बालाराम शेर्पाली

रुकुम (पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ५ मा दुई महिने आधारभूत सिलाई कटाई तालिम सुरु भएको छ । भूमे गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम सञ्चालन गरिएको हो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन ३ लाख ५० हजार रकम विनियोजिन गरिएको भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । महिलाहरुलाई घरमै बसेर काम गर्न सकिने र महिलाहरुको जिवनयापन गर्न सहज बनाउन कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ । उक्त तालिममा भूमे गाउँपालिकाको वडा नम्बर ४ र ५ को महिला दिदि बहिनीहरुको सहभागिता रहेको छ ।

अध्यक्ष श्रेष्ठले सिलाइ कटाइ तालिम जीवन उपयोगी हुने, मानिसलाई सीपले स्वरोजगार बनाउने कुरा राख्दै मेहनत र लगनशीलताका साथ सीप सिक्न सहभागिहरुलाई आग्रह गर्नुभएको छ । दुवै वडा अध्यक्षहरु तथा भूमे गाउँपालिका प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख प्रेम प्रसाद भट्टराईले तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्नुभएको छ । दक्ष प्रशिक्षक हर्क बाहादुर नेपालीद्वारा सिलाई कटाई तालिमका सहभागिहरुलाई तालिम दिईने छ ।

भूमे गाउँपालिका वडा नं. ५ को वडा अध्यक्ष टेक प्रसाद बुढाको अध्यक्षतामा, भएको कार्यक्रमा भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । वडा नम्बर ४ को वडाध्यक्ष श्याम प्रसाद बुढाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा समाज कल्याण इकाईका प्रमुख धनिषा पुनले गर्नुभएको थियो ।