रूकुम(पूर्व) अस्पतालमा औषधी अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । जिल्ला अस्पतालमै सामान्य खालको औषधी पाउन छोडेपछि बिरामीहरू समस्यामा परेका हुन् । जिल्लाको विभिन्न ठाउँबाट उपचारको लागि आउने बिरामीलाई सामान्य खालको उपचार सेवा दिन पनी अहिले अस्पताललाई सकस परिरहेको छ ।

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रूकुम(पूर्व) अस्पतालमा दैनिक ५० देखी ७० जनाको हारहारीमा बिरामीहरू आउने गरेका छन् । अस्पतालमा चेक गराएर कागजमात्र हातमा थमाइदिएपछी बिरामीहरू औषधी किन्न सिधै मेडिकलतीर हानिने गरेका छन् । २०७४ साल पूषको ७ गते पहिले रूकुमकोट स्वास्थ्यचौकी भएको ठाउँबाटै जिल्ला अस्पतालको सेवा प्रवाह गर्ने घोषणा गरियो । सोहिअनुसार सिस्ने ५ को स्वास्थ्यचौकीलाई अर्को ठाउँमा स्थानान्तरण गरेर पहिले रुकुमकोट स्वास्थ्यचौकी रहेको ठाउँमा २०७६ साल मंसिर ५ गतेका दिन तत्कालीन मुख्यमन्त्री शंकर पेखरेलले अस्पतालको उद्धघाटन गर्नुभयो ।

७७ औ जिल्लाको रुपमा स्थापना भएको रुकुम(पूर्व) मा स्थापना भएको जिल्ला अस्पतालबाट गुणस्तरीय र सर्वसुलभ तरिकाले सेवा पाउला भनी आसमा बसेका जिल्लाबासीको सपना अहिलेसम्म पुरा नभएको सिस्ने गाउँपालिका ५ का बलबहादुर शाहीले बताउनुभयो । आफु अस्पतालसम्म जादा पनि आवश्यक औषधी नपाउने गरेको र अस्पतालबाट फर्कदै गरेका धेरैको मुखबाट पनि औषधी नपाएर बर्बराउदै फर्केको भेट्ने गरेको बताउनुभयो । जिल्ला अस्पताल उद्घाटन हुँदा स्वास्थ्य सम्बन्धिका सबै सेवा सुविधा जिल्लामै पाइने भयो भन्दै हर्षित भएका जिल्लावासी अहिले अस्पतालमा सामान्य औषधिसमेत नपाउँदा रित्तो हात फर्कन बाध्य परेको उहाँको भनाई छ ।

सिस्ने गाउँपालिका ६ का बसन्तप्रकाश श्रेष्ठले औषधी र आवश्यक जनशक्तिको अभाव हुँदाहुँदै पनि उपलब्ध जनशक्तिबाट भनेजस्तो सेवा प्रवाह हुन नसकेको गुनासो गर्नुभएको छ । आफ्नो लागि नभई अरु बिरामी लिएर अस्पतालसम्म पुग्दा बिरामीलाई गर्ने स्वास्थ्यकर्मीको व्यवहार चित्त बुझ्दो नभएको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, “अस्पतालको प्रशासन पनि निकै फितलो छ । यसको अनुगमण गर्ने संयन्त्र नै छैन की जस्तो महसुस मैले गरेको छु । अस्पताल प्रशासन, अस्पताल व्यवस्थापन समिति, यहाँका स्थानीय सरकार, प्रदेश सरकारसँगै संघ सरकारले ७७ औ जिल्लाको रुपमा स्थापना भएको जिल्लाको अस्पतालको समस्यालाई किन समाधान गर्न सकिरहेका छैनन् ? नागरिकको जिवनसँग जोडिएको संवेदनशिल क्षेत्रको समस्या समाधानमा सुरुबाटै किन कसैले पहल लिन सकिरहेका छैनन् ? नागरिकस्तरबाट अस्पतालको सेवा प्रती गुनासो आकोआइ तर सुन्ने र संबोधन गर्ने निकायले कानमा तेल हालेर बसेको उहाँको भनाई छ ।

