यूनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) क्ल्ष्टरले विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । यूएमएनले जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको २ नम्बर वडा पेल्मामा रहेको हिमालय आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । दुर्गम क्षेत्रको विद्यालयमा पुगेर यूएमएनले शैक्षिक सामाग्री प्रदान गरेपछि शिक्षक र विद्यार्थी खुसी भएका छन् ।

युनाइटेड मिसन टु नेपालले विगत ३ वर्षदेखि रुकुम(पूर्व) मा कार्यालय स्थापना गरि विभिन्न परियोजनामार्फत गरिव तथा विपन्न समुदायलाई सहयोग गर्दै आएरहेको छ । यु.एम.एन.ले शिक्षासंग सम्बन्धित परियोजनामार्फत जिल्लाको सबैभन्दा दुर्गम पुथा उत्तरगंगा गाउँपालिका वडा नं.२ पेल्मामा रहेको हिमालय आधारभुत विद्यालयलाई विभिन्न शैक्षिक तथा भौतिक सामाग्रीहरु सहयोग गरेको हो ।

कक्षा १ देखि ८ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा २०० विद्यार्थी अध्ययनरत छन । युनाइटेड मिसन टु नेपाल रुकुमपूर्व क्ल्ष्टरले विद्यालयको मागअनुसार कक्षा १ देखि ३ सम्मका कक्षाकोठाहरुमा बालमैत्री कक्षाकोठा व्यवस्थापनको लागि साना टेबुल, पि.फम, कार्पेट, फ्लोरिङ, कुसन, बुक्र्याक, जुत्ता्र्याक लगायतको सामाग्री सहयोग गरेको क्ल्ष्टर टिम लिडर शिब प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार कक्षाअनुसारको क्रियाकलापमाआधारित सिकाइका(Activity Based Learning) र आवश्यक पर्ने स्टेशनरीका सामाग्रीहरु सहयोग गरको छ । यु.एम.एन.द्वारा प्रदान गरिएको सामाग्रीले बालबालिकाहरुको सिकाई उपलब्धी बढ्नुका साथै विद्यालयमा नियमितता बढ्ने आशा गरिएको टिम लिडर अधिकारीले बताउनु भयो ।

दुर्गम बस्तीमा रहेको विद्यालयलाई गरेको सानो सहयोगले ठुलो उपलब्धी ल्याउने र गाउँपालिकाले शिक्षकलाई तालिमलगाएतका बिषयमा सहयोग गर्ने प्रतिबद्घता ब्यक्त गर्दै गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले यु.एम.एन.लाई धन्यवाद दिनुभएको छ ।

शैक्षिक सामाग्री, शिक्षकलाई क्षमता विकास तालिम र कक्षाकोठा शौचालय लगायत पर्याप्त सुविधाको अभावका कारण विद्यालयले गुणस्तरिय शिक्षाप्रदान गर्न नसकेको तितो यथार्थ सुनाउदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक कामीले यो सहयोगपछि केही सहजता आउने अपेक्षा गरेको बताउनुभयो । त्यस्तै शैक्षिक सामाग्रीको सही उपयोगको लागि शिक्षकलाई तालिम आवश्यक रहेकोले गाँउपालिकाको शिक्षा शाखासँग समन्वय गर्ने र प्रदान गरिएको सामाग्रीको दिगो उपयोग गर्ने प्रधानाध्यापक अभिमान ओलीले बताउनुभएको छ ।