रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले किशोरी तथा महिलालाई आत्मरक्षाको लागि तालिम प्रदान गरेको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले पालिकाभित्रका ८ वटै वडाका ५÷५ जना किशोरी तथा महिलालाई आत्मरक्षा तालिम प्रदान गरेको हो । टाढाको वडा १ नम्बरबाट भने एक जनाको मात्र सहभागिता रहेको थियो ।

तालिम सिस्ने गाउँपालिकामा यसै साताको आइतबार र सोमबार चलेको थियो । पहिलो दिन सैद्धान्तिक कुराहरुको जानकारी गराइएकोामा दोस्रो दिनमा भने आत्मरक्षा कसरी गर्न सकिन्छ भनेर प्रयोगात्मक रुपमै सिकाइएको थियो । हिंसा, हिंसाका कारण, असर, सभ्य समाज निर्माणमा किशोरी र महिलाको भूमिका, जिल्लामा भएका हिंसाका प्रकार, आत्म सुरक्षा कसरी गर्ने, ओसिएमसी के हो, यसबाट पाइने सेवा प्रवाह, प्रक्रिया, मनोपरामर्शलगाएतका कुराहरुको बारेमा जिल्ला प्रहरी प्रमुख डिएसपी अन्जना श्रेष्ठ, प्रहरी निरीक्षक कृष्ण खत्री, ओसीएमसी फोकल पर्सन डिला भुसालले जानकारी गराउनुभएको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालयको सहजिकरणमा तालिममा सहभागि भएका महिला तथा किशोरीहरुलाई उनिहरुमाथी हुने हुने हिंसा अर्थात कसैले कपाल, कम्मर, घाटी समात्यो भने कसरी फुस्कने र आफुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर सिकाइएको थियो ।

अहिले समाजमा माहिला तथा किशोरीमाथी थुप्रै खालका दुव्र्यवहार र हिंसा हुने भएकाले त्यस्ता घटना भइहालेको खण्डमा उनिहरुले आफुलाई कसरी सुरक्षित राख्न सक्छन् भन्ने कुरा सिकाउन तालिमको आयोजना गरेको सहायक महिला विकास निरीक्षक सुनिता खड्काले जानकारी दिनुभयो । तालिम प्रभावकारी भएको सहभागिहरुले प्रतिक्रिया दिएका छन् ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले घटना भइसकेपछि प्रतिरक्षा गर्न सिक्नु र सक्नु राम्रो कुरा भएको बताउदै घटना हुन नदिने कुरामा सबै सजग हुनुपर्ने बताउनुभयो । हिंसा अहिले महिला र पुरुष दुवैबाट भइरहेको बताउदै पुरुषबाट महिला अली बढी हिंसामा पर्ने गरेको बताउनुभयो । आगामी दिनमा पनि यस्तौ खालका तालिमको आयोजना गर्ने र महिला तथा किशोरीहरुलाई थप सशक्त बनाउनेतर्फ गाउँपालिका लाग्ने उहाँको भनाई छ । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले गाउँपालिकाले शारिरिक रुपमा समस्यामा परेकाहरुलाई सेफ हाउसमार्फत सेवा दिइरहेको बताउनुभयो । कानुनी सहायताको लागि पनि सहजिकरण गरिरहेको बताउदै स्थानीय सरकार नजिकको सरकार रहेकाले समस्यामा परेकाहरुले नहिचकिचाई समस्या राख्न आग्रह गर्नुभएको छ ।