रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले नयाँ शैक्षिक योजना निर्माणको लागि छलफल गरेको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकासिस्थत विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुको उपस्थितीमा छलफल गरिएको हो । शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको गाउँपालिकाले शैक्षिक क्षेत्रको गुणस्तरलाई कसरी बढाउन सकिन्छ र त्यसको लागि के कसरी काम गर्ने भनेर कार्ययोजना निर्माण गर्ने उदेश्यसहित आज गाउँपालिकाको कार्यालयमा छलफल गरिएको हो ।
बैठक तथा छलफल कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरुले २०७९ मा संचालित शैक्षिक क्षेत्रका नविनतम गतिविधि जानकारी गराउनुका साथै नयाँ शैक्षिक क्षेत्रको योजना निर्माणको लागि सल्लाह सुझाव दिएका छन । बैठक तथा छलफलमा सहभागि शिक्षकहरुले पालिकाले एउटा लक्ष राखेर शैक्षिक क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको बताउदै यतीले नपुग्ने बताएका छन । यहाँको भौगोलिक विकटता, विषय विज्ञ शिक्षकको अभाव, विद्यार्थीहरु शहर बजारको विद्यालय केन्द्रित हुनु, पछिल्लो समयमा अमेरीकाको लहर चल्नु लगाएतका कारणले कतीपय विद्यालयमा विद्यार्थीको संख्या अपेक्षित रुपमा नहुने लगाएतका समस्याहरु रहेको जानकारी गराइएको थियो ।
नयाँ कार्ययोजना निर्माणको चरणमा रहेको पालिकालाई शिक्षकहरुले पालिका भित्रका विद्यालयमा अध्यापनरत शिक्षक, शिक्षिकाहरुको एकिन संख्याको तथ्याङ्क राख्न सुझाएका छन । यस्तै कतिपय विद्यालयहरुमा कक्षा १ देखी कक्षा ७ सम्मको विद्यार्थी संख्या हेर्दा संख्यामा धेरै देखिने र कक्षा ८ मा जादा ह्वात्तै यो संख्या घटेको पाइने गरेकाले यतातर्फ पनि पालिकाले खोजिनीति गरि आवश्यक योजना बनाउन सुझाएका छन ।
विद्यालयमा पढाइको स्तर वृद्धि सँगसँगै परिक्षा प्रणालीमा पनि सुधार गर्नुपर्ने र यसमा पालिकासँगसँगै सम्बन्धित विद्यालयका शिक्षकहरुले ध्यान दिनुपर्ने भनाई छलफलमा सहभागिहरुको छ । आवश्यकताअनुसार विद्यालय मर्ज गर्नुपर्ने र आवश्यकताअनुसार थप गर्ने सामथ्र्य पालिकाले राख्नुपर्ने छ । कतिपय विद्यालयहरुमा भौतिक संरचनाको अभाव छ । खेलमैदानको अभाव छ । कक्षा १(३ शैक्षिक मुल्याङ्नको लागि आवश्यक ज्ञान छैन । आवश्यक तालिम पर्याप्त मात्रामा छैन । यस्ता कुरालाई ध्यानमा राखी कार्ययोजना निर्माण गर्न सहभागिहरुले सुझाव दिएका छन ।
यस्तै शिक्षकहरुमा पुरस्कार र दण्डको व्यवस्था, प्रधानाध्यापकहरुको भूमिका प्रभावकारी बनाउनुपर्ने, निर्णय गरेका कुराहरुलाई कार्यान्वयनमा लैजाने, शैक्षिक भ्रमण, वार्षिक कार्ययोजना निर्माण, शैक्षणीक योजना निर्माण गरेर पठनपाठन गर्ने जस्ता कुरालाई जोड दिएर लैजानुपर्ने सुझाव शिक्षकहरुको छ । साथै राजनितिक सांगठनिक कुराहरु विद्यालयबाट टाढा राख्ने वातावरण सिर्जना गर्न सके पनि शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने छलफलमा सहभागिहरुले बताएका छन ।
गाउँपालिकाले शैक्षिक योजना निर्माण गरेपछि सोहिको आधारमा विद्यालयले योजना निर्माण गर्ने, वार्षिक कार्यतालिका तयार पार्ने बताएका छन ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले विद्यालयहरुसँग गरिएको करार सम्झौताको अपेक्षा अनुसारको प्रतिफल आउन नसकेको बताउनुभएको छ । शैक्षिक क्षेत्रमा स्थानीय सरकारले लगानी गरेपछि त्यसको प्रतिफलको आशा पनि राख्ने भएकाले प्रतिफल नदिने लगानीको कूनै अर्थ नरहने बताउनुभयो । गाउँपालिका भित्रका विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न र विद्यालयमा देखिएका समस्या पहिचान गर्नको लागि एक चरणमा पालिका भित्रको अधिकासं विद्यालयहरुमा पुगेर अनुगमण गरिसकेको पनि अध्यक्ष रेग्मिले बताउनुभयो । अनुगमणका क्रममा भेटिएका समस्या र आजको छलफलमा आएका आवश्यक सुझावलाई समेटेर शैक्षिक योजना निर्माण गर्ने अध्यक्ष रेग्मिको भनाई छ ।
“पालिकाको लगानी र पालिकाले मात्रै चाहेर शैक्षिक क्षेत्रमा ठुलो परिवर्तन हुदैन”, अध्यक्ष रेग्मिले भन्नुभयो, “यसमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबै आ(आफ्नो ठाउँबाट सक्रिय भएर लाग्नुपर्ने हुन्छ ।” शैक्षिक क्षेत्रमा बोल्ने र सुन्ने विधिलाई परिमार्जित गरि हाइटेकमा प्रवेश गरेको अध्यक्ष रेग्मिको भनाई छ । नीति र विधिअनुसार चल्न आग्रह गर्दै अध्यक्ष रेग्मिले अघिल्लला दिनहरुमा सल्लाह सुझाव दिदै आएकोमा अब भने अटेर गर्ने विद्यालयका शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतमले शैक्षिक क्षेत्रमा पहिलेको तुलनामा अहिले सुधार भएको बताउनुभएको छ । यतीमात्र पर्याप्त नभएको बताउदै गौतमले आगामी दिनमा स्थानीय सरकारले योजना बनाउदा विशेष गरी भौतिक संरचना, आवश्यक विषय विज्ञ शिक्षक व्यवस्थापन लगाएतको कुरालाई जोड दिएर योजना निर्माण, बजेट विनियोजन गर्ने र कार्यान्वयनको चरणमा जान सके यसबाट केहि उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । शैक्षिक क्षेत्रमा देखिएका समस्या पहिचान भएको बताउदै प्रमुख गौतमले अब त्यसअनुसारको योजना निर्माण गरेर जानुपर्नेमा जोड दिनुभएको छ ।
गाउँ शिक्षा समिति संयोजक एवं सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलक गौतम, सिस्ने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह, समाजिक विकास समिति सभापती तीर्था पुन लगाएतको आतीथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले गर्नुभएको थियो ।