ढुङ्गा र माटोको गारो, घर माथी जोडिएका घर, सेता हिमाल, रङ्गीबिरङ्गी फूलहरुको बगैचाँ बुकी पाटन, कलकल बग्ने नदि, ताल, मानिसलाई दङ्गै पार्ने खालका मौलिक कला÷संस्कृती रुकुम(पूर्व) को पहिचान हो । अझ भनौ लुम्बिनी प्रदेशको एक मात्र हिमाली र अर्गानिक जिल्ला, अनी अर्गानीक चालचलन, रहनसहन र बोली भाषाले रुकुम(पूर्व) को छुट्टै पहिचान झल्किन्छ । रुकुम(पूर्व) लाई चिन्ने अर्को नाम हो ५२ पोखरी ५३ टाकुरीको जिल्ला । तर अहिले ती ५२ पोखरी कहाँ र कस्ता थिए भन्ने कसैलाई थहा छैन् अनी ती त्रिपन्न टाकुरीको बारेमा पनि सबै बेखबर नै छन् ।

पर्यटकिय हिसावले थुप्रै सम्भावना बोकेको रुकुम(पूर्व) ले अहिलेसम्म कायम राखेको पहिचान अब भने गुम्छ की भन्ने पिर सबैमा पर्न थालेको छ । पर्यटन क्षेत्र विकासको सम्भावनालाई चुनौतीकै माझबाट अगाडी बढाउन नसक्ने हो भने अर्गानिक जिल्लाको अर्गानिक पहिचान गुम्ने खतरा रहेको यहाँका सरोकारवालाहरुले बताएका छन् । लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय पर्यटन विकास परिषद वुटवलले रुकुमकोटमा आयोजना गरेको रुकुम(पूर्व) जिल्लामा दिगो पर्यटन विकासका सम्भावनाहरु विषयक गोष्ठिमा बोल्नेहरुले यस्तो बताएका हुन् ।

होटेल व्यवसायी संघ रुकुम(पूर्व) का अध्यक्ष सुनिल रोका मगरले यस जिल्लामा युद्ध पर्यटन, प्राकृतिक, सांस्कृतिक, साहसिक, धार्मिक पर्यटन विकासको ठुलो सम्भावना रहेको बताउनुभयो । त्यसको लागि विज्ञहरुसँगको छलफलबाट एकिकृत योजना निर्माण गरि कार्यान्वयनमा जान सके जिल्लाको पर्यटन क्षेत्रको विकास हुने र त्यसबाट आर्थिक लाभ लिएर समृद्ध रुकुम(पूर्व) बनाउन सकिने रोकाले बताउनुभयो ।

भूमे गाउँपालिकाको पूर्व पालिका अध्यक्षसमेत रहनुभएका रामसुर बुढा मगरले पर्यटन क्षेत्रमा रुकुम(पूर्व) सँग प्रकृती, संस्कृती र इतीहास रहेको बताउनुभएको छ । यी तीन वटा कुरालाई लिएर मार्केटिङ र ब्रान्डीङ गर्न सकियो भने पर्यटनको क्षेत्रमा धेरै फड्को मार्न सकिने बुढाले बताउनुभयो । “हामी माझमा भएको मौलिक कला, संस्कृती लोप हुदै छ” बुढाले भन्नुभयो, “मानिसको बसोबासदेखि लिएर जिवनशैली पनि पुरै परिवर्तन हुँदै गएको छ ।” यहि अवस्था चल्ने हो भने केहि वर्षमै यहाँको मौलिक पहिचान मेटिएर जान सक्ने खतरा रहेको उहाँको भनाई छ ।

सिस्ने गाउँपालिका पूर्व अध्यक्षसमेत रहनुभएकी कुमारी बराल भन्नुहुन्छ, “हामीसँग प्रकृतीले दिएका सुन्दर उपहारहरु हिमाल, नदी, तालतलैया, गुफा, बहुमुल्य जडिबुटी सबै छन् । मौलिक कला संस्कृती छन् । यीनै कुराहरुलाई संरक्षण र व्यवस्थापन गरेर जान सके गजब हुन्थ्यो । तर काम गर्ने कुरामा निकै नै चुनौती छ ।” उहाँ थप्नुहुन्छ, “रुकुम(पूर्व) ऐतिहासिक र जनयुद्धको उद्धगम थलो हो । यसलाई युद्ध पर्यटनको रुपमा विकास गर्न सकिन्छ । पर्यटन पदमार्ग, गुरिल्ला पदमार्गको विकास गर्न सकिन्छ । सिस्ने, पुथा हुँदै धौलागिरीसम्म जोडिन सके पर्यटन क्षेत्रबाट राम्रो लाभ लिन सकिन्छ ।” सम्भावना थुप्रै हुदाहुँदै पनि समन्वय, सहकार्य, कार्ययोजना अभावसँगै रुकुम(पूर्व) लाई हेर्ने प्रदेश संघ सरकारको परको दृष्टिकोणले यहाँको पर्यटन क्षेत्रको विकास हुन नसकेको उहाँको भनाई छ ।

