रुकुम(पूर्व) मा व्यावसायिक रुपमा आलु खेती गरिरहेका किसानहरु तालिम पाएपछि खुसी भएका छन् । यस जिल्लाको लागि मकै र गहुँ पछिको प्रमुख बालीको रुपमा रहेको आलु खेतीलाई व्यवस्थित गर्नको लागि किसानलाई तालिम प्रदान गरेपछि उनिहरु खुसी भएका हुन् । अहिलेसम्म परम्परागत रुपमा हुँदै आएको आलु खेतीलाई आधुनिकिकरण, यान्त्रिकरण गर्दै बजार व्यवस्थापन सम्मको कुरालाई कसरी व्यवस्थित गराउन सकिन्छ भन्ने खालको तालिम प्राप्त गरेपछि आफुलाई निकै खुसी लागेको पुथा उत्तरगंगा गाउँकार्यपालिका सदस्य समेत रहनुभएका आलु उत्पादक किसान राज कुमार सुनारले बताउनुभयो ।

“पुथा उत्तरगंगा गाउँपालिकाको ६ नम्बर वडा मयाङमा मैले आफै धेरै मात्रामा आलु उत्पादन गर्दै आएको छु र अन्य त्यहाँका थुर्पै किसानले आलु उत्पादन गर्नुहुन्छ” सुनारले भन्नुभयो, “हामीले पुरानै तरिकाबाट खेतीपाती गर्दै आएका थियौ । यसले गर्दा समयको खर्च, जती उत्पादन हुनुपर्ने हो त्यती उत्पादन नहुँन, बिउ छनोट, मल, रोग किराको व्यवस्थापनमा निकै समस्या हुँदै आएको थियो ।” आलु खेती प्रविधि सम्बन्धिको तालिम प्राप्त गरेपछि अहिले आफुलाई जग्गा छनोटदेखि लिएर हावापानी अनुसारको बिउँ छनोट, खाने आलु र बिउँ आलुको भण्डारण र बजारीकरणसम्मको योजना बनाउने कुराहरु थाहा भएको उहाँको भनाई छ ।

यस्तै पुथा उत्तरगंगा गाउँपालिकाकै अर्का किसान देविका सुनारले पनि आलु खेती प्रविधि तथा चिप्स उत्पादन सम्बन्धिको तालिम लिनुभयो । तालिमपछि बिना ज्ञान र सिपको खेतीले राम्रो प्रतिफल नदिने रहेछ भन्ने कुरा बुझेको बताउनुभयो । अब भने तालिममा सहभागी भएर आलु खेतीको बारेमा प्रष्ट भएको र सोहि अनुरुप आलु खेतीलाई बढ्वा दिने उहाँले उल्लेख गर्नुभयो । यस्तै तालिममा सहभागी रुकुम(पूर्व) को तीन वटै गाउँपालिकाका किसानहरुले आफुहरुको मुख्य बालीको रुपमा रहेको आलु खेतीलाई आगामी दिनमा व्यवस्थित रुपमा अगाडी बढाउने र त्यसैबाट आर्थिक समृद्धिको बाटो खोज्ने बताएका छन् ।

एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) ले जिल्लाका तीन वटै गाउँपालिकामा व्यवसायीक रुपमा आलु खेती गरिरहेका किसान र वर्खे आलु पकेट कार्यक्रमको लागि छनोट भएका किसानहरुको लागि रुकुमकोटमा तीन दिने तालिमको आयोजना गरेको थियो । यहि माघको १४ गतेबाट सुरु भएको तालिम १६ गतेसम्म चलेको थियो । तालिममा तीन वटै पालिकाका २८ जना किसानहरुको सहभागिता रहेको तालिमका संयोजक एवम् एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले बताउनुभयो । तालिमको सहजिकरण आलुबाली विज्ञ श्यामप्रसाद ढकालले गर्नुभएको थियो ।

तालिमको आज एक औपचारिक कार्यक्रमको माझमा समापन गरिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले परम्परागत रुपमा आलु खेती गर्दै आएका किसानलाई यान्त्रिकरण र आधुनिक खेतीतर्फ उन्मुख गर्न सहयोग पुग्ने बताउनुभएको छ । तालिममा सिकेको सिपलाई भरपुर रुपमा प्रयोग गरि आलु खेतीलाई व्यवस्थित गर्न र यसबाट आर्थिक अवस्था सवल बनाउनतर्फ जोड दिन किसानलाई उहाँले आग्रह गर्नुभएको छ । साथै आलुको बजारीकरण गर्न समन्वय प्रमुखको हैसियतले तीन वटै पालिकासँग समन्वय र सहकार्य गरेर योजना निर्माणमा सहजिकरण गर्ने प्रतिबद्धता प्रमुख श्रेष्ठले जनाउनुभएको छ ।

प्रशस्त मात्रामा रुकुम(पूर्व) मा आलु उत्पादन हुने गरेपनि आलु लगाउने बेलामा यस जिल्लामा आलुको बिउ अभाव हुने गर्छ । यो समस्या अन्त्यको लागि पनि कार्यालयले आलुको बिउँ उत्पादनलाई पनि जोड दिएको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो । यस्तै आलुको चिप्स उत्पादनको लागि पनि उपयुक्त आलु खेतीको परिक्षण गरिने भएको छ । वर्खे आलु पकेट कार्यक्रमको लागि छनोट भएका किसानलाई चिप्स बनाउन उपयुक्त हुने बिउ लगाउन लगाएर परिक्षण गरिने र परिक्षण सफल भएको खण्डमा यस प्रकारको आलु उत्पादनलाई बढवा दिने प्रमुख बस्नेतको भनाई छ ।