
रुकुम(पूर्व) मा किटजन्य रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा रुकुम(पूर्व) स्थित स्वास्थ्यकर्मी र सरोकारवालासँग किटजन्य रोग सम्बन्धि एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लामखुट्टे, भुसुना, माइट लगाएतका किटहरुबाट लाग्ने किटजन्य रोगहरु मलेरिया, हात्तीपाइले, जपनिज इन्सिफलाइटिस, कालाजार, डेन्गी, चिकुनगुनिया, जिका, स्क्राव टाइफस, लेप्टोसफाइरोसिस जस्ता रोगहरुको बारेमा जानकारी गराइएको छ । किट र किटजन्य रोगहरुको संक्रमणबाट पर्ने असर, यसबाट बच्न अपनाउनुपर्ने साबधानीका उपाय, यसको उपचार, न्यूनिकरण लगाएतको बारेमा जानकारी गराउने काम गरिएको छ । यसको प्रस्तुतीकरण स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का प्रमुख नारायण प्रसाद चौधरीले गर्नुभएको थियो ।
वर्षैपिच्छे किटजन्य रोगको संक्रमण बढ्दै गएको तथ्याङ्कमा देखिएको छ । कतीपय किटजन्य रोगहरु नेपालमा देखिएका छन् भने कतीपय किटजन्य रोगहरु नेपालमा नदेखिएपनि छिमेकी देशमा देखिएका छन् । अब गर्मी समय सुरु भएसँगै किटजन्य रोगको संक्रमण बढ्ने जोखिम छ । रुकुम(पूर्व) मा गएको आर्थिक वर्षमा २७ जनामा डेङ्गुको संक्रमण देखिएको थियो । चालु आर्थिक वर्षमा भने एक जनामा पनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी एवम ल्याब टेक्निसियन निमप्रसाद गिरीले जानकारी दिनुभयो ।
कतीपय किटजन्य रोगहरु प्रिक्षणको लागि जिल्लामा किट पनि नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । रुकुम(पूर्व) मा स्क्राव टाइफसको उच्च जोखिम रहेको रुकुम(पूर्व) अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले बताउनुभयो । तर यस रोग परिक्षणको लागि जिल्लामा किट नै उपलब्ध छैन । स्थानीय तहसँग समन्वय गरेर किट मगाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले किटजन्य रोगहरुबाट बच्नको लागि वातावरणीय सरसफाई, जनचेतना जगाउने र उपचारको लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । गर्मी समय सुरु हुँदै गएको र अब यस्ता रोगहरुको संक्रमण बढ्ने भएकाले पूर्व तयारी स्वरुप आयोजना गरिएको यो अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमले व्यवस्थापनमा सहज हुने अध्यक्ष रेग्मिको भनाई छ । साथै स्क्राव टाइफस रोगको परिक्षणको लागि किट व्यवस्थापनमा पालिकाले सहयोग गर्ने अध्यक्ष रेग्मिले बताउनुभयो ।
स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का प्रमुख नारायण प्रसाद चौधरीको अध्यक्षतामा भएको अन्तरक्रिया तथा अभिमुखीकण कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, सिस्ने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह, जिल्ला अनुसन्धान प्रमुख चिरन्जिवी बुढा, रुकुम(पूर्व) अस्पतलका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्रराज कोइरालाको आतीथ्यता रहेको थियो ।
कार्यक्रममा सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख एव्म प्रतिनिधि, स्वास्थ्य क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का जनस्वास्थ्य निरिक्षक श्याम प्रसाद चौधरीले गर्नुभएको थियो ।