एकीकृत कृषि तथा पशुपपन्छि विकास कार्यालय रुकुम(पूर्व) ले हालसम्म १९.१५ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म आइपुग्दा कार्यालयले १९.१५ प्रतिशत बजेट खर्च गरेको हो । आज पुथा उत्तरगंगा गाउँपालिकाको तक स्थित सभाहलमा स्थानीय तहसँग योजना तर्जुुमा तथा दोस्रो चौमासिक साथै अष्ठमासिक प्रगती समिक्षा गोष्ठिको आयोजना गरि कार्यालयले यस्तो जानकारी गराएको हो ।
चालु आर्थिक वर्षको लागि भनेर प्रदेश सरकारबाट कार्यालयमा आएको कुल बजेट ६ करोड ५८ लाख ८८ हजार रुपैयाँमा हालसम्मको अवधिमा एक करोड २६ लाख १४ हजार रुपैयाँ खर्च भएको प्रगती विवरण प्रस्तुत गर्दै कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी गराउनुभयो । यो खर्च कुल बजेटको तुलनामा हेर्ने हो भने अती नै न्यून हो । तर पहिलो चौमासिकको मात्र भुक्तानी भएको र दोस्रो र तेस्रो चौमासिकको योजनाहरु सम्झौता भएर कार्यान्वयनको अवस्थामा रहेको हुँदा र बजेट भुक्तानी हुन बाकी हुदा र लेखाको कर्मचारी नहुँदा खर्च बजेट कम देखिएको बस्नेतले बताउनुभयो । कतीपय योजनाहरु सम्पन्न भएपनि लेखाको कर्मचारी नहुँदा भुक्तानी दिन सकिएको छैन् । अन्य योजनाहरु सम्पन्न भइसक्दा पनि किसानले आर्थिक वर्षको अन्तिममा भुक्तानी लिने मनसायले कार्यालयमा फाइल पेश नगर्दा पनि खर्च बजेट कम देखिएको कार्यालयले जनाएको छ ।
अहिलेसम्म कार्यालयले सिंचाइसहित कृषि विकास कार्यक्रम, कृषि तथा पशुपन्छि प्रविधि प्रदर्शनी, मागमा आधारित कृषि तथा पशुपन्छि विकास कार्यक्रम सञ्चालन गरेको छ । यस्तै मासु पसल सुधार कार्यक्रम, ग्रामीण कुखरा पालन कार्यक्रम, प्राङ्गारिक मल उत्पादनको लागि भकारो सुधार वा गोठ सुधार कार्यक्रम, मौरी विकास कार्यक्रम, लसुन प्याज प्रवद्र्धन लगाएतका कार्यक्रम सञ्चालन गरिएको प्रगती समिक्षा गोष्ठिमा प्रमुख बस्नेतले जानकारी गराउनुभएको छ ।
कृषि तथा पशुपन्छिजन्य उद्योग यन्त्र तथा पुर्वाधार विकास कार्यक्रम अन्तर्गत भूमे गाउँपालिकामा निर्माण हुने रष्टिक स्टोरको प्राविधिक स्टिमेट स्विकृतको लागि निर्देशनालयमा पठाएको तर स्विकृत भइ नआएको, स्याउ प्रशोधन उद्योग स्थपना तथा सञ्चालनको लागि आवेदक कृषक समुह, सहकारीको नाममा जग्गा नहुँनुलाई कार्यालयले प्रगती नपुगको मुख्य कारणको रुपमा उल्लेख गरेको छ । यस्तै कृषि उत्पादन खाद्य तथा पोषण सुधार आयोजना अन्तर्गत घाँसे बाली स्रोत केन्द्र स्थापना, कृषि तथा पशुपन्छि स्रोत तथा प्रविधि सेवा टेवा विस्तार अन्तर्गत भेडा, बाख्रा मल्टिपलाएर हर्ड स्थापना, जैविक तथा वनस्पती विषादी उत्पादन तथा प्रवद्र्धन कार्यक्रमको लागि दुई दुई पटकसम्म सुचना निकाल्दा पनि कसैको आवेदन नपर्नुलाई कार्यालयले खर्च कमको मुख्य कारणको रुपमा उल्लेख गरेको छ ।
चालु आर्थिक वर्षमा कार्यालयसँग सहकार्य गरेर काम गर्नेमा कृषक समुह १३ प्रतिशत, कृषि सहकारी ३ प्रतिशत र कृषि फर्म ८४ प्रतिशत रहेका छन् ।
यसैगरी तीन वटै गाउँपालिकाको कृषि र पशु शाखाले गरेको कामको पनि प्रगती समिक्षा गरिएको छ । भूमे गाउँपालिकाको कृषि शाखामा चालु आर्थिक वर्षको लागि २ करोड ८६ लाख ९३ हजार बजेट विनियोजन भएकोमा हालसम्म ७८ लाख ७३ हजार अर्थात २७.४३ प्रतिशत बजेट खर्च भएको भूमे गाउँपालिका कृषि शाखाका नाप्रास शिखर विश्वकर्माले जानकारी गराउनुभयो । भूमेको पशु सेवा शाखामा ४२ लाख बजेट विनियोजन भएकोमा हालसम्म १९ लाख बजेट खर्च भएको पशु सेवा शाखाका नारायण ओलीले जानकारी दिनुभयो । पुथा उत्तरगंगा गाउँपालिकाको कृषि शाखामा चालु आर्थिक वर्षमा एक करोड ६७ लाख बजेट विनियोजन भएकोमा हालसम्म २१ प्रतिशत बजेट खर्च भएको कृषि शाखा प्रमुख ओमप्रकाश ओलीले जानकारी दिनुभएको छ भने पशु सेवा शाखामा ९९ लाख बजेट विनियोजन भएकासेमा २५ लाख ७२ हजार ८ सय ६४ रुपैयाँ बजेट भुक्तानी भएको पशु सेवा शाखा प्रमुख भिमप्रकाश केसीले जानकारी दिनुभयो । यस्तै सिस्ने गाउँपालिकाको कृषि शाखामा एक् करोड ३२ लाख बजेट विनियोजन भएकोमा ४० प्रतिशत खर्च भएको कृषि शाखा प्रमुख दिनेश ओलीले जानकारी दिनुभयो । पशु सेवा शाखामा ३० लाख बजेट विनियोजन भएकोमा १६ लाख खर्च भएको छ ।
एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, सिस्ने गाउपालिका अध्यक्ष कृष्ण रेग्मि, पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीको विशेष आतीथ्यता रहेको थियो । सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा, कोष तथा लेखा नियन्त्रक नरेन्द्र बुढा मगर, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम(पूर्व) रोल्पाका कार्यालय प्रमुख मित्रलाल पौडेल, डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्कासँगै तीन वटै गाउँपालिकाका कृषि र पशु शाखाका प्रमुख एव् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन कंडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले गर्नुभएको थियो ।