रुकुम पुर्व: सुन्दर समाज युवा क्लबको १५ औ वार्षिक उत्सव आइतबारबाट सुरु भएको छ । जिल्लाको भुमे गाउँपालिका ९ चुन्वाङमा क्लबको १५ औ वार्षिक उत्सव सुरु भएको हो ।

वार्षिक उत्सवको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओली (प्रतीक)ले उदघाटन गर्नुभयो । ओलीले ब्यानर खोली दीप प्रज्वलन गरेर उत्सवको उदघाटन गर्नुभएको हो ।                                                                 

जिल्लाको खेल क्षेत्रको विकासमा टेवा पुर्याउनुका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले क्लवले खेलकुद र सास्कृतिक कार्यक्रमको आयोजना गरेको क्लवका अध्यक्ष मेगु बुढा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार क्लबले वार्षिक उत्सवको अवसरमा महिला, पुरुष भलिबल, पैसरु नाच, एक नृत्य, र भाले रेस प्रतियोगिता आयोजना गरेको छ ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद ५० हजार पुरस्कारको साथमा टर्फि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोस्रो हुने टिमले नगद ३० हजार सहित टर्फि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो हुने टिमले नगद २० हजार सहित टर्फि, मेडल र प्रमाणपत्र हात पार्नेछ ।                                             

सुन्दर समाज युवा क्लवले महिला र पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी सम्मान गरेको छ । आयोजकका अनुसार महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले पनि नगद ५० हजारको साथमा टर्फि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार सहित टर्फि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । भलिबल प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, वेष्ट स्पाइकर, वेष्ट सर्टर र वेष्ट सर्भरलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यस्तै पैसरु नाच प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ४ हजार सहित प्रमाणपत्र प्रदान गरिने क्लवका सदस्य दिनेश पुन मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार एकल नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार सहित प्रमाणपत्र प्रदान गरिने छ । भाले रेस प्रतियोगितामा प्रथम हुनेलाई दुई हजार बराबरको रातो भाले प्रदान गरिने आयोजकले जनाएको छ ।

पुरुष भलिबल प्रतियोगितामा आयोजक बाहेक रुकुम पुर्व, रुकुम पश्चिम, रोल्पा र बागलुङका गरि १० टिमले नाम दर्ता गरेका छन । खेल शुद्ध वडा स्तरीय खेलाइनेछ ।