जब कुनै औपचारिक कार्यक्रम सुरु हुन्छ, कसैलाई स्वागत सत्कार गर्न खोजिन्छ त्यतिबेला अबिरसँगै खादा÷दोसल्ला ओढाइन्छ । अब भने रुकुम(पुर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा कार्यक्रममा होस या त कुनै पाहुनालाई स्वागत गर्ने बेलामा होस पसलबाट किनेर खादा होइन गाउँमै पाइने दुबोपाती, टिका र पुष्पगुच्छा प्रयोग गरिने छ ।
यो निर्णय पुथा उत्तरगंगा गाउँपालिको गाउँ कार्यपालिकाबाट पारित गरेको छ । अबदेखी गाउँपालिका भित्रको जुुनसुकै कार्यक्रममा बजारको खादा, अबिरको सट्टामा गाउँकै टीका, दुबोपाती र पुष्पगुच्छा प्रयोग गर्ने निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको प्रमुख प्रशासकिय अधिकृत राजन कंडेलले जानकारी दिनुभयो । गाउँ कार्यपालिकाको बैठकले सामाजिक सुधार तथा खर्च मितव्ययिता गराउने तथा स्थानीय वस्तुलाई बजारिकरण गर्ने उद्देश्यले बजारको खादा, अबिरलाई पूर्ण रूपमा निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृ कंडेलले जानकाी दिनुभयो ।
उहाँकाअनुसार गाउँपालिका भित्र उत्सव, महोत्सव लगायत विभिन्न समूहमा केन्द्रीत भई गरिने सामाजिक क्रियाकलापमा फजुल खर्च र अनावश्यक तडकभडक नगर्न र स्थानीय चलनचल्ती अनुसारको दहीमा चामल मुछिएको सेतो टीका, दुबोपाती र पुष्पगुच्छा प्रयोग गरिने छ । “विभिन्न संघ÷संस्था बाहेक गाउँपालिकाको मात्र एक आर्थिक वर्षमा खादा र अबिर खरिदमा मात्र करिब साढे एक लाख रुपैयाँ बराबरको खर्च हुँदो रहेछ” प्रमुख प्रशासकीय अधिकृत कंडेलले भन्नुभयो –“एका तर्फ खेर जाने गरेको खर्च जोगिने भयो, भने अर्को तर्फ स्थानीय संस्कृतिको संरक्षण एवम् सम्बद्र्धनमा थप टेवा पुग्न विश्वास लिइएको छ ।”
गाउँपालिका भित्र हुने सबै ठाउँमा अब स्थानीय टीका, दुबोपाती र पुुष्पगुच्छाको मात्र प्रयोग गरिने गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो । “पुर्खा देखि विभिन्न चाडपर्व, मेला, महोत्सव, पाहुना तथा अतिथि संस्कार एवम् सम्मानमा प्रयोग गर्दै आइएको दहीमा चामल मुछिएको सेतो टीका, दुबोपाती र पुष्पगुच्छा नै हो” अध्यक्ष घर्ती मगरले भन्नुभयो –“पछिल्लो समयमा अरुको देखासिकीको कारणले खादा, अबिर प्रयोगमा आएको हो ।” खादा, अबिरको प्रयोग वास्तविक प्रयोजन नदेखिएको गाउँ कार्यपालिकाले जनाएको छ ।