
रुकुम पूर्व। विभिन्न निर्णय सहित सिस्ने गाउँपालिकामा गाउँ शिक्षा समितिको बैठक सम्पन्न भएको छ । बिहिबार गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरेको छ ।
शिक्षा समितिको बैठकले दुई विद्यालयमा शिक्षक व्यवस्थापन गर्ने निर्णय गरको छ । आर्थिक वर्ष २०७९/०८० मा पालिकाले ८ वटा विद्यालयमा शिक्षक व्यवस्थापन गरेको थियो । बाकी रहेका दुई विद्यालय नवज्योति आवि सिस्ने २ खरिबोट र आवि सिस्ने ४ नयाँढाँकामा शिक्षक व्यवस्थापन गर्ने समितिले निर्णय गरेको छ ।
यि दुई विद्यायलमा आवश्यकताका आधारमा विषय विज्ञ शिक्षक पदपूर्ति गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएको चैतमा सम्पन्न पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन गर्दा प्रश्नपत्र निर्माणमा भएको त्रुटिको विषयमा समिक्षा गरिएको छ । बैठकमा प्रश्नपत्र निर्माणका क्रममा भएको त्रुटिको विषयमा गम्भिर समिक्षा भयो । उहाँले भन्नुभयो प्रश्न निर्माणकर्ता शिक्षक पिताम्बर पोख्रेललाई लिखित स्पष्टिकरण सोध्ने बैठकले निर्णय गरेको छ ।
हामिले कक्षा ९ को गणित विषयको प्रश्नपत्र निर्माण गर्न पोख्रेललाई जिम्मेवारी दिएका थियौ । उहाँले भन्नुभयो प्रश्नपत्र निर्माण गर्दा पोख्रेलले त्रुटि गरेको थाहा भयो । प्रश्नपत्र निर्माणमा कसरी त्रुटि भयो । त्यसको स्पष्ट लिखित जवाफ पेश गर्न लगाउने बैठकले निर्णय गरेको छ ।
त्यस्तै शिक्षण सिकाइ कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन पालिका भित्रका शिक्षकले शैक्षणिक योजना र शिक्षण सुधार योजना तयार गर्नुपर्ने निर्णय पनि गरिएको छ । बैठकको निर्णयानुसार उक्त योजना विषयगत शिक्षकले बैशाख मसान्तभित्र सम्बन्धित विद्यालयमा पेश गर्नु पर्नेछ ।
विद्यालयमा पेश गरेको योजना सम्बन्धित प्रअले गाउँपालिकामा अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयको शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउन स्थायी शिक्षकहरुबाट योग्यता र क्षमताका आधारमा अब्बल छनोट गरि प्रअ व्यवस्थापन गर्ने निर्णय समेत गरिएको पालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।
अध्यक्ष रेग्मीले मुलुक पाटीलाई दिएको जानकारी अनुसार आव २०८०।०८१ मा गाउँपालिका स्तरीय वार्षिक परीक्षालाई चुस्त, दुरुस्त र ब्यवस्थित बनाउन कक्षा ५ को उत्तरपुस्तिका वडा शिक्षा समितिले परीक्षण गर्ने छ । यस्तै कक्षा ८ को परीक्षा अन्तरविद्यालय केन्द्र काम गरि सञ्चालन गर्ने निर्णय गाउँ शिक्षा समितिले गरेको छ ।