रुकुम पूर्वः सिस्ने गाउँपालिकाले ९ क्लबलाई खेलकुदका सामग्री बितरण गरेको छ । गाउँपालिकाद्धारा सञ्चालित ग्रामिन सूचना तथा युवा विकास केन्द्रले एक कार्यक्रमको आयोजना गरि सामग्री वितरण गरेको छ ।
युवाहरुलाई खेलप्रति आकर्षण गर्न गाउँपालिकाले खेलकुदका सामग्री वितरण गरेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए ।उनले भने खेलप्रति चासो भएका व्यक्तिलाई सानो भएपनि सहयोग पुगोस् भन्ने उदेश्यले सामग्री वितरण गरेका हौ ।
वडा नम्बर १ को शुभसेन्टर युवा क्लब र समाजसेवी युवा क्लब, २ नम्बर वडाको लालिगुराँस युवा क्लब, वडा नम्बर ३ को वडा स्तरिय युवा विकास केन्द्र र ४ नम्बर वडाको सिर्जनशिल युवा क्लबलाई सामग्री वितरण गरिएको युवा विकास केन्द्रका अध्यक्ष गोपाल पुनले जानकारी दिए ।
यसैगरि ५ नम्बर वडाको उज्यालो कोट युवा क्लब, ६ नम्बर वडाको रुकुमकोट फुटबल क्लब, ७ नम्बर वडाको वडा स्तरिय युवा क्लब र ८ नम्बर वडाको शहिद महेन्द्र लक्षु युवा क्लबलाई खेलकुदका सामग्री वितरण गरिएको छ ।
प्रत्येक क्लबलाई भलिबल, नेट, पम्प र आवश्यकता अनुसार खेल पोसाक वितरण गरिएको कार्यालय सचिव कोइली शाहीले जानकारी दिइन् । उनका अनुसार प्रत्येक क्लबका पदाधिकारीलाई युवा विकास केन्द्रको कार्यालयमा सामग्री वितरण गरिएको हो । निशुल्क खेल सामग्रीहरु पाएपछि युवाहरु खुसी भएका छन ।