रुकुम(पूर्व) मा मतदाता नामावली अद्यावधिक गरिने भएको छ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको अवसर पारेर देशैभर मतदाता नामावली अद्यावधिक गरिदै छ । सोही क्रममा रुकुम(पूर्व) मा आज सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरि मतदाता नामावली अद्यावधिक(दाबी विरोध समेत) को विषयमा छलफल गरिएको छ ।

रुकुम(पूर्व) मा यही फागुनको २२ गतेदेखी २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्य चल्ने जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । उहाँकाअनुसार मतदाता नामावली भरी मतदान हुने मितिभन्दा एक दिन अघि १८ वर्ष पुरा भएकाहरुको नामावली अद्यावधिक गर्न ३१ वटै वडामा २२ गते नामावली प्रकाशन गर्ने र त्यसपछि २६ गतेसम्म दावी विरोध तथा त्रुटी सच्याउनको लागि निवेदन दिनुपर्ने छ ।

यस अवधिमा मतदाता नामावली दोहोरो पर्न गएका, त्रुटी भएका, मृत्यु भएकाहरुको अद्यावधिक गरिने र यसमा सहयोग गर्न स्थानीय सरकार, राजनितिक दललाई जिल्ला निर्वाचन अधिकारी ओलीले आग्रह गर्नुभएको छ । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन पछि रुकुम(पूर्व) ९ जनाले मात्र मतदाता नामावली बनाएको पनि उहाँले अन्तरक्रिया कार्यक्रममा जानकारी गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा समन्वय समिति उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पुनीराज घर्तीको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, भूमे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठ, सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहसँगै विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, पत्रकारको उपस्थिती रहेको थियो ।

कायक्रमको सहजिकरण जिल्ला निर्वाचन अधिकारी ओलीले गर्नुभएको थियो ।