वारि हिमाल पारी हिमाल, सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै हिमालको बिचमा साना ठुला पहाडका थुम्काहरु । अनी तीनै थुम्काको बिचमा टिलपिलाइरहेका दह, सानो गुप्ता र ठुलो गुप्ता । तीनै दुई वटा गुप्तामा मुस्कुराउदै फुलेको सिस्ने हिमाल । आहा ! मनै लोभ्याउने सुन्दर दृश्य ।

यो दृश्यमा अझै पनि धेरैको नजर पुग्न सकेको छैन् । पैदल हिड्नुपर्छ । बाटो सहज छैन् । गएपनि बसाई व्यवस्थापन असहज छ । प्रचारप्रसारको पनि अभाव छ । तर पुग्नै पर्ने ठाउँ छ । सिस्ने हिमालको दृश्य टाढैबाट रुकुम(पूर्व) र पश्चिमका विभिन्न ठाउँसँगै रोल्पा, सल्यान, दाङको केहि ठाउँबाट पनि अवलोकन गर्न सकिन्छ । तर गुप्ता दह केहि समय अघिसम्म गुमनाम अवस्थामा थिए । पछिल्लो समयमा सिस्ने हिमालसँगसँगै गुप्ता दहको नाम पनि जोडिएर आउन थालेको छ । आन्तरिक पर्यटकको रोजाइमा समेत यो क्षेत्र पर्दै गएको छ ।

जिल्ला सदरमुकाम रहेको ठाउँ रुकुमकोटबाट दुई दिनको पैदल यात्रापछि यस ठाउँमा पुग्न सकिन्छ । गुप्ता पुग्नलाई अन्य रुट नभएको पनि होइनन् । तर अहिले सामान्यतया मानिसहरुले बढी प्रयोग गर्ने रुट रुकुमकोट—नायगाड—भट्टेचौर—ओख्रेना—दमार—गुप्ताको रुटबाट निरन्तर दुई दिनको पैदल यात्रापछि यस ठाउँमा पुग्ने गरेका छन् । डाँडाकाडाँ घुम्दै र रमाउदै हिड्ने हो भने बाटोमा मात्रै तीन दिन पनि छुट्याउनुपर्ने हुन्छ । हिडेर पुग्नुपर्ने र रुट पनि अली प्रष्ट नहुँदा बाटोमा समस्या पर्न सक्छ । तर गुप्ता पुगेपछि नजरले सिस्नेबाट हट्न मान्दैनन् । गुप्तामा मुसुक्क मुस्कुराउदै फुलिरहेको त्यहि सिस्नेसँग पिरती गाँस्न मन लाउछ । फर्कौ भनेपनी त्यहाँ पुगेका पाइलाहरु घरतीर फर्कनै मान्दैनन् । कस्तो गहिरो प्रेम यो ठाउँको प्रकृतीसँग ।

वारीपट्टी हावाको वेगसँगै गुप्ताको पानी वारिबाट पारि पल्टिदा गुप्ताको उत्तरतर्फ लहरै लाइन लागेका सिस्ने हिमाल, द्ध्वारी हिमाल(द्ध्वारी भन्ज्याङ) सँगै अन्य हिमालहरु टलक्क टल्किदा को लोभिदैन् होला । सिस्ने हिमालको उचाई ५ हजार ९ सय ११ मिटर छ । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामाकरण गरिएको छ ।

किन भनियो गुप्ता
गुप्ता दह । गुप्ता दह पनि एउटामा सिमित छैन् । सानो र ठुलो गरी दुई वटा छन् । दर्जन बढी तालहरु रहेको यस वडामा यी दुई वटा दहहरु गुमनाम अर्थात गुप्त अवस्थामा रहेको कारण यी दहको नाम गुप्त रहेको १ नम्बर वडाका वडाध्यक्ष रजबहादुर बुढाले बताउनुभयो । पछि सबै मानिसले गुप्त छोडेर गुप्ता गुप्ता भन्दा अहिले गुप्ता दहको नामले यो ठाउँ परिचित भएको उहाँको भनाई छ । उहाँकाअनुसार गुप्ता दह अवस्थित ठाउँलाई लिरुमारे पनि भनिने गरेको छ । परापूर्वकालमा शिकारीले लिरु भन्ने जनावर मारेकाले ‘लिरु मारे’ नाम रहन गएको किंवदन्ती छ ।

यो वडामा यतीमात्र होर, नौ वटा ताल मिलेको नौ दह ताल, दोसान्त ताल, रक्त ताल लगाएतका अन्य हिमतालहरु पछि छन् । तर केहि सिमिति व्यक्तिहरु यी ठाउँमा पुगेपनि नौ दह ताल, दोसान्त ताल, रक्त ताल कस्ता छन् भन्ने कुरा कसैलाई थाहाँ छैन् ।

