लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पालिकाहरुसंग नीति कानुन कार्यान्वयनको अवस्थाबारे सुझाव संकलन सुरु गर्नु भएको छ । स्थानीय तहसंग प्रदेश सभा कार्यक्रम मार्फत उहाँले सुझाव लिन सुरु गर्नु भएको हो । सभामुख घर्तीमगरको सचिवालय श्रोतका अनुसार सभामुखले रुकुम(पूर्व) बाट छलफल अन्तरक्रिया सुरु गर्नु भएको र प्रदेशका सबै पालिकाबाट सुझाव लिनु हुनेछ ।
लुम्बिनी प्रदेश सभा सदस्य दिल कुमारी बुढा, सरिता पुन, सुरुल पुन, जिल्ला समन्वय समितीका प्रमुख मेघ बहादुर श्रेष्ठ लगायतको सहभागीतामा रुकुम(पूर्व) को भुमे गाउँपालिका र सिस्ने गाउँपालिकामा सुझाव लिनु भयो । फागुन ९ गते भुमे र १० गते सिस्ने गाउँपालिकामा अन्तरक्रिया गरि सुझाव लिइएको हो ।
जिल्लाको सदरमुकाम रुकुमकोटमा आयोजित नीति, कानुन, तथा अन्तरपालिका तह समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले कानुनी असहजता हल गरि पालिकाको कार्य सम्पादनमा सहयोग गर्ने गरि नीति निर्माता र कानुन निर्माण गर्ने बताउनु भयो । कार्य सम्पादनमा सहजता ल्याउन कस्तो नीतिनिर्माता र कानुन बनाउनु पर्छ र जारि भएका कानुन कार्यान्वयनको अवस्था बुझ्न आफु पालिकामा आएको उहाँले बताउनु भयो ।
पालिका आफैमा कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिकाको भुमिकामा रहेकोले जनप्रतिनिधि जिम्मेवार हुनु पर्ने उहाँले बताउनु भयो । प्रदेश सभा सदस्य दिल कुमारी बुढा, सरिता पुन, सुरुल पुनको विशेष उपस्थितिमा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख मेघ बहादुर श्रेष्ठ,उपाध्यक्ष मोहन बहादुर केसी, सिस्ने गापा अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, पुर्ब अध्यक्ष कुमारी बराल, प्रमुख प्रशासकिय अधिकृत बिकास बिक्रम शाह, पालिका सदस्यहरु, वडा अध्यक्षहरु, पालिकाका कर्मचारीहरु सुझाव राख्नु भयो ।
उहाँहरु सार्बजनिक खरिद ऐन, प्रदेश निजामति ऐन छिटो बनाउनु पर्नेमा जोड दिनु भयो । साझा अधिकारको सम्बन्धमा केहि मतभेद रहेकाले त्यसलाई समाधान गर्न प्रदेशले पहल गरिनु पर्ने सुझाव दिनु भयो ।