सिस्ने शिक्षा क्याम्पसमा वि.एड. दोस्रो वर्षमा अध्यनरत पूर्णीमा बुढाथोकी बिहान क्याम्पसको अध्ययन सकेर ठिक १० बजे जिल्ला प्रशासन कार्यालयको नागरिक सहायता कक्षमा देखिनुहुन्छ । उहाँले जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न काम लिएर पुग्ने सेवाग्राहीलाई समस्या नपरोस भनेर सहजिकरणको भूमिका खेलिरहनुभएको छ ।
पूर्णीमासँगै विएड प्रथम वर्षमा अध्यनरत पवित्रा बुढा पनि बिहानको पढाइ सकाएर दिनभरी नागरिक सहायता कक्षमै गएर प्रशासनमा आउने सेवाग्राहीलाई सेवा दिनुहुन्छ । उहाँहरु दुवै जनाको यो काम एक सातासम्म चलिरहने छ । फेरी अर्को साता यही कक्षमा क्याम्पसका नयाँ दुई अनुहार देखिने छन् ।
२०७९ फागुन १० गते जिल्ला प्रशासन कार्यालयले नागरिक सहायता कक्ष स्थापना गरेर सेवा प्रवाहलाई थप सहज बनाउने प्रयास गरेको छ । सिस्ने गाउँपालिका ५ मा अवस्थित जिल्लाको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पससँगको सहकार्यमा अहिले नागरिक सहायता कक्ष सञ्चालनमा रहेको छ । सहायता कक्षमा विद्यार्थीले स्वयमसेवकको रुपमा काम गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयमा विभिन्न काम लिएर कोही दर्जनौ पटक पुगिसकेका हुन्छन् भने कोही पहिलो पटक पनि पुगेका हुन्छन् । पहिलो पटक प्रशासन कार्यालयसम्म पुगेकाहरुलाई कुन कोठामा जादा के सेवा पाइन्छ भन्ने समेत थाहा हुँदैन् । सेवा लिने क्रममा पनि प्रक्रिया के हुन्छ भनेर राम्रोसँग बुझेका हुदैनन् । त्यस्ता नागरिकलाई सेवा प्रक्रिया र कुन कोठामा जादा के सेवा पाइन्छ भनेर जानकारी गराउने काम अहिले नागरिक सहायता कक्षबाट भइरहेको छ । यसबाट सेवाग्राहीलाई धेरै सहज भएको छ ।
पुथा उत्तरगंगा गाउँपालिमा १४ का रमन विकले नागरिक सहायता कक्ष र यसबाट नागरिकलाई पर्न गएको सुविधाको मात्र नभई पछिल्लो समयमा फेरीएको जिल्ला प्रशासन कार्यालयको स्वरुप र यहाँको नेतृत्वको प्रशंसा गर्नुभयो । नागरिक सहायता कक्षबाट सेवा प्रवाह हुन थालेपछि विभिन्न कामको लागि प्रशासन कार्यालयसम्म पुग्नेहरुलाई सहज भएको महसुस आफुले गरेको विकले सुनाउनुभयो । अर्का सेवाग्राही सर्मिला बुढामगरले हातमा कागजात समाएर यो सिफारिस लिएर कहाँ जाने हो भनेर सोध्दै गर्दा कार्यालय परिसरमै भएको एक जनाले नागरिक सहायता कक्षमा जानु भनेर सिकाएको त्यहाँ गएर आफुले लिने सेवाको बारेमा पूर्ण जानकारी लिएको सुनाउनुभयो ।
भूमे गाउँपालिका १ का वडाध्यक्ष मनकाजी पुनले नागरिक सहायता कक्षले अलमलमा परेका नागरिकलाई कोठा सिकाइदिने र यसले उनिहरुको समय पनि बचत हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “जिल्ला प्रशासन कार्यालयमा निकै राम्रो कामको सुरुवात भएका छन् । यी कामले पछिसम्म पनि निरन्तरता पाए जिल्लाबासीलाई धेरै सहज हुने छ ।”
