आधा धर्ती आधा आकाशको उपमा दिएर महिलालाई चिनिन्छ । सबैलाई थाहा छ, महिला रोकिय संसार रोकिन्छ । महिलाको हक अधिकार सुनिश्चित हुनुपर्छ भन्दै विभिन्न आवाजहरु उठिरहेकै छन् । महिलाको हक अधिकारलाई नीतिगत रुपमा सुनिश्चित गर्ने प्रयास गरेको पनि देखिन्छ । तर कार्यान्वयनको पाटोमा हेर्दा उपलब्धि खासै देखिदैन् । महिला पुरुष एक रथका दुई पाङ्ग्रा हुन भनी उदाहरण मात्र दिने गरिन्छ । व्यवहारमा उतारेको सजिलै देख्न र भेट्न सकिएको छैन् ।
विकसित शहरमा त महिलाले आफुले आफुलाई खुला रुपमा पाउन सकेका छैनन् । ग्रामीण क्षेत्रको के कुरा गर्नु । हाम्रो समाजले महिलालाई चुलोचौकोमा सिमित पारेको छ । घर धान्न र पराईका घरमा जानको लागि जन्मिएको भनेर त्यसैअनुसारको वातावरणमा हुर्काइन्छ । सब कुरामा महिला र पुरुषबिचको भिन्नताले महिलाको हक अधिकारको लागि उठ्ने गरेका आवाजहरु दबिएरै रहने गरेका छन् ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाकी शोनिसा शाही क्षेत्रिय भलिबल गेमको प्लेयर हुनुहुन्छ । उहाँ जिल्लाको विभिन्न ठाउँमा हुने भलिबल प्रतियोगितामा भाग लिन टिम बनाएर जानुहुन्छ । उहाँको टिम विभिन्न ठाउँमा गएर प्रथम पनि हुने गरेको छ । अहिलेसम्म जतीपनि प्रतियोगितामा उहाँ सहभागी हुनुभयो, त्यती ठाउँमा पुरस्कार राशीमा महिला र पुरुषको बिचमा विभेद देखिएको उहाँको भनाई छ । “रुकुम(पूर्व) सँगै अन्य विभिन्न छिमेकी जिल्लाहरुमा पनि भलिबल प्रतियोगिताको लागि पुगेको छु”, उहाँले भन्नुभयो, “सहभागी भएको ठाउँमा प्रथम स्थान हासिल गर्न पनि सफल भएका छौ । तर पुरस्कार पाउदा प्रथम आउने पुरुष समुहले ५० हजार पाउदा उही प्रथम स्थान हासिल गर्ने महिलाको समुह हामीले २५ हजार पुरस्कार साथमा लिएर आएका छौ ।” यसरी पुरस्कार राशीमा महिला र पुरुष बिचमा देखिने यो विभेद अन्त्य भइदिए हुने थियो भन्ने लागेको उहाँले सुनाउनुभयो ।
यस्तै भूमे गाउँपालिका ९ चुनबाङ्की भलिबल राष्ट्रिय खेलाडी संगिता रोकाको भनाई पनि शोनिसाको भन्दा केहि फरक छैन् । जिल्ला, प्रदेश हुँदै राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिइसक्नुभएका रोकाले पनि स्थानीय स्तरमा हुने थुप्रै प्रतियोगितामा सहभागिता जनाउनुभएको छ । अहिलेसम्म भाग लिएका प्रतियोगितामा आफुहरुले पुरुष खेलाडी सरहको पुरस्कार राशी प्राप्त नगरेको बताउनुभयो । “जता पनि हाम्रो समाजले महिला र पुरुषमाथी विभेद देखाएकै हुन्छ,” रोकाले भन्नुभयो, “पुरस्कार राशीमा विभेद त थियो नै, हुँदाहुँदा महिला र पुरुषलाई प्रदान गरिने कपमा पनि प्रष्ट विभेद देखिने गरेको छ ।” महिला पुरुषलाई पुरस्कार राशीमा आधा फरक हुने भन्दै कप पनि पुरुषहरुको लागि ठुलो र महिलाहरुको लागि सानो हुने गरेको उहाँको भनाई छ ।
खेलाडीहरु राष्ट्रका गहणा हुन भन्दै गर्दा महिला र पुरुषमा दखिने पुरस्कार राशीको भिन्नताले आफुहरुमा निराशापन उत्पन्न हुने गरेको पुथा उत्तरगंगा गाउँपालिका ८ की अर्का खेलाडी ममता सेनले बताउनुभयो । खेलाडी महिला भएपनि पुरुष भएपनि आप्नो ठाउँमा दुख, क्षमता प्रदर्शन उत्तिकै गरेको हुन्छ भन्दै सेनले पुरस्कार राशीमा देखिएको भिन्नतालाई स्थानीय स्तरबाटै अन्त्य गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
पृत्तिसतात्मक सोचको कारण पनि महिला र पुरुषलाई हेर्ने दृष्टिकोण फरक हुन नसकेको भूमे गाउँपालिका ७ का युवा सुनिल रोका मगरले बताउनुभयो । ग्रामीण क्षेत्रमा झन महिलालाई चुलोचौकोमा सिमित पार्ने समाजले महिलालाई खुला रुपमा छा्ड्न अझै समय लाग्ने उहाँ बताउनुहुन्छ । आफु केहि समय अघि भूमे गाउँपालिकाको युवा विकास केन्द्रको नेतृत्व गर्दै गर्दा महिला पुरुषमाथीको विभेद अन्त्य गरिनुपर्छ भन्ने उदेश्य राखेर महिला र पुरुष खेलाडीको पुरस्कार राशी समान राखेको पनि उहाँले सुनाउनुभयो । एउटाले मात्र प्रयास गरेर परापूर्वकालदेखि चल्दै आएको कुराको अन्त्य नहुने भन्दै सबैलाई आ आफ्नो ठाउँबाट यस्ता विभेदको अन्त्यको लागि आवाज उठाउनुपर्ने उहाँको भनाई छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नामेन्द्र सुनारले महिला र पुरुष खेलाडीमा हुने पुरस्कार राशीको भिन्नतलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । परापूर्वकालदेखि नै महिला र पुरुषमाथी गरिने विभेदको कारण त्यहि विभेद पुरस्कार राशीमा पनि झल्कने गरेको उहाँको भनाई छ । पछिल्लो समयमा भने जिल्लामा सञ्चालन गरिने विभिन्न प्रतियोगितामा महिला पुरुष खेलाडीको पुरस्कार राशी समान हुनुपर्छ भन्ने खालको पहल गरिरहेको उहाँको भनाई छ ।