रुकुम(पूर्व) मा जलवायु परिवर्तन र विपद जोखिम न्यूनिकरणका लागि स्थानीय संचारकर्मीको भूमिका सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यूनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) क्लष्टरको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम(पूर्व) को समन्वय र मिक नेपालको आयोजनामा सञ्चालन गरिएको जलवायु परिवर्तन र विपद जोखिम न्यूनिकरण्णका लागि स्थानीय सञ्चारकर्मीहरुको भूमिका विषयक हिजोबाट सुरु भएको दुई दिने अभिमुखीकरण गोष्ठि आज सम्पन्न भएको हो ।

दुई दिनसम्म चलेकोे गोष्ठिमा जलवायु परिवर्तन, परिवर्तनका कारण, यसबाट पर्ने असर र न्यूनिकरणका उपायसँगै यसमा सरकारले व्यवस्था गरेका नीति नियमका कुराहरुको बारेमा छलफल तथा जानकारी गराइएको छ । साथै प्राकृतीक र अप्राकृतीक प्रकोप, विपदको जोखिम, न्यूनिकरणको उपाय, राहत, उद्धार कसरी गर्ने र यी प्रकोप, विपद आउनुअघी र आइसकेपछि सञ्चारकर्मीको भूमिका के हुन सक्छ भन्ने विषयमा छलफल गरिएको छ ।

दुई दिनसम्म अभिमुखीकरण गोष्ठिको सहजिकरण केयर नेपालका रामबहादुर मिजालले गर्नुभएको थियो । गोष्ठिमा जिल्लास्थित पत्रकारहरुको उपस्थिती रहेको थियो । दुई दिने अभिमुखीकरणमा गरिएको छलफलपछि कार्ययोजनाको खाका पनि तयार पारिएको यूएमएनका दिगो जिविकोपार्जन तथा आर्थिक विकास परियोजना व्यवस्थापक सुरज सुनारले जानकारी दिनुभयो ।

मिक नेपालका अध्यक्ष धनबहादुर घर्ती, सल्लाहकार भिउमान घर्ती, यूएमएनका सुरज सुनार, मिक नेपालका उत्तम विक, प्रशिक्षक केयर नेपालका रामबहादुर मिजाल लगाएतको उपस्थितीमा दुई दिने अभिमुखीकरण गोष्ठिको समापन गरिएको हो ।