाइट जडान गरिएपछि यहाँका नागरिकलाई सहज हुने बताउनुभयो ।