लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले रुकुम(पूर्व) को विकासको लागि आफु प्रतिबद्ध रहेको बताउनुभएको छ । रुकुम(पूर्व) को भूमे र सिस्ने गाउँपालिकाको पालिकास्तरीय राष्ट्रपती रनिङ शिल्डमा सरिक हुन आउनुभएका सभामुख घर्तीले विभिन्न कार्यक्रमलाई संबोधन गर्ने क्रममा आफु रुकुम(पूर्व) को विकास, समृद्धि र भविष्यको लागि प्रतिबद्ध रहेको बताउनुभएको हो ।

आफु लुम्बिनी प्रदेशको सभामुख भइसकेपछि औपचारिक भ्रमणको सुरुवात रुकुम(पूर्व) बाटै भएको भन्दै आगामी दिनमा रुकुम(पूर्व) को विकास र भविष्यप्रती उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । “रुकुम(पूर्व) प्रदेशको एक मात्र हिमाली र अन्य जिल्लाको तुलनामा पछि परेको जिल्ला हो”, सभामुख घर्तीले भन्नुभयो, “७७ औ जिल्लाको रुपमा स्थापना भएको जिल्लाको पूर्वाधार विकासदेखी लिएर यहाँको हरेक समस्या समाधानको लागी विशेष प्राथमिकताका साथ पहल गर्ने छु ।” यहाँका स्थानीय तहका प्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, पत्रकारहरुसँग यहाँको अवस्था र समस्याको बारेमा जानकारी लिने काम गरेको बताउदै सभामुख घर्तीले सोहीअनुसार यहाँको विकास र बजेटको कुरालाई प्राथमिकता दिन पहल गर्ने उहाँको भनाई छ ।

८ गते रुकुम(पूर्व) आउनुभएका सभामुख घर्तीले ८ गते भूमे गाउँपालिकाको पालिकास्तरीय राष्ट्रपती रनिङ शिल्डको उद्धघाटन गर्नुभएको थियो । ९ गते बिहान भूमेका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रममा सरिक हुनुभएका सभामुख घर्ती त्यसै दिन दिउसो सिस्ने गाउँपालिकाको राष्ट्रपती रनिङ शिल्डको उद्धघाटन गर्नुभयो । अहिले उहाँले सिस्ने गाउँकार्यपालिका सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम गरिरख्नुभएको छ ।