रूकुम(पूर्व) मा क्यान्सर दिवस मनाइएको छ । “बढ्दै छ चुनौती क्यान्सरको, पहुँच बढाउ स्याहारको ” भन्ने नारासहित रूकुम(पूर्व) मा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा आज विश्व क्यान्सर दिवस मनाइएको छ ।

क्यान्सर दिवसको अवसर पारी आयोजना गरिएको कार्यक्रमलाइ संबोधन गर्दै प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले प्रत्येक व्यक्तीले आफ्नै आनीबानीमा सुधार ल्याए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । विश्वमा क्यान्सर रोगबाट धेरै मानिसको ज्यान जाने गरेको बताउदै प्रजिअ सुनुवारले रूकुम(पूर्व) जस्तो दुर्गम, गुणास्तरीय स्वास्थ्य सेवाको पहुँच, चेतनाको अभाव भएको ठाउँमा क्यान्सर रोगको परिक्षण र रोगको निदान निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । सरकारले क्यान्सरको परिक्षण, उपचारमा विभिन्न निती बनाएपनी यो पर्याप्त नभएको उहाको भनाइ छ ।

क्यान्सर रोगलाइ लिएर जुन खालको भ्रम नागरिकमा छ, त्यो भ्रमले उनिहरुको आत्मबल कम हुने गरेको बताउदै प्रमुख जिल्ला अधिकारी सुनुवारले क्यान्सर के हो ? यो कसरी लाग्छ ? यसको उपचार प्रक्रिया के हुन्छ ? भन्ने खालको चेतना फैलाउन आवश्यक रहेको औल्याउनुभयो । क्यान्सर रोग समयमै पत्ता लागेमा उपचार सम्भव हुने भएकाले बेलाबेलामा स्वास्थ्य जाँच गराउन पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

यस्तै शिक्षण अस्पताल महाराजगञ्जका उपप्रध्यापक प्रेम बस्यालले क्यान्सर रोगको पत्ता समयमै नलागेमा र उपचार नगरेमा यहि मान्छेको मृत्युको कारण बन्ने बताउनुभएको छ । हाम्रो जस्तो समाजमा उपचारको कुरा त परै छ, रोग पत्ता लगाउन मुस्किल हुने गरेको उहाँको भनाई छ । यस्तै उपचारमा सबैको समान पहुँच नहुँदा पनि गरिब तथा विपन्न परिवारका मानिसलाई क्यान्सर लाग्दा समस्या हुने गरेको उपप्रध्यापक बस्यालले बताउनुभयो । स्वास्थ आहार विहार र आनीबानी नै सबै रोगको निदान भएको उहाँको भनाई छ ।

स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले स्तन र पाठेघरको मुखको क्यान्सरका बिरामी पत्ता लगाउनको लागि शिविर पनि सञ्चालन गर्दै आएको छ । भूमे गाउँपालिकाले पनि स्तन र पाठेघरको मुखको क्यान्सरसँगै प्रोस्टेल ग्लाण्डको जाँच गरेको छ । क्यान्सर दिवसको अवसरमा रुकुमकोटमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का प्र्मुख नारायण प्रसाद चौधरी र ल्याब टेक्निसीयन निमप्रसाद गिरीले क्यान्सर रोग, क्यान्सर रोग लाग्ने कारण, रोकथामको उपाय, यसको अवस्था र उपचार प्रक्रियाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख नारायन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको प्रमुख र शिक्षण अस्पताल महाराजगञ्जका उपप्रध्यापक प्रेम बस्यालको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, जिल्लास्थित स्वास्थ्य संस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकारको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन जनस्वास्थ्य निरीक्षक डिल्लि बहादुर केसीले गर्नुभएको थियो ।