रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले बाल संरक्षण नीति निर्माण गर्न लागेको छ । बालबालिकाको हक अधिकार सुनिश्चित र उनिहरुको संरक्षण गरेर काम गर्नको लागि गाउँपालिकाले नीति निर्माण गरेर अघि बढ्न लागेको हो । नीति निर्माणको लागि आज गाउँपालिकाले बाल संरक्षण नीति, कार्यविधि निर्माण सम्बन्धि एक दिने कार्यशला गोष्ठिको आयोजना गरेको थियो ।

कार्यशाला गोष्ठिमा नीति निर्माण, बाल संरक्षण लगाएतको विषयमा गाउँपालिकाका प्रशासन शाखा प्रमुख अरुण ओलीले जानकारी गराउनुभएको थियो । यस्तै अर्का सहजकर्ता प्रेम ओलीले बाल क्लब, यसका उदेश्य, आधारभूत सिद्धान्तहरु, स्थानीय बाल अधिकार सम्बन्धि सिद्धान्त, यसको बैठक सम्बन्धि व्यवस्था, वडा स्तरीय बाल अधिकार समिति र यस समितिको काम, कर्तव्य, अधिकारको बारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै उहाँले बाल कल्यान अधिकारीको नियुक्ति, यसको काम, कर्तव्य र अधिकार, बाल कोष सञ्चालन तथा व्यवस्थापन, कोष सञ्चालक समिति, यसको काम, कर्तव्य, अधिकार, कोषको प्रयोग र प्रयोजन, बाल कोषको खर्च सिमाको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यशालाकै बिचमा स्थानीय बाल अधिकार समिति पनि गठन गरिएको छ । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेको संयोजकत्वमा अन्य सदस्यहरु प्छि थप्ने गरी समिति गठन गरिएको छ ।

गाउँपालिकाले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न र समस्यामा परेका बालबालिकाहरुको संरक्षण गर्न नीति निर्माण गर्न लागेको हो । आज नीति निर्माणको लागि छलफल तथा अन्तरक्रिया गरिएको छ । केहि दिनभित्रै बाल क्लबमा आाबद्ध भाइबहिनीहरुबाट पनि नीति निर्माणको लागि सुझाव संकलन गरिने छ । पालिकाले आर्थिक वर्षको नीति कार्यक्रम बनाउदा बालबालिकाको क्षेत्रलाई समेटेर नीति कार्यक्रम बनाएपनि छुटटै खालको नीति बनाएको थिएन् । अब नीति निर्माण गरी त्यसैमा टेकेर कार्यविधि बनाउने र कार्यान्वयनमा जाने बताइएको छ ।

यूनिसेफको सहयोगमा सिस्ने गाउँपालिकामा पालिकास्तरीय र वडास्तरीय बाल क्लबहरु गठन गरिएका छन् ।

कार्यशालामा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले सिस्ने गाउँपालिकालाई बालमैत्री पालिका बनाउने बताउनुभएको छ । असुरक्षित गर्भपतनले एउटा बच्चाको आमाको पेटबाटै अधिकार हनन् भइरहेको बताउदै गाउँपालिका अध्यक्ष रेग्मिले पालिकाले निर्माण गर्न लागेको बाल संरक्षण नीतिमा गाँस, बास, कपाससँगै स्वास्थ्य, शिक्षा, बाल श्रम, बाल हिंसा, कुलत, श्रमीकका बालबालिकाहरुको अधिकारको कुरालाई जोड दिने बताउनुभएको छ । गरिबी, अभाव, विकटमा रहेका र गलत संस्कार, संस्कृतीको शिकार भएका बालबालिकाको हक अधिकार सुनिश्चित तथा उनिहरुको संरक्षणमा विशेष जोड दिएर नीति निर्माणमा अघि बढ्ने उहाँको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले बाल अधिकार र सुरक्षा सबैलाई चाहिने बताउनुभएको छ । तर जोखिममा परेका बालबालिकाको पहिचान गर्न र उनिहरुको संरक्षण गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखेर तत्काल कार्यविधि निर्माण गरेर काम गर्ने बताउनुभयो । नीतिलाई विभिन्न चरणमा छलफल गरि पूर्णता दिने र गाउँसभामा पेश गरेर पारित गर्ने उहाँको भनाई छ । स्थानीय सरकार स्थापनाको ६ वर्षपछि ढिलै भएपनि गाउँपालिकाले बाल संरक्षण नीति निर्माण गर्न लागेको बताउदै यसको कार्यान्वयनमा पनि सशक्त भएर लाग्ने बताउनुभएको छ ।

सिस्ने गाउँपालिका सामाजिक विकास समिति सभापती तिर्था पुनको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढा, प्रशासन शाखा प्रमुख अरुण ओली, वडाध्यक्ष, कार्यपालिका सदस्य र विभिन्न विद्यालयमा गठन गरिएका बाल क्लबमा आबद्ध भाइबहिनीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख सुनिता खड्काले गर्नुभएको थियो ।