रुकुम पूर्व। सिस्ने गाउँपालिकाले किसानलाई हाते ट्याक्टर मिनी पावर टिलर) वितरण गरेको छ। ८० प्रतिशत अनुदानमा पाचँ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको कृषि शाखाले जनाएको छ। सोमबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले किसानलाई ट्याक्टर वितरण गर्नु भएको हो।

चालु आर्थिक वर्ष २०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रमबाट किसानलाई ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख दिनेश ओलीले जानकारी दिनुभयो । गाउँपालिका भित्रका ५, ६ र ८ नम्बर वडाका पाचँ कृषि फर्मलाई ट्याक्टर वितरण गरिएको उहाँले जानकारी दिनुभयो । किसानको माग र आवश्यकताको आधारमा कृषि प्रविधि वितरण गरिएको ओलीले बताउनुभयो ।

उहाँका अनुसार ५ नम्बर वडाका शैलेन्द्र कृषि फर्म र विमल स्थानीय तरकारी तथा नर्सरी फर्म, ६ नम्बर वडाका सावित्रा बहुउदेश्यीय कृषि तथा पशुपन्छि फर्म र जस्विन कृषि फर्मलाई ट्याक्टर वितरण गरिएको छ । यस्तै ८ नम्बर वडाको विशाल स्याउ फर्मलाई पनि हाते ट्याक्टर वितरण गरिएको छ ।

उक्त फर्महरुलाई ५ देखि ७ हर्ष पावर क्षमताका ट्याक्टर वितरण गरिएको हो । ७५ देखि ८६ हजारसम्म बजार मुल्य रहेका ट्याक्टर किसानले अनुदानमा पाएका हुन । २० प्रतिशत लगानी किसानको छ । झण्डै एक लाख रुपैयाँ पर्ने ट्याक्टर किसानले १५ देखि १७ हजार मुल्यमा पाएका छन ।

कृषि यान्त्रिकीकरण गर्दै उत्पादन बढाउने र लागत घटाउने उदेश्यले किसानलाई अनुदानमा प्रविधि हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष रेग्मीले बताउनुभयो । आधुनिक प्रविधिको प्रयोगले बाझा जमिन खाद्यान्न उत्पादन भई हरियाली हुने उहाँले विश्वास गर्नुभएको छ।

प्रविधिको प्रयोगले कृषि उत्पादन बढ्ने उपाध्यक्ष रेउलेले बताउनुभयो ।प्रविधिको भरपुर सदुपयोग गर्न उहाँले किसानलाई आग्रह गर्नुभएको छ । जमिन जोत्न छिटो र सहज हुने भएपछि यहाँका किसानहरु प्रविधि तर्फ आकर्षित हुन थालेका छन् ।