
रुकुमकोट । हिमालय लोकस्टारको उपाधि रुकुम पश्चिमका बलराम विश्वकर्माले जित्नु भएको छ । बुधबार राती राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उहाँ विजेता घोषित हुनु भएको हो ।
विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित ७ लाखको जीवन बिमा प्राप्त गर्नुभयो । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालले विजेता विश्वकर्मालाई ट्रफीसहित पुरस्कार प्रदान गर्नुभयो ।
अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित हुनुभयो । जितसँगै उहाँले ३ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार प्राप्त गर्नुभयो । वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित हुनुभएको छ । उहाँले २ लाख रुपैयाँ नगद प्राप्त गर्नुभएको छ ।
दर्शकले दिएको बढी भोटको आधारमा विजेता घोषणा गरिएको छ । ६ जना प्रतिस्पर्धीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । फिनालेमा इन्द्रेणी समूहसहित जजहरु राजु परियार, रामजी खाण र कुलेन्द्र विश्वकर्माले पनि सांगीतिक प्रस्तुति राख्नुभएको थियो ।
लोकस्टारको फिनालेमा हिमालय टेलिभिजनको आगामी रियालिटी शो हिमालय रोडिजको नयाँ सिजनको पनि घोषणा गरिएको थियो ।