
रुकुम पूर्वः सिस्ने गाउँपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम जारी रहेको छ । बैशाख १ गते देखि सुरु भएको सप्ताहव्यापि जनचेतनामुलक कार्यक्रम पाचौँ दिन पनि जारी रहेको हो ।
घटना समयमै दर्ता गराउन गाउँपालिकाबासी सतर्क होउन् भन्ने उद्देश्यले घटना दर्ता सप्ताह सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले जानकारी दिनुभयो । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेको छ । उहाँले भन्नुभयाे घटना दर्ताको महत्त्व थप बढाउन वैशाख १ देखि घटना दर्ता सप्ताह मनाउन सुरु गरेका छौ ।
जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराइ जस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन पञ्जिकरण शाखा प्रमुख नन्दकला रिजालले सवैलाई आग्रह गर्नुभएको छ । घटना भएको ३५ दिनभित्र दर्ता गराउँदा पैसा नलाग्ने रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका भित्रका ८ वडा मध्य २, ३, ५, ६ र ७ नम्बर वडामा सप्ताहव्यापि कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रत्येक वडामा घटना दर्ता सम्बन्धि नागरिक अभिमुखिकरण कार्यक्रम राखिएको छ । अहिलेसम्म ५ वडामा कार्यक्रम सम्पन्न भयो । तीन वडामा गर्न बाकी छ । उहाँले भन्नुभयो ७ गतेसम्म बाकी रहेका वडामा पनि नागरिक अभिमुखिकरण कार्यक्रम सञ्चालन हुनेछ ।
व्यक्तिगत घटना दर्ता भनेको के हो ? घटना दर्ता किन गर्नुपर्छ ? कहिले गर्ने ? कहाँ गर्ने ? व्यक्तिगत घटना दर्ता गर्दा नागिरकलाई के फाइदा हुन्छ ? लगायतका विषयमा नागरिकलाई जानकारी दिने काम भइरहेको उहाँले बताउनुभयो । जनप्रतिनिधी, कर्मचारी र नागिरक समाजको उपस्थितिमा वडा स्तरमा अभिमुखिकरण कार्यक्रम र मिडियामा चेतनामुलक सन्देश प्रकाशन तथा प्रशारण गर्ने कार्य सिस्ने गाउँपालिकाले जारी राखेको छ ।
सरकारले २०८० अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तराष्ट्रिय प्रतिबद्धता जनाएको छ । उक्त प्रतिवद्धता पुरा गर्न पनि घटना दर्ता अभियानलाई विशेष बनाइएको पालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।