रुकुम(पूर्व) मा मन्त्रिको उपस्थितीमा ओखरको विरुवा लगाइएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरीले दाँते ओखरको विरुवा लगाएर रुकुम(पूर्व) मा दाँते ओखरको विरुवा लगाउने कार्यको उद्धघाटन गर्नुभएको हो ।
डिभिजन वन कार्यालय रुकुम(पूर्व) ले टर्कीबाट ल्याएका फरनर जातको १६ हजार दाँते ओखरको विरुवा आज जिल्लाभरी लगाइएको छ । सिस्ने गाउँपालिका ५ को रुमालबारामा मन्त्रि चौधरीसहित लुम्बिनी प्रदेशसाका सदस्य सुरुल पुन, दिल कुमारी बुढा, सरिता पुन, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, पुथा उत्ररगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बुढा लगाएतले विरुवा रोपेर यस कार्यको सुरुवात गर्नुभएको थियो ।
भूमे गाउँपालिकामा प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर घर्ती, जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढालगाएत्ले विरुवा रोपेर सुरुवात गर्नुभएको हो । पुथा उत्तरगंगा गाउँपालिकामा डिभिजन वन कार्यालयको कर्मचारीसँगै वडाका जनप्रतिनिधिको उपस्थितीमा दाँते ओखरको विरुवा रोप्ने कार्य सुरु गरिएको थियो । आज एकै दिन जिल्लाको तीन वटै पालिकामा १६ हजार दाँते ओखरको विरुवा लगाइएको हो ।
ओखरको विरुवा लगाउने कार्यको सुरुवात गर्दै वन तथा वातावरण मन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकारले ओखरी खेतीबाट राम्रो सम्भावना देखेको बताउनुभयो । त्यहि सम्भावनालाई मध्यनजर गर्दै अघिल्लो सरकारले ओखर खेतीमा लगानी गर्दै आएको बताउदै उहाँले त्यसै कार्यलाई अहिले निरन्तरता दिएको बताउनुभयो । मन्त्री चौधरीले किसानकै मागको आधारमा सरकारले लगानी गरेको बताउदै अब सरकारको लगानीलाई खेर जान नदिन किसानले मेहनत गर्नुपर्ने बताउनुभयो । आश्यक परेको ठाउँमा लुम्बिनी प्रदेश सरकार सधै साथमा रहेको पनि बताउनुभयो ।
आज गाउँपालिकाभरीबाट छनोट भएका एक सय ४० जना किसानलाई वितरण गरिएका १६ हजार विरुवा एकैसाथ लगाइएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत जितेन्द्रसिहं खड्काले जानकारी दिनुभयो । प्रत्येक किसानले न्यूनतम १० बोट देखी ६६ सम्म ओखरको विरुवा लगाएका छन् ।
समग्रमा सिस्ने गाउँपालिकामा ७० घरधुरीले ८ हजार ३ सय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीले ६ हजार ५ सय ४५ र पुथा उत्तरगंगा गाउँपालिकामा २८ घरधुरीले २ हजार ६ सय १४ दाँते ओखरको विरुवा एकैसाथ लगाएको डिभिजनल वन अधिकृत खड्काले बताउनुभयो । वन कार्यालयका अनुसार सिस्ने गाउँपालिकाको १ देखी ८ सम्मका सबै वडा, भूमे गाउँपालिकाको १, ३, ६, ७, ८ र ९ नम्बर वडा तथा पुथा उत्तरगंगा गाउँपालिकाको १, २, ६, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा ओखरको विरुवा लगाइएको छ ।
यी वडाको ४० हेक्टर क्षेत्रफलमा आज एकै साथ १६ हजार विरुवा लगाइएको हो ।