हजारौ वर्ष पुराना घरहरुको बस्ति तकसेरा जस्ता ठाउँ अहिले पर्यटकको रोजाइमा पर्दै गएको भूमे गाउँपालिका १ का वडाध्यक्ष काजीमान पुनले बताउनुभयो । त्यस्तै खालका अन्य पुराना बस्तिहरु लुकुम, कोल, राङ्सी, मैकोट, काँक्रि, हुकाम रहेको बताउदै अब यी बस्तिहरुको स्वरुप परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । “सडक विस्तारसँगै बालुवा सिमेन्ट गाउँबस्तिमा पुगिसकेको छ”, उहाँले भन्नुभयो, “ढुङ्गा र माटोको ठाउँमा सिमेन्ट बालुवा, काठ र ढुङ्गाको छानोको ठाउँमा जस्ताको पाता टल्किन थालेका छन् ।”

यस्तै भूमे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठले पर्यटन विकासको लागि पर्यटकिय स्थलको पहिचान र तीनिहरुको प्रोफाइल तयार गर्ने, पर्यटन विकासको योजना निर्माण गर्ने, अन्य स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रसँग अन्तरसम्बन्ध कायम गर्ने, पर्यटन प्रवद्र्धन, संस्कृती, मौलिकता र स्थानीय अर्थतन्त्रबिच सामन्जस्य गर्ने गरी क्रमश काम गर्न गरे पर्यटन क्षेत्रबाट जिल्लालाई ठुलो टेवा पुग्ने बताउनुभयो । “हाम्रो जिल्लाको मौलिकता मासिदै जानु सबैको चिन्ताको विषय बनेको छ”, प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले भन्नुभयो, “मौलिकता नमर्ने गरि विकासलाई पनि जोड दिनुपर्छ ।” कुनै एक ठाउँको पर्यटकीय क्षेत्रको विकास गर्दा त्यस नजिकका गन्तव्यलाई जोडर काम गर्दा त्यसबाट धेरै लाभ लिन सकिने उहाँको भनाई छ ।

यस्तै सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले जिल्लामा भएका सबै पर्यटकिय गन्तव्यको मुख्य केन्द्र रुकुमकोट भएकाले यहाँबाट पर्यटकिय क्षेत्रको संरक्षण, विकास र व्यवस्थापनको कार्यलाई सुरु गर्नुपर्ने बताउनुभयो । “अहिले जिल्लामा जती पनि पर्यटकिय क्षेत्रहरु छन् त्यहाँसम्म पुग्नलाई सहज बाटो, बासको लागि होटेल, सुरक्षा लगाएत थुप्रै कुराको सुविधा पुर्याउन तथा व्यवस्था गर्न सकिएको छैन्”, प्रमुख प्रशासकिय अधिकृत शाहले भन्नुभयो, “यी सबै कुराको विकास गर्न स्थानीय सरकारको बजेटले मात्र पुग्दैन् ।” तीनै तहको सरकारसँगै अन्य नीजि क्षेत्रको पनि यसमा सहयोग तथा लगानी आवश्यक पर्ने उहाँको भनाई छ । साथै उहाँले एकै पटकमा धेरै पर्यटकिय क्षेत्रको विकासमा जोड गर्नुभन्दा निश्चित केहि गन्तव्यलाई छनोट गरेर ती क्षेत्रको पूर्ण रुपमा विकास, विस्तार, प्रचारप्रसार तथा पर्यटक भित्र्याउनेतर्फ ध्यान केन्द्रित गर्न सुझाउनुभयो ।

लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले लुम्बिनी वार्षिक १८ लाख धार्मिक पर्यटकहरु भित्रिने गरेको बताउनुभयो । लुम्बिनीमा आउने ती पर्यटकलाई प्रदेशका अन्य पर्यटकिय गन्तव्यमा कसरी जोड्न सकिन्छ भनेर कार्ययोजना बनाउन लुम्बिनीका १२ वटै जिल्लामा दिगो पर्यटन विकासका सम्भावनाहरुको बारेमा छलफल तथा अन्तरक्रिया गरेको बताउनुभयो । यसै छलफलको क्रममा आएका कुराहरुलाई मध्यनजर गर्दै पर्यटकिय गन्तव्य छनोट गर्ने र ती क्षेत्रको विकास, प्रचारप्रसार गर्ने र पर्यटक भित्र्याउने कुरामा जोड दिने कार्यकारी निर्देशक जोशीले बताउनुभयो । “सोहिअनुसार सबै पालिकालाई आफ्नो क्षेत्रभित्र रहेका पर्यटकिय गन्तव्यको नाम पठाउन आग्रह गरेका छौ”, कार्यकारी निर्देशक जोशीले भन्नुभयो, “पालिकाले पठाएका गन्तव्य मध्येमा मुख्य गन्तव्यलाई छनोट गरि मेला महोत्सव सञ्चालन गर्ने छौ ।”

यसैअनुसार पर्यटन प्रवद्र्धनको लागि रुकुम(पूर्व) मा यसै आर्थिक वर्ष भित्र भूम्या मेला र यार्सा ट्रेल मेला सञ्चालन गरिने भएको छ । सिस्नेमा भने आउदो नयाँ आर्थिक वर्षको भदौ महिनाभित्रमा सिस्ने भिजिट मेला सञ्चालन गर्ने सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले जानकारी दिनुभयो ।

रुकुम(पूर्व) मा ७,२४६ मिटरको उचाईमा रहेको धौलागिरी द्वितीय हिमशृङ्खलाको पश्चिम छेउमा अवस्थित लुम्बिनी प्रदेशको सबैभन्दा अग्लो पुथा हिमाल, ५,९११ मिटर उचाइ रहेको सिस्ने हिमाल ६,५३६ मिटर उचाई रहेको दोगारी हिमाल छन् । यस्तै अर्को हिमाल हो साम्जाङ । यो हिमालको उचाई ५,६२४ मिटर रहेको छ । यस्तै ५,८३३ मिटर उचाई रहेको ङिम्कु हिमाल पनि रुकुम(पूर्व) मै पर्दछ ।

कमल दह, सिस्ने हिमालको फेदमा रहेका गुप्ता दह, पुथा उत्तरगंगामा रहेको पुपाल दह यहाँका अन्य प्रमुख पर्यटकिय गन्तव्य हुन् । देउराली गुफा, मि कुङ, सुनारी कुङ र चादी कुङ गुफा साथै यहाँका तातोपानीका मुहानहरुले पनि पर्यटक तानीरहेका छन् । उत्तरगंगा, सानीभेरी, लुकुम गाड, पेल्मा खोला, रन्माखोला, रुजीखोला, चुन्वाङखोला, कोर्जाखोला, छिपखोला आदी यहाँका प्रमुख नदी तथा खोलाहरू हुन् ।

रुकुम(पूर्व) हिमाली भेग भएकाले कस्तुरी, नाउर, झारल, हिमचितुवा, रेडपाण्डा, आदि वन्यजन्तु पाइन्छन् । नेपालकै एकमात्र वन्यजन्तु सिकार आरक्ष ‘ढोरपाटन सिकार आरक्ष’को ६० प्रतिशत भूभाग यस जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा पर्दछ । सिकारका लागि अनुमति प्राप्त ब्लकहरु सेंखोला, सुनदह, दोगाडी र गुस्तुङ ब्लक यसै पालिकाको १, २ र ३ नम्बर वडामा पर्छन् ।

रुकुम(पूर्र्व) मौलिक कला, संस्कृती र भेषभुसाले भरिपूर्ण छ । मगर बाहुल्यता रहेको यस क्षेत्रका मानिसहरुका आ–आफ्नै रहनसहन र संस्कृती छन् । भूम्या नाँचसँगै, नचारु अर्थात ढोङ्गे नाँच, मयुर नाँच, झोरेनी नाँच, सिंगारु नाँच, झाक्रि नाँच, पैसेरु नाँच यहाँको मौलिक कला संस्कृतीको रुपमा छन् ।