
रुकुम(पूर्व) मा टर्कीबाट १६ हजार दाँते ओखरको विरुवा आएका छन् । डिभिजन वन कार्यालय रुकुम(पूर्व) ले टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको विरुवा ल्याएको छ । किसानको माग संकलन गरेर उनिहरुको माग संख्याको आधारमा वन कार्यालयले टर्कीबाट ओखरको विरुवा ल्याएको हो ।
ती १६ हजार ओखरको विरुवा रुकुम(पूर्व) को विभिन्न ठाउँमा भोली फागुन १६ गते एकै साथ लगाइदै छ । लुम्बिनी प्रदेश वन मन्त्रिको प्रमुख उपस्थितीमा विरुवा रोपनको कार्य सुरु गरिने वन कार्यालयका डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्काले जानकारी दिनुभयो । उहाँकाअनुसार ओखरका विरुवा माग गर्दै परेको आवेदनमाथी हेरफेर गरेर एक सय ३८ जना किसानलाई ओखरको विरुवा वितरण गरिएको छ । प्रत्येक किसानले न्यूनतम १० बोट देखी ६६ सम्म ओखरको विरुला लिएका छन् ।
समग्रमा सिस्ने गाउँपालिकामा ७० घरधुरीलाई ८ हजार ३ सय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीलाई ६ हजार ५ सय ४५ र पुथा उत्तरगंगा गाउँपालिकामा २८ घरधुरीलाई २ हजार ६ सय १४ दाँते ओखरको विरुवा वितरण गरिएको डिभिजनल वन अधिकृत खड्काले बताउनुभयो । भोली सिस्ने गाउँपालिकाको ५ नम्बर वडा रुमालबारामा लुम्बिनी प्रदेशका वन मन्त्रि दुर्गाप्रसाद चौधरी, भूमे गाउँपालिका ३ झुङ्लाबाङमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ र पुथा उत्तरगंगा गाउँपालिकाको १३ पिपलतुङमा प्रदेश सांसद सुरुल पुन, दिलकुमारी बुढा, सरिता पुनले एकैसाथ ओखरको विरुवा रोपेर उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।
यी तीन ठाउँको कार्यक्रममा तीन वटै पालिकाका अध्यक्ष र उपाध्यक्ष आ आफ्नो पालिकाको कार्यक्रममा उपस्थित हुनुहुने छ । अन्य ठाउँमा वन कार्यालयका कर्मचारीको निगरानीमा ओखरका विरुवा लागाउने कार्य गरिने छ । वन कार्यालयका अनुसार सिस्ने गाउँपालिकाको १ देखी ८ सम्मका सबै वडा, भूमे गाउँपालिकाको १, ३, ६, ७, ८ र ९ नम्बर वडा तथा पुथा उत्तरगंगा गाउँपालिकाको १, २, ६, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा ओखरको विरुवा लगाइने भएको छ ।
यी वडाको ४० हेक्टर क्षेत्रफलमा भोली एकै साथ १६ हजार विरुवा लगाइने डिभिजन वन कार्यालयले एक कार्यक्रमको आयोजना गरि पत्रकारहरुलाई जानकारी दिएको छ । गत वर्ष पनि वन कार्यालयले फरनर जातकै दश हजार ओखरको विरुवा कसानलाई वितरण गरेको थियो । त्यतीबेला २५ हेक्टर क्षेत्रफलमा ती विरुवा लगाइएको थियो । यसै वर्षमा कार्यालयले जुम्लाबाट हाड्ले जातको एक हजार ७ सय दाँते ओखरको विरुवा ल्याएर वितरण गरिसकेको जानकारी दिएको छ ।
हाडे ओखर प्रशस्त मात्रामा पाइने यस रुकुम(पूर्व) मा दाँते ओखरबाट राम्रो आयआर्जनको सम्भावना छ । तर लगाइएको ओखरको विरुवालाई हुर्काउन भने चुनौती छ । सिंचाईको सुविधा छैन् । किसानसँग आवश्यक ज्ञान नहुँदा पनि ओखर खेतीबाट सफलता हात पार्न सकिन्छ की सकिदैन भन्ने कुरामा अन्यौलता छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुकुम(पूर्व) रोल्पा कार्यालयले पनि जिल्लाको विभिन्न ठाउँमा दाँते ओखरको विरुवा वितरण गर्दै आइरहेको छ ।