यस्तै पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ की सुनिता पुनले पनि रुकुम(पूर्व) अस्पतालमा सुरुबाटै देखिएको औषधी अभावको समस्या समाधान नभएको गुनासो गर्नुभयो । अस्पतालमा औषधी नपाइएपछि डाक्टरले नीजि मेडिकल र रुकुम(पश्चिम) सल्ले अस्पतालतीर पठाउने गरेको उहाँको भनाई छ । जिल्लास्तरको अस्पतालमा आधारभूत स्वास्थ्य सेवा पाउन मुस्किल हुनु दुखद रहेको पुनले बताउनुभयो । पुथा उत्तरगंगा गाउँपालिका २ पेल्माकी सुनीता नेपालीले आफुहरु २ देखी ३ दिनको बाटो हिडेर बिरामीलाई रुकुम(पूर्व) अस्पतालसम्म पुर्याउने गरेको बताउदै यहाँबाट पनि अन्त रिफर गरिदिदा साह्रै दुख लाग्ने गरेको कुरा सुनाउनुभयो । जिल्ला अस्पतालमा सबै प्रकारको सेवा पाइन्छ भन्ने कुरा अहिले आफुलाई भ्रम लाग्न थालेको भनाई उहाँको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यती धेरै लापरबाही हुने गरेको कुरा नागरिकलाई फिटीक्कै चित्त बुझेको छैन् ।

अस्पतालमा औषधि अभाव भएपछि आएका बिरामीलाई जाँच गर्दै उपलब्ध औषधी दिएर अरु मेडिकलबाट किन्नु भनेर पठाउने गरेको रुकुम(पूर्व) अस्पतालका डाक्टर पूर्णबहादुर पुनले बताउनुभयो । स्वास्थ्यचौकीको भवनबाटै जिल्ला अस्पतालको सेवा प्रदान गरिरहेको र त्यसैमा पनि औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या भइरहेको उहाँले बताउनुभयो । “अहिले नेपाल सरकारले ९८ प्रकारका औषधी निशुल्क रुपमा अस्पतालबाट बिरामीलाई दिनुपर्ने सुविधा बनाएको छ,” डाक्टर पुनले भन्नुभयो, “रुकुम(पूर्व) अस्पतालमा ९८ प्रकारको औषधी व्यवस्थाको कुरा त परको हो अहिले मुस्किल मुस्किलले ४०÷४२ प्रकारको मात्र औषधी छ ।”

उहाँले थप्नुभयो, “५० शैयाको अस्पतालमा भौतीक संरचना अभावले जम्मा १२ वटा बेड छन् । सामान्य अवस्थामा अस्पतालमा भर्ना हुने बिरामीलाई १२ वटा बेडले धान्दै आएपनि कहिलेकाही दुर्घटना हुँदा घाइतेलाई बाहीर राखेर पनि उपचार गरेका छौ । ११ जना विशेषज्ञ डाक्टरको दरबन्दि हुँदा पनि विशेषज्ञ डाक्टर एन.एस.आई बाट जम्मा १ जना अस्पतालमा उपलब्ध छन् । ६ जना मेडिकल अधिकृतको दरबन्दि भएपनि दरबन्दिबाट १ जना, छात्रवृत्ती करार र एन.एस.आई.बाट दुई दुई जना छन् । एक जना मेडिकल अधिकृत गनेश चौधरी भने पढ्न बाहिर हुनुहुन्छ । दरबन्दि अनुसारको कर्मचारी र ५० शैया अस्पतालअनुसारको भौतीक संरचना, औषधी नहुँदा सेवा प्रवाहमा निकै समस्या आएको छ । जस कारण सेवाग्राहीबाट पटकपटक आलोचित हुनुपरेको छ ।”

