रुकुम(पूर्व) मा बजार अनुगमन गरिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित कमल दह क्षेत्र बजारमा अनुगमन गरिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, सिस्ने गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रुपमा कमल दह क्षेत्रमा रहेका होटेल तथा पसलहरुको अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा आठ हजार पाँच सय ६६ रुपैयाँ बराबरको म्याद गुज्रीएको सामान बरामद गरि नष्ट गरिएको छ । ६ वटा होटेल र ८ वटा पसलमा अनुगमन गर्दा दालमोट, कोकाकोला, आटा, जिरा, पापट, हुक्का फ्लेबर लागएत गरि साढे आठ हजार बरारको म्याद गुज्रिएको सामान बरामद गरि नष्ट गरिएको हो ।

यस्तै अनुगमनको क्रममा होटेल तथा पसलहरुमा मुल्य सूचि नराखेको पाइएको छ । अनुगमनको क्रममा होटल तथा पसल व्यवसायीहरुलाई मुल्य सूचि राख्न निर्देशन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा चालु आर्थिक वर्षमा मात्र जिल्लाको विभिन्न ठाउँमा गरी आठ पटकससम्म अनुगमन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय र गाउँपालिकाहरुले पनि बेलाबेलामा बजार अनुगमन गरिरहेका छन् । आजको बजार अनुगमनमा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रउले, जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक गनेश पाण्डे, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मधुकर डाँगीलगाएतको उपस्थिती रहेको थियो ।