गुप्ता पुग्न र बस्नमा समस्या तथा चुनौती
गुप्ता र यहाँबाट देखिने सुन्दर दृश्यलाई शब्दमा बयान गरी साध्य छैन् । गुप्ता पुग्न र त्यहाँ पुगिसकेपछि बस्नलाई भने समस्या छ । गुप्तासम्म पुग्नलाई सहज बाटोको व्यवस्था नहुँदा त्यहाँ जान खोज्ने मानिसहरु पनि बाटोमै अलमलिने अवस्था छ । अहिलेसम्म गुप्ताको गन्तव्य तय गरेकाहरु कि त स्थानीयलाई साथमा लिएर जाने गरेका छन् की त बाटो हराउदै जंगलैजंगलमा भौतारिएर त्यहाँसम्म पुग्ने गरेको सिस्ने १ का परिमल बुढाले बताउनुभयो । पर्यटकिय हिसावले ठुलो सम्भावना बोकेको क्षेत्र भएपनि आवश्यक विकास र प्रचारप्रसारको अभावले यो क्षेत्र पछि परेको उहाँको बुझाई छ ।

अहिलेसम्म सडक संजालमा जोडिन नसकेको यस वडामा पर्यटकिय गन्तव्यहरु अथाह भएपनि तीनिहरुको खोज, अध्ययन, विकास, व्यवस्थापन र प्रचारप्रसार हुन नसक्दा महत्व बोकेका ठाउँहरु बाहिर आउन नसकेको सिस्ने १ स्थित हिमालय मावि पाखापानीका प्रधानाध्यापक समेत रहनुभएका उमेश खड्काले बताउनुभयो । पर्यटन क्षेत्रको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकेमा त्यसैबाट यहाँका नागरिकको जिवनस्तर माथी उक्सने र पालिकासँगै जिल्लाको आर्थिक अवस्था बलियो हुन सक्ने भनाई उहाँको छ । अहिले गुप्तासम्म पुग्न कठिन बाटो, पुगिसकेपछि पनि खान र बस्नको उचित व्यवस्था नहुँदा गुप्तासम्म पुग्ने मानिसहरुले समस्या खेप्नुपरेको खड्काले बताउनुभयो । अहिले गुप्तामा पाहुना घर भनेर भवन निर्माण गरेपनि व्यवस्थित नभएको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, “खानेपानीको पनि समस्या छ । दहबाट अली टाढा एउटा मुहान भएपनि त्यसमा बर्खामा मुल फुट्ने र हिउँदमा सुक्ने हुँदा गुप्ता पुग्नेहरुले दहको पानी पिउनुपर्ने अवस्था रहेको छ ।”

तीन दिनको पैदल यात्रापछि गुप्ता पुग्नुभएका सिस्ने गाउँपालिकामा कार्यरत सुचना प्रविधि अधिकृत अच्यूत पन्थिले पैदल मार्गलाई व्यवस्थित गरिदिए मात्र पनि यहाँसम्म पुग्ने पर्यटकहरुलाई सहज हुने बताउनुभयो । यसका साथसाथै गुप्तामा पुगिसकेपछि बसाइ व्यवस्थापनको लागि केहि लगानी गरिदिएमात्र पनि आन्तरिक पर्यटकहरुको संख्या बढ्न सक्ने उहाँको बुझाई छ । त्याहाँका स्थानीयले पनि सिस्ने गाउँपालिकाले पर्यटन प्रवद्र्धनको लागि योजना बनाएर काम गर्न आग्रह गरेका छन् भने तत्काललाई पाहुना घरमा गएका मानिसहरुलाई बस्नको लागि लत्ता कपडाको व्यवस्थापन गरिदिन माग गरेका छन् साथैे त्यहाँ भएको एउटा मुल संरक्षण गरि पिउने पानी व्यवस्था गरिदिन अनुरोध समेत गरेका छन् ।

सिस्ने १ नम्बर वडामा अन्य थुप्रै पर्यटकिय गन्तव्य रहेको तर तीनिहरुको पहिचान हुन बाकी रहेको वडाध्यक्ष रजबहादुर बुढाले बताउनुभएको छ । उहाँकाअनुसार नौ वटा ताल मिलेर बनेको नौ दह ताल, दोसान्त ताल, रक्त तालको बारेमा अझै पनि आम मानिसहरु जानकार नै छैनन् । टाढा पर्ने, पैदल हिड्नुपर्ने, बसाइ व्यवस्थापन सहज नहुँनु, सुरक्षा चुनौती लगाएतका कारण यी ठाउँहरु अझै पनि गुप्त अवस्थामा रहेका छन् । यी र यस्तै क्षेत्रको पहिचान गर्न वडा सरकारको प्रयासले मात्र सम्भव नहुने भन्दै पालिका, प्रदेश र संघ सरकारसँग पनि सहकार्य गरेर काम गर्ने उहाँको भनाई छ ।