औषधी अभावमा जिल्ला अस्पतालको सेवा प्रवाह प्रभावकारी बन्न नसकेको अस्पतालका फार्मेसी सहायक विश्व नाथले बताउनुभयो । “अहिले अस्पतालमा एन्टिबायोटीक औषधीहरुसँगै इमरजेन्सि इन्जेक्सन पनि अस्पतालमा छैन्” उहाँले भन्नुभयो, “बच्चाको लागि पल्स अक्सिमिटर, अक्सिजन मास्क, नेबुलाइजर मास्क छैन् ।” इन्जेक्सन प्यान्टोप, मेट्रो निराजुल पनि सकिनै लागेको तर थप औषधी तत्काल आउने छाटकाँट नदेखिएको उहाँको भनाई छ । यस अस्पतालमा अन्य औषधीको व्यवस्था तर परैको कुरा हो आधारभूत नभइ नहुने औषधी अभाव सुरुबाटै हुँदै आएको छ । अस्पताल व्यवस्थापन समिति, यहाँका स्थानीय सरकार र प्रदेश सरकारसँग पटक पटक अस्पतालको समस्या राख्दै आएपनि समाधान नभएको अस्पतालले जनाएको छ ।

रुकुम(पूर्व) अस्पतालमा केहि समय अघिबाट अप्रेसन सेवा सुरु भएको छ । यो सकारात्मक पक्ष हुँदाहुँदै पनि डिजिटल एक्सरे सेवा नियमित सञ्चालनको लागि जेनेरेटर नहुँदा बत्ती आउदा मात्र एक्सरे सेवा सञ्चालन गर्न सकिएको अस्पतालका डाक्टर पुनले बताउनुभयो । भएका सामान स्टोर गर्नलाई कोठा समेत नहुँदा एउटै कोठामा भएभरमा सामान थन्क्याउदा चाहिएको बेलामा सामान नभेटिने र प्रयोगमा नआउने गरेको पनि उहाँले बताउनुभएको छ । अस्पतालमा खानेपानीको ट्याङ्की समेत नहुँदा ड्रमको पानी प्रयोग गर्दै आएको र त्यसले नपुग्ने अस्पतालले जनाएको छ । यसैपनि विद्युत सेवा अवरुद्ध हुँदा जिल्ला अस्पतालमै मोबाइल बालेर सेवा दिनुपर्ने अवस्था समेत रहेको छ । जिल्ला अस्पतालको हालत यस्तो हुँदा रुकुम(पूर्व) को कुना कन्दरामा रहेको स्वास्थ्य संस्थाहरुको अवस्था कस्तो होला भनेर हामीले सजिलै अनुमान लगाउन सक्छौ ।

यसअघि स्वास्थ्यचौकीको नाममा १४ रोपनी जग्गा रहेको थियो । सिस्ने गाउँपालिकाले २१ रोपनी जग्गा दिएर ३५ रोपनी क्षेत्रफल भएको छ । त्यसैमा अहिले रुकुम(पूर्व) अस्पतालको ५० शैयाको संरचना निर्माणको काम चलिरहेको छ । भवन निर्माणको काममा पनि ढिलासुस्ती भइरहेको पाइएको छ । भवन निर्माणको काम छिटो सकियो भने व्यवस्थापन, प्रशासन र सेवा प्रवाहको कामलाई चुस्त बनाउन सकिने अस्पताल स्रोतको भनाई छ । जिल्ला अस्पतालमा भनेजस्तो सेवा सुविधा नपाउँदा अझै पनि जिल्लाका नागरिक जटिल प्रकृतिको रोगको उपचारका लागि रुकुमपश्चिम, दाङ, नेपालगञ्ज, काठमाडौँ, चितवन जान बाध्य बाध्य छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओलीले पटकपटक प्रदेश सरकारसँग औषधीको माग गरेपनी औषधी नपठाएको बताउनुभएको छ । अस्पतालमा औषधी अभावले समस्या आएको बताउदै उहाँले समस्या समाधानको लागी औषधी पठाउन पटक पटक आग्रह गर्दा पनी आवश्यक औषधी अस्पताललाई प्रदेश सरकारले नपठाएको बताउनुभयो । सामान्य खालको औषधी अस्पतालमा नपाइदा नागरिकबाट अस्पताललाई हेर्न दृष्टिकोण समेत फेरीन थालेको उहाँको भनाई छ । पछिल्लो समयमा प्रदेश सरकारको मन्त्रीमण्डलले पूर्णता पाएसँगै जिल्लामा औषधी पठाउने आश्वासन पाएपनी अहिलेसम्म औयाधी नआएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ओलीको भनाई छ ।