“प्रत्येक दिनमा पास्पोर्ट, नागरिकता, राहदानी, परिचयपत्र बनाउन आउनेहरुको भिड हुन्छ”, बुढाथोकीले भन्नुभयो, “कोही फर्म नै भर्न नजानेकाहरु हुन्छन् त कोही कुन कोठामा जादा के सेवा पाइन्छ भनेर थाहाँ नपाई अलमलमा परेर बाहिरै बसिरहेका हुन्छन् ।” त्यस्ता सेवाग्राहीको फर्म भरिदिने, नपुगेको प्रक्रियाहरुलाई सुल्झाइदिने र कोठा सिकाइदिनेसँगै दिनभरी आउने सेवाग्राहीको विवरण संकलन गर्ने लगाएतका काम गर्ने गरेको उहाँको भनाई छ । यसरी क्याम्पसको विद्यार्थी भएर नागरिक सहायता कक्षमा बसी स्वयमसेवा गर्न पाउदा खुसी लागेको उहाँ सुनाउनुहुन्छ ।
अर्का विद्यार्थी पवित्रा बुढा भन्नुहुन्छ, “स्वयमसेवकको रुपमा प्रशासनका काम गर्न पाउदा खुसी त छौ नै । हामीलाई पनि सार्वजनिक सेवा प्रवाहको बारेमा ज्ञान र अनुभव बटुल्ने एउटा सुनौलो अवसर बनेको छ । यो अनुभव र ज्ञानले पक्कै पनि भोलीका दिनमा हामीलाई सहयोग गर्ने छ ।” उहाँहरु दुई जनाको भन्दा फरक भनाई नागरिक सहायकता कक्षमा बसेर सेवा दिनुभएका अन्य विद्यार्थीको छैन् ।
नागरिक सहायता कक्ष स्थापना गरेर सेवा दिन थालेपछि जिल्ला प्रशासन कार्यालय आफैलाई पनि आफुले दिने सेवामा केहि सहजता थपिएको महसुस गरेको छ । सहायता कक्षमा बसेका विद्यार्थीले प्रशासनसम्म आएर अलमलमा परेका सेवाग्राहीलाई डोर्याएरै कार्यकक्षसम्म पुर्याइदिने गरेको राष्ट्रिय परिचय पत्र शाखामा काम गर्ने कम्यूटर अपरेटर निकिता मल्ल गौतमले बताउनुभयो । कर्मचारीहरु सबै अफिसमा सेवाग्राहीकै काममा व्यस्त हुने हुदा बाहीर आएर घण्टौ कुर्ने गरेका र केहि प्रक्रिया पुरा नगरि आएका सेवाग्राहीलाई सेवामा सहजताको लागि स्वयमसेवकको रुपमा काम गरिरहेका विद्यार्थीले धेरै राम्रोसँग सहजिकरण गरिरहेको उहाँले प्रतिक्रिया दिनुभयो ।
फागनु १० गतेबाटै सिस्ने शिक्षा क्याम्पसका विद्यार्थीहरु प्रत्येक सातामा दुई दुई जना गरि नागरिक सहायता कक्षमा गइ सेवा प्रवाह गरिरहेका छन् । क्याम्पसका प्रमुख तिव्र गौतमले यसरी स्वयमसेवकको रुपमा काम गर्न विद्यार्थी निकै उत्साहित भएको बताउनुभएको छ । पहिलो चरणमा नागरिक सहायता कक्षमा स्वयमसेवाको लागि ५० जना विद्यार्थी खटाउन सक्ने उहाँको भनाई छ । यसरी जिल्ला प्रशासनसँग प्रत्यक्ष रुपमा सहकार्य गर्न पाउदा क्याम्पसको समुदायसँगको सम्बन्ध पनि विस्तार हुँदै गएको क्याम्पस प्रमुख गौतमले बताउनुभयो ।
पहिला जिल्ला प्रशासन कार्यालयमा नागरिक सहायता कक्ष भएपनि नामको मात्र थियो । अहिले काम पनि सुरु भएसँगै सेवाग्राहीलाई धेरै सहज भएको प्रतिक्रिया नागरिकस्तरबाट आउन थालेको छ । प्रशासनै भएका कर्मचारीलाई सहायता कक्षमा खटाउदा काम भ्याइनभ्याइ हुने भएको हुँदा क्याम्पससँगको सहकार्यमा सहायता कक्ष सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । उहाँकाअनुसार साक्षर व्यक्तिको लागि शाखा छुट्याउने गरि साइनबोर्ड राखिएको छ भने लखेको कुरा पढन् नसक्नेहरुलाई सोधपुछको लागि नागरिक सहायता कक्षले ठुलो सहयोग गरेको छ ।
“सहायता कक्षले प्रशासनको सेवालाई थप प्रभावकारी बनाएको छ”, प्रमुख जिल्ला अधिकारी सनुवारले भन्नुभयो, “विद्यार्थी पनि सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष रुपमा जोडिएर काम गर्न र नयाँ कुराको अभ्यास गर्न पाएका छन् ।” यसरी थालिएको नयाँ अभ्यासले धेरै नागरिकलाई सहज हुने अपेक्षा लिएको उहाँको भनाई छ ।