पैदलमार्ग भएर गुप्ता पुग्नुभएका सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले गुप्ता र सिस्ने पेरीफेरिको दृश्यलाई बाहिर ल्याउन अती नै आवश्यक रहेको बताउनुभयो । यी लुकेर रहेका पर्यटकिय गन्तव्य कुनै एउटा वडा, पालिकाको मात्र नभएर देशकै सम्पती भएको बताउदै यस्ता क्षेत्रको विकास गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सबै आ—आफ्नो ठाउँबाट लाग्नुपर्ने उहाँको भनाई छ । गुप्तामा सिस्ने गाउँपालिकाले ३ कोठे पाहुना घर निर्माण गरेको बताउदै त्यो पाहुना घरलाई पनि व्यवस्थित गराएर लैजाने उहाँले बताउनुभयो ।

“पर्यटन क्षेत्र विकासलाई पालिकाले पनि विशेष तरिकाले हेरेको छ” प्रमुख प्रशासकिय अधिकृत शाहले भन्नुभयो, “नयाँ आर्थिक वर्षमा नयाँ योजना निर्माणको लागि पालिकामा छलफल गर्ने छौ ।” गुप्तालाई अब गुप्त रहन नदिने गरी काम गर्न पालिका लाग्ने उहाँको भनाई छ ।

कसरी पुग्ने गुप्ता ?
गुप्ता पुग्लाई तीन वटा रुट छन् । यी रुटमध्ये सबैभन्दा सजिलो रुट रुकुमकोटबाट सुरु भएको रुट हो । रुकुमकोटबाट ३०÷४५ मिनेट गाडीमा यात्रा गरी देउखोलासम्म पुग्न सकिन्छ । त्यहाँबाट पदैल यात्रा सुरु गरेकाहरु तिप्तारा–नायगाड–सुद्रि–भङ हुँदै भट्टेचौर गएर बास बस्छन् । अली हिड्ने मान्छेहरु भटट्ेचौर भन्दा उतापट्टी पाखापानीसम्म गएर पनि बास बस्छन् । त्यहाँबाट अर्को दिन ओख्रना–दमार गाउँ हँुदै त्यसभन्दा माथी जंगलैजंगलको बाटो भएर गुप्ता पुगिन्छ ।

यो ठाउँमा मध्यपहाडी लोकमार्ग हुदै पोखरा काठमाडौंबाट समेत रुकुमकोट आएर गुप्ता जान सकिन्छ । पोखराबाट रुकुमकोटसम्म २ सय ४३ किलोमिटरको दुरी १२ घण्टामा पुरा हुन्छ । गुप्ता घुम्ने उपयुक्त समय चैत्र, वैशख, जेठ, असोज, कात्र्तिक र मंसिरको महिना हो । गुप्ताबाट फर्कदा एउटा गएको रुट प्रयोग गर्न सकिन्छ भने सबैभन्दा छिटो रुट गुप्ताबाट लैपा हुँदै तिप्तारा झरेर ६÷७ घण्टाको पेरीफेरीमा देउखोला पुग्न सकिन्छ । त्यहाँबाट पुनल् गाडीमा रुकुमकोट फर्किएर अन्य गन्तव्य तताउन सकिन्छ । साथै लैपाबाट छिपखोला हुँदै सिस्ने ४ मा रहेको तातोपानी निस्कने पनि अर्को रुट रहेको छ ।

जेठदेखि भदौ, असोजसम्म हजारभन्दा बढी भेँडा लिएर गोठालाहरु यो ठाउँमा जाने गर्छन् । गुप्त दह पुग्न मुख्यरुपमा तीन वटा रुट प्रयोग गर्न सकिन्छ । रुकुम(पूर्व) को सदरमुकाम सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोटबाट दुई दिनको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ भने रुकुमपश्चिमको बाफिकोट गाउँपालिकामा रहेको रुकुमपश्चिमको प्रसिद्ध ताल स्यार्पुबाट खाल्टी हुँदै दुई दिनमा यहाँ पुग्न सकिन्छ । त्यस्तै बाफिकोटबाटै आठबीसकोट नगरपालिका १ को थुम, रोकाजा, ओख्ले हुँदै तीन दिनको पैदल यात्राबाट पनि यहाँ पुग्न सकिन्छ ।

लुम्बिनी प्रदेशको रुकुम (पूर्व) तथा कर्णाली प्रदेशमा पर्ने रुकुम (पश्चिम) को तीन स्थानीय तहको भूभाग छुने र डोल्पाका मनमोहक दृश्यावलोकनसमेत गर्ने गरी नयाँ ट्रेकिङ रुट–‘सिस्ने राउण्ड’ को अन्वेषण पनि पूरा भएको छ ।

यहि राउण्डले गुप्तालाई छोएको सिस्ने राउण्डको नेतृत्व गर्नुभएका हिमाल आरोही मनबहादुर खत्रीले बताउनुभयो । अहिले अन्वेषणको काम मात्र पुरा भएको र राउण्डमा काम गर्न भने पुरै बाकी रहेको उहाँको भनाई छ । सिस्ने राउण्डको कामलाई पूर्णता दिन स्थानीय सरकारको सहयोगसँगसँगै पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्ने विभिन्न निकायसँग पहल गरिरहेको खत्रीले बताउनुभएको छ ।